सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान वडा नं.३ र ४ धारापानीका विभिन्न स्थानमा गत वैशाख ८ गते भीषण आगलागी भयो । रातामाटा क्षेत्रको जंगलबाट शुरु भएको आगो बस्तिमा पस्दा गाउँ नै उजाड बनाइदियो । १५ वटा घर, १५ वटा गोठ, २ वटा भैसी, ९ वटा बाख्रा र सयौं रोपनी वन क्षेत्र जलेर खरानी हुँदा लाखौंको क्षति भएको छ ।
आगलागीबाट घरबास गुमाएकाहरुको घरसँगै गाँस, बास र कपास पनि गुम्यो । जसका कारण आगलागी पीडितहरु अरुको शरणमा पर्नुपर्यो ।
यसरी पीडामा रहेका धारापानीबासीका दुःखेका मनका घाउलाई टाल्ने मल्हम बोकेर जाने सहयोगीदाताहरु पनि बढेर गएका छन् । वैशाख ९ गतेबाटै शुरु भएको राहत दिनेक्रम अझै जारी छ । वैशाख ९ गते जिल्ला प्रशासनमार्फत अर्घाखाँची उद्योग वाणिज्य संघको खाद्यान्न र नेपाल रेडक्रस अर्घाखाँचीको एक–एक थान ओढ्ने, ओछ्याउने कपडा र भाडावर्तन राहत स्वरूप वितरण गरिएको छ । यस्तै वैशाख १० गते भूमिकास्थान नगरपालिकाले पनि खाद्यान्न प्याकेज वितरण गरेको छ ।
लायन्स क्लब अफ अर्घाखाँची, भूमिकास्थान–रुपन्देही सम्पर्क समाज, ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाज,धारापानी–रुपन्देही सम्पर्क मञ्च, भूमिकास्थान–८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र सन्धिखर्क–८का भरतमणी पौडेलले आगलागी पीडितलाई विभिन्न राहत सामग्री वितरण गरेका छन् ।
सहयोगी दाताहरुले आगलागी पीडितलाई लत्ताकपडा, भाडावर्तन, आवास निर्माणको लागि रकम र जिन्सी समेत दिएका छन् । भूमिकास्थान नगर प्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, भूमिकास्थान–३ का वडा अध्यक्ष कृष्णप्रसाद बन्जाडे, भूमिकास्थान–८, का वडाध्यक्ष राजकुमार श्रेष्ठ, लायन्स क्लबका जोन चेयर प्रशन हरि प्रसाद भुसाल, डिष्ट्रिक चेयर प्रसन कृष्ण प्रसाद भुसाल, क्लबका अध्यक्ष प्रकाश परियार, धारापानी–रुपन्देही सम्पर्क मञ्चका महासचिव सन्तोष बन्जाडे, ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजका सह सचिव टेकराज भुसाल, भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष रामप्रसाद भुसाल, सन्धिखर्क–८ का समाजसेवी भरतमणी पौडेल लगायतको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो ।
आगलागीबाट घर÷गोठ दुवै जलेर नष्ट भएका भूमिकास्थान– ३ र ४ का १५ घरपरिवारलाई धारापानी–रुपन्देही सम्पर्क मञ्चले एक–एक सेट विस्तारा, प्रेसर कुकर, चटाइसहितको सेट, लायन्स क्लब अफ अर्घाखाँचीले एक–एक सेट विस्तारा, खाना खाने भाडावर्तन, पि–फमसहितको सेट, भूमिकास्थान–८, का वडाध्यक्ष राजकुमार श्रेष्ठले ३० थान पातलो ब्लांकेट वितरण गरेका थिए ।
यस्तै भूमिकास्थान–रुपन्देही सम्पर्क मञ्च र ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले आवास निर्माणको लागि वडास्तरिय विपत व्यवस्थापन समितिलाई १०/१० हजार रुपैयाँको चेक हस्तान्तरण गर्दा सन्धिखर्क–८, किमडाडाका भरतमणी पौडेलले दुई बण्डल जस्ता पाता दिने घोषणा गरेका छन् ।
यसरी गाँस, बास र कपासको सहयोग बोकेर धारापानी जाने दाताहरुलाई भूमिकास्थान नगरपालिका र पीडित परिवारले धन्यवाद ज्ञापन गरेका छन् । आगलागी पीडितहरुको आवास बनाइदिने चौतर्फी वचन र सहयोग संकलन अभियान चलाइए पनि घर बनाउने कामको थालनी भने कुनै पक्षबाट पनि हुन सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies