काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाहरुको सीपलाई पनि सदुपयोग हुने खालको नीति एवं योजना बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले भने, ‘रेमिट्यान्सको पैसा ९० प्रतिशत सम्म उपभोगमा नै खर्च भइरहेको छ, विदेशबाट भित्रिएको रकमलाई उत्पादनमुलक क्षेत्रमा सदुपयोग गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाऊ ।’ वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीपलाई स्वदेशमा सदुपयोग गर्न अध्यागमनमा सीपको लगत संकलन गर्नुपर्ने व्यवस्था हुनुपर्नेमा मल्लले जोड दिए ।
अर्को प्रसंगमा निवर्तमान अध्यक्ष मल्लले १६औं पञ्चवर्षीय योजना, सरकारको बजेट एवं मौद्रिक नीतिबीच पनि प्रभावकारी समन्वय हुनुपर्ने बताए । पञ्चवर्षीय योजना महत्वकांक्षी हुने तर कार्यान्वयन पाटो निकै फितलो हुँदा अपेक्षित लाभ हासिल हुन नसकेको उनको भनाइ छ । अध्यक्ष मल्लले आगामी बजेट वस्तुपरक र खर्च गर्न सक्ने क्षमताको ल्याउन समेत सरकारलाई सुझाव दिए । श्रोत सुनिश्चित गरेर मात्रै बजेट बनाउनुपर्ने उनले बताए । बजेटलाई वितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउन आवश्यक रहेको मल्लको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies