मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : दुई दिने राजकीय भ्रमणमा रहेका कतारी राजा अमिर शेख तमिम विन हमाद अल थानीले जलवायु परिवर्तनको असर मानवमाथि पर्न थालेकोमा चिन्ता प्रकट गरेका छन् ।
मंगलबार राष्ट्रपति भवन सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको भेटमा उनले जलवायु परिवर्तनको मुद्दामा नेपाल र कतारसँगै अगाडि बढ्नुपर्ने बताए । मंगलबार नेपाल आएका कतारी राजा थानीले राष्ट्रपति पौडेलसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका क्रममा राष्ट्रपति पौडेल र कतारका राजाबीच नेपाल–कतार सम्बन्धमा खुलेर छलफल भएको छ । कतारी राजाले आफ्नो भ्रमण नेपाल–कतार सम्बन्धलाई थप मजबुत बनाउने उदेश्यले भएको पनि बताएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
नेपालमा लगानीको विषयमा पनि राष्ट्रपति पौडेल र कतारीराजा थानीबीच छलफल भएको छ । राष्ट्रपति पौडेलले नेपालमा लगानीको प्रचुर सम्भावना रहेकोले लगानी गर्नको लागि आग्रह गरे ।
कतारमा रहेका नेपाली कामदारका विषयमा पनि कुराकानी भएको छ । सन २०२२ मा कतारमा फिफा विश्वकप सफलताका साथ सम्पन्न हुनुमा पनि नेपाली कामदारको ठूलो योगदान रहेको कतारी राजा थानीले स्मरण गरे ।
कतारी राजा थानीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । द्विपक्षीय बैठक होटल सोल्टीमा हुनेछ । बैठकपछि केही सम्झौता तथा समझदारीपत्रमा दुई देशका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।
विपिन जोशीको रिहाइमा पहल गरिदिन आग्रह
कतारी राजा थानीसँगको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलको सचिवालयका अनुसार थानीसँग राष्ट्रपति पौडेलले विपिन जोशी रिहाइको विषय उठाएका हुन् ।
हमासले २०८० सालको कात्तिकमा इजरायलमाथि आक्रमण गर्दा २५३ जनालाई बन्धक बनाएको थियो । त्यसमा नेपालका जोशी पनि थिए । कतारको प्रयासमा हमासले थुप्रै देशका बन्धकलाई रिहा गरे पनि नेपालका जोशी हालसम्म रिहा भएका छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies