गुल्मी : मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिए ।
परियारले मादक पदार्थ सेवन गरी आइतबार राति आफु बस्ने घरमा आगो लगाएका थिए । आगो लागेपछि घरभित्रका अन्नपात, लत्ताकपडा जलेर पूर्णरुपमा नष्ट भएको छ । अन्य समयमा पनि परियारले मापसे गरी गाउँमा होहल्ला गर्ने र छिमेकीको घरमा आगो लगाइदिन्छु भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा आगो लगाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक पोखरेल नेतृत्वको टोलीले परियारलाई पक्राउ गरेको थियो । उनलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।
घरमा आगो लागेपछि अलपत्र परेकी रेखबहादुरकी श्रीमती सीता परियारलाई आज जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि राहत रकम उपलब्ध गराइएको छ । त्यसैगरी, नेपाल रेडक्रसले पनि पीडित परिवारलाई भाँडाकुँडा, त्रिपाल र लत्ताकपडा उपलब्ध गराएको छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटमा तस्करहरुले विभिन्न नाका हुँदै अवैधरुपमा भारतबाट भन्सार छलेर नेपाल भित्र्याएको २४ लाख रुपैयाँभन्दा बढीका विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।
वेशाख ४ गतेदेखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएको २४ लाख ५२ हजार १ सय ४३ रुपैयाँबराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन् ।
बरामद लत्ताकपडा, कस्मेटिक, किराना तथा अन्य सामानहरु आवश्यक कारबाहीका लागि आइतबार गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आबिद हुसेन/मध्यान्ह
वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूमा सिल नै गर्ने तयारी गरेपछि उद्योगीहरूले १५ दिनको समय माग्दै नदीमा प्रदूषण नगर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले नदी प्रदूषित गर्ने उद्योगमै पुगेर सिल गर्ने तयारी गरेको सुइको पाएपछि आइतबार साँझ ९ वटा उद्योगका सञ्चालकहरू महानगरपालिका कार्यालयमै पुगेर १५ दिनको समय मागेका हुन् । उनीहरूले १५ दिनभित्र उद्योगमा सबै व्यवस्थापन गरिसक्ने र त्यसपछि उद्योगका फोहोर र रसायनयुक्त पानी नदीमा बिसर्जन नगर्ने लिखित प्रतिबद्धता पनि जनाएका हुन् ।
वीरगञ्जको लाइफलाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशक बढी समयदेखि उद्योगहरुले प्रदूषित गर्दै आइरहेका छन् । नदीलाई प्रदूषणमुक्त बनाउन महानगरले यसअघि पटक-पटक अनुगमन गर्नुका साथै एक वर्ष पहिले पाँच वटा उद्योगलाई ३-३ लाखको दरले जरीवानासमेत गरेको थियो । त्यसका बाबजुद पनि उद्योगीहरूले अटेरी गरेपछि वीरगञ्ज महानगरका मेयर सिंहले सोमबार नदी प्रदूषित गर्ने उद्योगहरुमा सिल नै गर्ने तयारी गरेका थिए ।
यो खबर पाए लगत्तै उद्योगीहरू आइतबार साँझ मेयर सिंहको कार्यकक्षमा पुगेर हार गुहार गरेपछि महानगरले अन्तिम पटकका लागि १५ दिनको समय दिएको छ । छलफलमा मेयर सिंहले अब आफूले कसैको पनि कुरा नसुन्ने र नदी प्रदूषित गर्ने उद्योगविरुद्ध कडा कदम चाल्ने तयारी गरिसकेको चेतावनी दिए । त्यसपछि मेयर सिंहसँग हारगुहार गर्दै उद्योगीहरूले अन्तिम पटकका लागि १५ दिनको समय माग्दै १५ दिनभित्रमा आफूहरूले उद्योग परिसरमा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिसक्ने र त्यसपछि उद्योगको फोहोर पदार्थ र रसायनयुक्त पानी नदीमा बिसर्जन नगर्ने लिखित प्रतिबद्धता जनाए ।
श्रीसिद्धी टेक्सटाइल्स प्रा.लि. र न्यु पशुपति इण्डस्ट्रिजका सञ्चालक आशोक मित्तल, अर्निका प्रोसेसिङ उद्योग प्रा.लि.का सञ्चालक गौरव गाडिया, नारायणी लेदर प्रा.लि.का सञ्चालक सुशान्त चाचान, ग्लोबल लेदर उद्योग प्रा.लि.का सञ्चालक उत्तम अग्रवाल, दुर्गा पुल्प एण्ड पेपर प्रा.लि.का सञ्चालक प्रतिक अग्रवाल, मरियम लेदर उद्योग प्रा.लि.का प्रतिनिधि बालमुकुन्द चौधरीलगायत ९ जना उद्योगीले नदीमा उद्योगको ढल नमिसाउने र फोहोर नफाल्ने लिखित प्रतिबद्धता जनाएका हुन् ।
श्रीसिद्धी टेक्सटाइल्स र न्यु पशुपति इण्डस्ट्रिजका सञ्चालक मित्तलले महानगरसँग आफूहरुले १५ दिनको समय मागेको र त्यसपछि यदि नदीमा उद्योगको ढल वा फोहोर मिसाएको पाइएमा आफूहरु जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए । उनले भने, ‘आर्थिक मन्दीका कारण हामीले उद्योगमा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्न नसकेको हो । तर अब जसरी भएपनि १५ दिनभित्रमा हामीले त्यो काम गर्छौं । यदि गर्न सकेनौं भने कारबाही भोग्न तयार छौं ।’
छलफलमा मेयर सिंहले उद्योगीहरुलाई यो अन्तिम पटकको चेतावनीसहित १५ दिनको समय दिएको बताए । उद्योगीहरुसँग उनले भने, ‘अहिलेसम्म उद्योगहीहरुको धेरै पटक कुरा सुनिसकें । तर अब सुन्नेवाला छैन । १६औं दिनमा म आफैं नदी र उद्योगहरुको अनुगमनमा जान्छु । यदि त्यसबेला पनि नदी प्रदूषित नै भएको भेटियो भने महानगरले अब कसैलाई बक्सिनेवाला छैन । हदैसम्मको कारबाही हुन्छ । अब त्यो कारबाही कस्तो खालको हुन्छ त्यो कुरा त त्यहि बेला नै थाहा हुन्छ ।’
यसअघि गत असोज २९ मा वीरगञ्ज महानगरमा पर्सा र बारा दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख र उद्योगीहरु सहभागी बैठकले गत छठ पर्व अगाडि नै (कात्तिक महिनामा) सिर्सिया नदीको प्रदूषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गर्ने लिखित निर्णय नै गरेको थियो । उक्त बैठकमा पनि सहभागी उद्योगीहरुले सिर्सिया नदीमा भइरहेको प्रदूषण रोक्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसअघि १४ चैत २०७९ मा वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण गरेका वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई ३-३ लाख रुपैयाँ जरिवानासमेत गरेको थियो । यस्तै १६ फागुन २०७९ मा पनि महानगगरले उद्योगहरुबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर १-१ हजार रुपैया जरिवाना तिराएको थियो ।
बाराको रामवनबाट शुरु भइ पर्साको वीरगञ्ज महानगर हुँदै सीमावर्ती भारतको रक्सौलसम्म बगेको सिर्सिया नदी विगत तीन दशकदेखि प्रदूषण र अतिक्रमणको चपेटामा पर्दै आएको छ । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन, कागजलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदोलगायतका विकारहरू सिधै नदीमा मिसाइँदा नदी प्रदूषित र दुर्गन्धित बनेको हो ।
नदीको प्रदूषण र दुर्गन्धले नदी आसपासमा रहेका बारा र पर्साका करिब दुई दर्जन गाउँका बासिन्दा प्रभावित हुँदै आएका छन् । सिर्सिया नदीको प्रदूषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा रोगको संक्रमणसमेत देखिने गरेको नदी छेउका स्थानीय बताउँछन् ।
२०६७ सालमा जिल्ला प्रशासन कार्यालय पर्साले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदूषणको कारक उद्योगहरू नै रहेको उल्लेख थियो ।
प्रतिवेदनमा नदी प्रदूषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नाम नै किटान गरिएको थियो । रितेश त्रिपाठी संयोजकत्वको समितिको प्रतिवेदनमा नदी प्रदूषित बनाउनेमा औद्योगिक करिडोरका ४६ वटा उद्योगहरुको नाम किटान गरिएको थियो । उक्त समितिले २०६७ साल मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई उक्त प्रतिवेदन बुझाएको थियो ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं ३ भोट्नीगैरेमा लागेको आगोले दारकाट्टेकी बुद्धि कामीको मृत्यु भएको छ । आइतबार ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया कामीको मृत्यु भएको प्रहरीको भनाइ छ । घरमा आगो लागेपछि आफ्ना गहना र सामान निकाल्ने क्रममा उनको निधन भएको स्थानीयको भनाइ छ ।
आगलागीबाट कामीको घरमा रहेका सबै लत्ताकपडा, सुनका गहना तथा अन्य सामान जलेर नष्ट भएका छ । वनमा आगो लगाउने मान्छे पनि पत्ता लागेको छैन । तर कामीको सुदृढी कार्य गरेर शंका लागेका व्यक्तिविरुद्ध उजुरी दिने छोरा गोपीराम बिकको भनाइ छ ।
आगलागीमा वडा नम्बर ३ को बाईढलेमा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय धनबहादुरको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । तीन तले घर आगलागीमा नष्ट भएपछि घरसहित १५ लाख रुपैयाँको क्षति भएको छ ।
साथै स्थानीय युवराज बिकको घर पनि पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यस्तै वडा नम्बर ३ कै समपोखरी गाउँका नर बहादुर केसी, मोहन केसी, अमृत केसी र अन्नते सार्कीको घर पनि जलेर नष्ट भएको छ । उनीहरुको २० लाख बराबरको क्षति भएको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलबीर केसीको भनाइ छ ।
आगलागी पीडितहरु अहिले आकाशमुनि बस्न बाध्य भएका छन् । बास बस्ने घरसँगै लत्ताकपडा अन्नबाली तथा भाँडाकुडा जलेर नष्ट भएपछि उनीहरुको बिचल्ली भएको छ । सोमबार बाँफिकोट गाउँपालिकाका पूर्वअध्यक्ष धर्मबहादुर केसी, नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँकमिटीका अध्यक्ष चन्द्रबहादुर केसी, वडा नं ३ का अध्यक्ष तिलवीर केसीलगायतको टोली आगलागी पीडितको समस्या बुझ्न पुगेका थिए । उनीहरुले पीडितहरुलाई सक्दो सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपास्थापना भएको ७५औं स्थापना दिवस (हिरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन् । आइतबार सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेको पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको थियो ।
मुलुकको लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पार्टीका पूर्वउपाध्यक्ष एवम् पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएको हो ।
महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत प्रमुख दलका नेताहरुको उपस्थिति रहेको छ ।
काठमाडौं : पूर्वमन्त्री एवम् परराष्ट्र मामिलाका जानकारहरुले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले अधिकतम लाभ लिने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।
उनीहरुले सानो भूगोल र थोरै जनसङ्ख्या भए पनि दूरदर्शी नेतृत्व र उपलब्ध साधनस्रोतको अधिकतम सदुपयोग गर्नसके छोटो अवधिमै कसरी समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण नेपालले कतारबाट सिक्न सक्ने धारणा राखे ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवम् पूर्वमन्त्री सुरेन्द्रकुमार कार्कीले इन्धनको उत्खनन शुरु भइसकेपछि कतारले आफ्नो भौगोलिक आकारभन्दा धेरै माथि अन्तर्राष्ट्रिय शान्ति र सहयोगमा विशिष्ट भूमिका खेलिरहेको बताए । उनले भने, “क्षेत्रीय शान्ति कायम, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ र ठूला राजनीतिक तनावलाई समाधानका लागि कतारले समन्वयकारी र निर्णायक भूमिका खेल्नेगरी अघि बढिरहेको छ ।”
पूर्वमन्त्री कार्कीले नेपाल पनि द्वन्द्वपछि शान्ति प्रक्रियामा अघि बढिरहेको सन्दर्भमा मुलुकको शान्ति सुव्यवस्थालाई प्रभावकारी बनाउन कतारको अनुभवबाट महत्त्वपूर्ण शिक्षा लिन सकिने भएकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन मद्दत गर्न सक्ने विचार प्रकट गरे । उनले भने, “नेपालको प्रमुख श्रम गन्तव्यका रूपमा कतार रहेको छ । विप्रेषणको ठूलो हिस्सा कतारबाट आइरहेको छ । कतारको विकासमा नेपालीले पुर्याएको योगदानको सम्मान हुनेगरी त्यहाँ श्रम गरिरहेका नेपालीलाई मर्यादित कामको सुनिश्चितता तथा श्रमिकले पाइरहेका झण्झन्टलाई अन्त्य गर्ने विषयलाई नेपालले प्राथमिकताका साथ उपलब्ध गराउनुर्छ ।”
पूर्वमन्त्री कार्कीले भौगोलिकरूपमा सानो भए पनि अन्तर्राष्ट्रिय कूटनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकिने उल्लेख गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय तनावलाई कम गर्न कतारले मध्यस्थताको भूमिका निर्वाह गरिरहेको घटना सुनाए । कतारको लगानीमा नेपालको हिमालय क्षेत्रको पिउने पानी प्रशोधन र प्राङ्गारिक कृषिजन्य उत्पादनमा लगानी गरी निर्यात गर्नसके नेपालले लाभ लिनसक्ने उनको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवम् परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले अत्यन्त प्रतिकूल मौसमी वातावरण र सीमित जनशक्तिका बीचमा पनि मुलुकलाई समृद्धिमा लैजान सकिन्छ भन्ने बलियो उदाहरण कतारबाट सिक्न सकिने बताए । उनले भने, “कतार बहुआयामिक ढङ्गबाट अघि बढिरहेको छ, नेतृत्वदायी भूमिका खोजिरहेको र देखाइरहेको छ । मध्यपूर्वका मुलुकमा देखिएका विवाद समाधान गर्ने महत्त्वपूर्ण स्थान कतार बनेको छ ।”
हमास र इजरायललगायत मध्यपूर्वी मुलुकमा देखिएका विवाद समाधानमा कतारले आफूलाई ‘विश्व च्याम्पियन’का रूपमा अघि बढाउन खोजिरहेको दृष्टान्त दिँदै डा भट्टराईले हवाई यातायातको माध्यमबाट विश्वमा आफ्नो सम्पर्क सञ्जाल विस्तार गर्ने सन्दर्भमा अन्तर्राष्ट्रिय ट्रान्जिट हवका रूपमा विकास भइरहेको बताए ।
कतारका अमिरको भ्रमण कूटनीतिक हिसाबले नेपाल सकारात्मक बाटोतर्फ अघि बढिरहेको संकेत र उदाहरणका रूपमा रहेको उनको भनाइ छ । “कतार मध्यपूर्वमा आर्थिकरुपले सम्पन्न हुँदै गएको मुलुक हो । करिब चार लाख नेपाली श्रमिकले कतारमा काम गर्दै आइरहेका छन् । कतारको विकास र समृद्धिमा नेपाली श्रमिकको रगत र पसिना बगेको छ । यस्तो बेलामा कतारका अमिरको नेपाल भ्रमण हुनु अत्यन्त महत्त्वपूर्ण विषय र अवसरको कुरा हो”, डा भट्टराईले भने ।
कतारको सम्पन्नताबाट नेपालले पनि आर्थिक विकास र सम्पन्नतासँग जोडेर अघि बढ्नका लागि फाइदा लिन सक्ने भन्दै उहाँले श्रम शक्ति विदेश पठाएर नभई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतातर्फ पनि ध्यान दिइनुपर्ने बताए ।
डा भट्टराईले भने, “कतारलगायत मध्यपूर्वी मुलुकबाट नेपालमा लगानीको उच्च सम्भावना छ । कतारमा नेपालबाट निर्यात बढाउन सकिन्छ । नेपालले ठूलो मात्रामा इन्धन आयात गरिरहेको छ । यस विषयमा पनि हामीले केही सहुलियतपूर्ण सहयोग लिने अवस्था रहन्छ । यी विषयमा नेपालले आफ्नो छलफल अघि बढाउनुपर्छ ।”
उनले कतारमा श्रम गर्ने नेपालीको सुरक्षा र रोजगारीमा देखिएका समस्या समाधान गर्नु अमिरको भ्रमणका अवसरमा सरकारको स्वभाविक ‘एजेण्डा’ भित्र पर्ने बताए । नेता भट्टराईले भने, “कतारले केही वर्षयता आफ्नो प्राकृतिक साधनस्रोतलाई उपयोग गरेर जुन किसिमकको सम्पन्नता र समृद्धि हासिल गरेको छ । राजनीतिक स्थायित्वभित्र राम्रो दृष्टिकोण भएको नेतृत्वको माध्यमबाट आर्थिक समृद्धि र विकासमा अघि बढेको छ । आफ्नो प्रकृतिले दिएको साधनस्रोत प्रयोग गरेर अगाडि जान सकिन्छ भन्ने पाठ सिकाएको छ ।”
नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा नारायण खड्काले पछिल्लो समय कतार कूटनीतिक र आर्थिक रुपमा अन्त्यन्त सफल हुँदै गइरहेको धारणा राखे । “इजरायल र हमासबीच विवाद समाधानमा अमेरिका र बेलायतलगायतका मुलुकले पनि कुनै न कुनै रुपमा कतारको मध्यस्थताको भूमिका खोजिरहेका छन्”, उनले भने ।
अमिरको भ्रमणका क्रममा कतारमा रहेका नेपाली श्रमिकको सेवासुविधाका बारेमा छलफल र परामर्श गर्नुपर्नेमा जोड दिँदै नेता खड्काले श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्न सुझाव दिए । चाँडै नै नेपालमा हुन लागेको लगानी सम्मेलको पूर्वसन्ध्यामा भएको अमिरको भ्रमणले वैदेशिक लगानीका लागि विश्वसमुदायमा विश्वासको वातावरण सिर्जना गर्ने राम्रो अवसर भएको बताए ।
उनले कतारसँगको सहकार्यमा नेपाली श्रमिकलाई प्रशिक्षित गर्ने प्रशिक्षण केन्द्र स्थापना गर्न सके दुई देशबीचको जनस्तरमा समेत सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे । उनले नेपाललाई महत्व दिएर कतारका अमिरबाट हुने भ्रमणका अवसरमा खुला हृदयले स्वागत गर्दै आथित्यता प्रदान गर्नुपर्ने सुझाव दिए ।
काठमाडौं : सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।
विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : चैते दशैंको द्वादशीको दिन भूमिकास्थान नगरपालिका वडा नम्बर १०, धनचौरको पर्यटकीय स्थल सेङलेङमा भव्य सराय नाच तथ दशैं मेला सम्पन्न भएको छ । असत्यमाथि सत्य र विजयको खुसीयाली स्वरुप हर्षोल्लासका साथ नाचिने सराय नाचले चतैदशैंको महत्वलाई थप बलियो बनाएको सेङलेङमा अवस्थित सत्यदेवी-बराह मन्दिरका पुजारी खुविराम खनालको भनाइ छ ।
यस वर्षको सरांय नाच तथा चैतेदशैंको मेला अवलोकन गर्न शितगंगाको जुकेना, ठाडा, भूमिकास्थानका सबै वडा र सन्धिखर्कसहित अर्घाखाँचीका विभिन्न क्षेत्रबाट दर्शक एवम् भक्तजनहरु सेङलेङमा पुगेको स्थानीय सत्यदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद बन्जाडेले जानकारी दिए । विगतका वर्षमा भन्दा यस वर्ष दर्शनार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको प्रधानाध्यापक बन्जाडेले बताए ।
चिसो मौसममा जुलेपी, मोःमो, चाउमिनसहित विभिन्न खानाका परिकार बनाएर बेच्न बसेकाहरुको ब्यापार पनि राम्रो भएको मन्दिर सञ्चालक समितिका सदस्य हिमनाथ खनालले बताए । खानाका साथै खोरखोरे, गिलासफोरजस्ता खेलका स्टलहरुले समेत मेलाको आकर्षण बढाएको उनले बताए ।
मेला हेर्न मात्रै नभएर गर्मी छल्न र सेङलेङको चिसो एवम् स्वच्छ र रमणीय बातावरणमा रमाउन पनि नागरिकहरु त्यहाँ पुग्ने गरेको स्थानीय शुभ समालले बताए । अर्घाखाँचीमा पर्यटकीय सम्भावना भएका धेरै क्षेत्र भएर पनि ओझेलमा परेको, तर अहिले जिल्लामा पत्रकार महासंघ अर्घाखाँचीले पर्यटन विकासको
उद्देश्य राखेर सञ्चालन गरेको पर्यटन प्रवर्द्धन अभियानपश्चात सेङलेङ मेला अवलोकन गर्नेको संख्यामा वृद्धि भएको समालको भनाइ छ ।
भूमिकास्थान नगरपालिकाले पर्यटकीय हबको रुपमा चित्रित गरेको सेङलेङमा सत्यदेवी र बराह मन्दिरका साथसाथै माता पाथिभराको मन्दिरसमेत स्थापना
गरी नियमित पूजाआजा गर्न थालिएको छ । होमस्टेमा बास बसेर अर्गानिक खाना खान पाइने, पाथिभरा माता र सत्यदेवीको दर्शन गरि सेङलेङ दह, मसिनाको लेक र आसपासका क्षेत्रबाट सुन्दर हिम श्रृंखला अवलोकन गर्न सकिने भएपछि अहिले सेङलेङमा आन्तरिक मात्र नभएर बाह्य पर्यटकहरु समेत बढ्न थालेका छन् ।
चैतेदशैं पर्वसँग जोडिएको सराय नाचको आफ्नै मौलिकता र धार्मिक एवम् सांस्कृतिक महत्व पनि रहेको सत्यदेवी-बराह मन्दिर सञ्चालक समिति सदस्य खनालले बताए । सराय नाच इतिहास भएको हुँदा यसको संरक्षण र प्रवर्द्धनमा युवापुस्ताले चासो दिनुपर्ने भूमिकास्थान–१० का अगुवाहरुको जोड छ ।
पुजारी खुविरामका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्त प्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू रहेको किंवदन्ती रहँदै आएको छ ।
मनाङ : हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औं स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ ।
वैशाखदेखि चैत मसान्तसम्ममा सो संख्यामा विदेशी पर्यटक भित्रिएका हुन् । तीमध्ये फ्रान्सका नागरिक बढी आगमन भएको तथ्यांकमा उल्लेख छ । मनाङ फ्रान्सका नागरिकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार फ्रान्सका एक वर्षमा दुई हजार चार सय ८२ मनाङ भ्रमणमा आएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै इजरायलका एक हजार आठ सय २१ र जर्मनीका एक हजार सात सय ५४ नागरिक मनाङ भ्रमणमा आएको तथ्यांक रहेको उनले बताए । विदेशीको रोजाइमा मनाङ प्रमुख रहने गरेको पाइएको प्रमुख भुजेलले बताए ।
उनले भने, “अन्य देशबाट पर्यटक आउने भए पनि यी देशका नागरिक बढी आउने गरेका छन्, संख्याको आधारमा यी धेरै हुन्, अमेरिका, चाइना, रसिया, भारतका पर्यटक पनि आउने क्रम बढ्दै गएको तथ्यांक हामीमा दर्ता भएका छन् ।” मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।
नयाँ वर्ष २०८१ को पहिलो दिनमा मात्रै एक सय १५ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले जानकारी दिए । उनका अनुसार नयाँ वर्षका दिनमा आन्तरिक पर्यटकको समेत उल्लेख्य आगमन भएको थियो । सडक सञ्जालले मनाङ आउने आन्तरिक पर्यटकलाई समेत सहज भएको उनको भनाइ छ ।
आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रकृति पर्यटनविद् भुपेन्द्र गुरुङले जानकारी दिए । उनले भने, “तीन/चार दिनको बिदा लगातार परेको अवस्थामा मनाङमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ, भ्रमणमा निस्कने प्रविधि नेपालीमा पनि बढ्दै गएको छ ।” आन्तरिक पर्यटकको भने अभिलेख राखिदैन तर, पर्यटकको आगमन भने उल्लेख्य हुने गरेका उनको भनाइ छ ।
यहाँ भित्रिने पर्यटक अधिकांश थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए । केही दिन बिदा भएको बेलामा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका उनले बताए ।
दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ । कोभिडको संक्रमण र विसं २०७८ को बाढी पहिरोपछि यहाँ पर्यटक आवागमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको शुरुवात हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौंदेखि बेँसीसहरसम्म सवारी साधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सहज भएपछि सवारी साधनमा नै चामे, खाङ्सारसम्म सवारी साधनमा नै पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ ।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृंखला शुरु गरेको छ । प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा शुक्रबार र शनिबार चितवनको भरतपुरमा विभिन्न दुई कार्यक्रम सम्पन्न भएका छन् ।
कुमाल सेवा समाज चितवनको स्थानीय संयोजनमा आयोजित ‘कुमाल जातिको सांस्कृतिक सम्वाद्’ तथा थारू कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवनको स्थानीय संयोजनमा आयोजित ‘थारू जातिको सांस्कृतिक संवाद’को उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति भूपाल राईले शृंखलाको शुभारम्भ गरेका हुन् । विभिन्न जाति र परम्परामा भएको रैथाने ज्ञानलाई प्रवृद्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम शुरु गरिएको उनले बताए ।
लिखित इतिहास नभएका सीमान्तकृत जातिभित्रको ज्ञानलाई मौखिक माध्यमबाट अभिव्यक्त हुने गरी प्रज्ञा प्रतिष्ठानले सहजीकरण गर्ने उनको भनाइ थियो । प्रज्ञा प्रतिष्ठानका गतिविधिलाई विभिन्न भाषाभाषी, जाति र संस्कृतिसम्म पुर्याउने योजनाअन्तर्गत चितवनबाट कार्यक्रम शुरु गरिएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले बताए ।
कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल कुमालको अध्यक्षतामा भएको कार्यक्रममा तिलकबहादुर कुमालले उक्त जातिको भाषा तथा संस्कृतिका विषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गरिएको थियो । साथै सो अवसरमा कुमाल जातिको भाषा र संस्कृतिको सम्वर्द्धनका लागि आगामी दिनमा गर्न सकिने विषयमा समूह छलफलसमेत गरिएको थियो ।
प्राज्ञ सभा सदस्य डा बालाकृष्ण अधिकारीले सहजीकरण गरेको उक्त समूह छलफलमा बहस गर्दै कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल लामा, भरतपुर महानगरपालिका–२८ का वडा सदस्य शेरबहादुर कुमाल तथा साहित्यकार भूपिन खड्काले जनप्रतिनिधि, जातीय समुदायका अगुवा र बौद्धिक वर्गले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरे ।
त्यस्तै थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनका अध्यक्ष ललितकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अनुसन्धाता डी आर पोखरेलले प्रस्तुत गरेको ‘चितवनका थारू जातिको सांस्कृतिक सम्पदा : संरक्षण र परिष्कारको आवश्यकता’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो ।
आयोजित समूह छलफलमा राजनीतिशास्त्री डा सञ्जय चौधरी, अनुसन्धाता सत्यनारायण चौधरी, अधिवक्ता सञ्जय चौधरी र कवि तथा समालोचक रमेश प्रभातले बहस गरेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण पत्रकार शान्तकुमार चौधरीले गरेका थिए । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य रामहरि श्रेष्ठ, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीलगायत थारू समुदायका अगुवा र स्रष्टाहरूले पनि मन्तव्य व्यक्त गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies