कन्चनपुरः बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन् । कृषि विकास बैंकबाट रु. १० लाख ऋण निकालेर उनले उखुखेती गरेका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले रानाको डेढ बिघा जग्गामा गरिएको उखुखेतीमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी गरेको छ । ‘दुई सय क्विन्टल उखु हात्तीले गए रातिमात्रै खाएर नोक्सानी पुर्याएको छ’, उनले भने, ‘हात्तीका कारण डेढ लाख घाटा व्यहोर्नुपरेको छ ।’
छिमेकीले फोन गरेर रातिका बेला उखु बारीमा हात्तीको बथान पसेको जानकारी दिएपछि आगोको राँको बालेर तर्साएर मुस्किलले भगाउन सकिएको उनले बताए । घर नजिकै उखुबारी भएकाले तीनवटा छावासहित १० बढीको सङ्ख्यामा रहेको हात्तीको बथान तीन दिनदेखि लगातार आउन थालेकाले ज्यान जोगाउनकै पिरलो रहेको नन्दरानी रानाले बताए ।
‘हात्ती नियन्त्रणका लागि नगरपालिकाले सडक छेउमा जडान गरेका बत्ती एक महिना नपुग्दै बिग्रए, उज्यालो भएपछि हात्ती तर्सेर भाग्छन्, अँध्यारो हुँदा हात्ती उखुबारीमा पसे’, उनले भने, ‘हात्ती उखुबारीमा पसेर नोक्सानी पुर्याएपछि मात्रै वडा कार्यालयले पुनः बत्ती जडान गरेको छ ।’
रानाको जस्तै स्थानीय किसान तप्त ठकुल्लाको तीन कठ्ठामा काट्न बाँकी रहेको हरियो धान र काटेको दुई कठ्ठाको धान पूरै हात्तीको बथानले खाएर नोक्सानी गरेको छ । वडा नं ७ सिमलफाँटाका गङ्गादत्त भट्टको पाँच कठ्ठाको काट्ने तयारी अवस्थामा रहेको धानबाली हात्तीको बथानले पूरै सखाप पारेको छ ।
‘सात कठ्ठा जग्गामात्रै स्वामित्वको हो, पाँच कठ्ठाको धानबाली हात्तीले सखाप पार्यो, जग्गामा लगाएको धानले छ महिना खानका लागि पुग्दथ्यो, अब वर्षभरिकै लागि धान खरिद गर्ने अवस्थामा पुर्यायो’,
भट्ट परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । हात्ती भगाउनका लागि नगरपालिका, वडा कार्यालयमा पटाखा, टर्चको व्यवस्था गरिदिन भने पनि बेवास्ता गरिएको उनले बताए । निकुञ्ज छेउकै बस्ती भएकाले हात्तीलगायतका जङगली जनावरबाट निकै पीडित रहेको उनले उल्लेख गरे । वडा नं ६ का वडाध्यक्ष दानसिंह ऐरले किसानको बालीनाली जङ्गली हात्तीको बथानबाट जोगाउनका लागि संवेदनशील क्षेत्रमा विद्युतीय स्वचालित बत्ती जडान गर्नमा जुटेको बताए ।
‘हात्तीको बथानले क्षति पुर्याएका क्षेत्रमा प्रहरीसहित पुगेर अनुगमन गरी क्षतिपूर्तिका लागि सर्जिमिन मुचुल्का तयार गरेका छौँ, राहत र क्षतिपूर्तिका लागि निकुञ्ज कार्यालय गुहारेका छौँ, ऐलानी जग्गाको हकमा वडा र नगरपालिकाबाट सक्दो राहत उपलब्ध गराउँछौँ’, उनले भने । रासस
गण्डकीः शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिनुभयो । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उहाँ निराश देखिनुहुन्थ्यो ।
“यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै !”, पाण्डेले भन्नुभयो, “मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।” शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुङ्गामा ताल सयर गरेका उहाँले बताउनुभयो ।
बेगनास ताल डुङ्गा व्यवसायी समितिमा तीन सय ३१ डुङ्गा व्यवसायी छन् । “भोकभोकै आएर पनि डुङ्गा व्यवसायी पालोमा बस्छन्, तर पर्यटक कुर्दाकुर्दै दिन बित्छ, पालो आउँदैन”, पाण्डेले सुनाउनुभयो, “अघिपछि यो याममा दैनिक ५० भन्दा बढी डुङ्गा व्यस्त हुन्थे । अहिले त चाररपाँच वटा चल्न पनि धौधौ छ ।”
स्थानीय पर्यटन व्यवसायीले बेगनासमा पर्यटक घट्नुमा सडकको दूरावस्थालाई मुख्य कारक मान्छन् । मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा छ । “सडक बनिरहेकाले बेगनासको यात्रामा पर्यटकलाई सास्ती छ”, डुङ्गाको टिकट कक्षका कर्मचारी राजु कँडेलले भन्नुभयो, “हिलो, धुलो र खाल्डाखुल्डीले हिँडिसाध्य छैन ।” आर्थिक मन्दीका कारणले पनि मानिस घुमघाममा कम निस्केको हुनसक्ने उहाँको भनाइ थियो ।
कँडेलका अनुसार पहिले मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक बेगनास ताल घुमेर स्वदेश फर्कन्थे । अहिले अति न्यून सङ्ख्यामा विदेशी पर्यटक त्यहाँ पुग्छन् । “पहिले दुई जनालाई टिकट बेच्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले काउन्टर रुँघेर बस्नुपरिरहेको छ”, उहाँले भन्नुभयो, “डुङ्गा व्यवसाय मात्र नभएर बेगनासको सिङ्गो पर्यटन क्षेत्र सुस्ताएको छ ।”
तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’समेत सञ्चालनमा ल्याइएको कँडेलले बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल क्षेत्रको पर्यटनले डुङ्गा, मत्स्य, होटल तथा रेष्टुराँलगायत स्थानीय व्यवसायीको जीविका भरथेग हुँदै आएको छ ।
अहिलेकै स्थिति रहिरहे पर्यटनको आयआर्जन गुम्ने स्थानीयवासीमा चिन्ता छ । सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले कोभिड–१९ महामारीपछि बेगनासमा पर्यटकको सङ्ख्या नसोचेको ढङ्गले घटेको बताउनुभयो ।
“दैनिक सयौँ जनाले टिकट लिएर भ्यूटावर चढ्नुहुन्थ्यो । अहिले कुनै दिन त एक जना पनि पर्यटक आउनुहुन्न”, उहाँले भन्नुभयो, “आम्दानी नभएपछि भ्यूटावरको मर्मतसम्भार र रेखदेखमा समस्या भइरहेको छ ।”
शनिबार पनि ‘भ्यूटावर’को अवस्था सुनसान रहेको भुजेलले सुनाउनुभयो । एकैसाथ बेगनास र रुपातालसहित मनोरम दृश्यावलोकन गर्न सकिने भए पनि पर्यटक नआउँदा भ्यूटावर क्षेत्र भएको सुनसान उहाँको भनाइ थियो ।
भ्यूटावर चढ्दा विद्यार्थीलाई रु. २०, अन्यलाई रु. ३० र विदशीलाई रु. ५० को टिकट लाग्ने भुजेलले जानकारी दिनुभयो । टिकटको आम्दानीमध्ये ४० प्रतिशत ताल संरक्षणमा, २० प्रतिशत स्थानीय अरुण ज्योति आधारभूत विद्यालयमा, २० प्रतिशत जैविक स्रोत संरक्षण संस्थामा र बाँकी तलब आदिमा खर्च हुने गरेको उहाँले बताउनुभयो ।
“पर्यटक आउन छाडेपछि तलब खान पनि धौ–धौ परिरहेको छ । अरु संस्था धान्ने त झन् टाढाको कुरा भयो”, भुजेलले भन्नुभयो, “कोभिड–१९ को बन्दाबन्दीपछि पर्यटक आउने क्रम घटेको घटै भयो । मुख्य पर्यटकीय याममा पनि बेगनास क्षेत्र सुनसान छ ।” आन्तरिक पर्यटक पनि आउन छोडेपछि बेगनासको पर्यटनलाई लिएर चिन्ता थपिएको उहाँले उल्लेख गर्नुभयो ।
पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पोखरा सहर छेउमै भएर पनि बेगनास क्षेत्र ओझेलमा परेको बताउनुभयो । “पर्यटन पूर्वाधार र प्रवद्र्धनका दृष्टिले बेगनास अझै पनि पछाडि छ”, उहाँले भन्नुभयो, “त्यसमाथि अहिलेको आर्थिक मन्दी, कमसल सडक तथा पूर्वाधारलगायत कारणले यहाँ पर्यटकीय चहलपहल कम भएको छ ।”
वडाध्यक्ष कँडेलले पोखराको पर्यटन भनेपछि फेवाताललाई केन्द्रित गर्ने मानसिकताबाट सबै उम्कनुपर्ने धारणा राख्नुभयो । “सरकार र पर्यटनसम्बन्धी संस्थाको नजर पोखराका अरु तालमा पनि जानुप¥यो । पूर्वाधारमा लगानी बढाउनुप¥यो”, उहाँले भन्नुभयो, “प्रदेश सरकार र पोखरा महानगरले यसलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउनुपर्छ ।”
प्रकृतिको वैभव, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनासलाई चिनारी दिएको वडाध्यक्ष कँडेलले जानकारी दिनुभयो । “प्रकृतिले सिँगारेको यो ताल यहाँको मुख्य आकर्षण हो”, उहाँले भन्नुभयो, “धार्मिक महिमा बोकेको ताल बराह यहीँ पर्छ । ऐतिहासिक कोत मन्दिरले पनि बेगनासको महत्व बढाएका छन् ।”
सात तालको बाटिका भनेरसमेत चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्ने वडाध्यक्ष कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेगनास नजिकै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् । पोखराको पृथ्वीचोकदेखि १४ किमी र तालचोकदेखि साढे तीन किमी यात्रापछि बेगनास पुग्न सकिन्छ । सहरको कोलाहल र व्यवस्ता छलेर छिनमै पुग्न सकिने प्रकृतिमय गन्तव्य हो बेगनास क्षेत्र ।
फेवातालको बाराही र बेगनासमा रहेको बराहबीच साइनो रहेको बेगनास ताल बराह संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष कँडेलले बताउनुभयो । “बराह क्षेत्रको पुरातात्विक महत्व छ । यो सदियौँ पुरानो धार्मिकस्थल हो”, उहाँले भन्नुभयो, “यसप्रति अथाह विश्वास र जनआस्था गाँसिएको छ । यहाँ पुजा गरे कुनै दुर्घटना नहुने विश्वास गरिन्छ ।”
बेगनास तालको उत्तरपट्टि रहेको बराह मन्दिरमा पूजापाठ गर्नाले स्थानीय जलारी र डुङ्गा व्यवसायीलाई लाभ पुग्ने, कुनै दुर्घटना नहुने विश्वास रहेको कँडेलको भनाइ थियो । “चेतै र बडादसैँमा पञ्जबलीसहित बराह मन्दिरमा विशेष पूजाआजा हुन्छ”, उहाँले भन्नुभयो, “मन्दिर पुनःनिर्माणसहित बृहत्तर विकासको योजना अगाडि बढाइएका छौँ ।”
बराह क्षेत्रको पूर्वाधार विकासमा गत आवमा गण्डकी प्रदेश सरकारले रु ५० लाख र चालु आवमा रु ३० लाख बजेट दिएको वडाध्यक्ष कँडेलले जानकारी दिनुभयो । “विसं २०३४र३५ सालअघिसम्म बेगनास तालबारे धेरै कमलाई थाहा थियो । यसको खासै चर्चा थिएन”, उहाँले भन्नुभयो, “विस्तारै पूर्वाधार बने । प्रचारप्रसार पनि भयो तर अझै पनि पर्यटनबाट उल्लेख्य लाभ बेगनासले उठाउन सकेको छैन ।”
उहाँका अनुसार बेगनास क्षेत्रमा स्तरीय सडक पूर्वाधार र बसपार्कको समस्या छ । तालचोक–बेगनास सडक विस्तार सुस्त गतिमा हुँदा पर्यटन क्षेत्र मारमा परेको वडाध्यक्ष कँडेलको भनाइ थियो । “ताल वरिपरि फुट ट्रायक, बगैँचा, विश्रामस्थल बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “स्तरीय होटल, रेष्टुराँसहित सुरक्षाको प्रत्याभूति दिनसके बेगनासमा पर्यटक भित्रिन्छन् ।” सञ्चिता घिमिरे/रासस
तनहुँः राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ ।
पाँच वर्ष पहिले अमेरिकाबाट आएका डेरिगोट एसोसिएसनका अध्यक्ष डेनियल लेनिले बाख्रा फार्ममै तीन महिना बसेर दूधबाट चिज बनाउने प्रविधि हस्तान्तरण गरेका थिए । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत वुद्धिराम आचार्यले सोही प्रविधि सिकेर आफूहरुले दूधबाट चिज बनाउन शुरुवात गरेको जानकारी दिए । चिज बनाउने तालिममा कार्यक्रमका कर्मचारी निरबहादुर राना र स्याङ्जाका बाख्रा पालक कृषक दिलबहादुर गुरुङ समेत सहभागी भएको कार्यक्रमले जनाएको छ ।
“तत्कालीन समयमा बाख्राको दूधबाट चिज बनाउने बारेमा हामीलाई कुनै पनि जानकारी थिएन”, कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत आचार्यले भने, “चिज बनाउने तालिम पाएपछि अहिले यहाँ उत्पादित बाख्राको चिज पोखरा र केही मात्रामा बन्दीपुरमा समेत खपत हुने गरेको छ ।”
कार्यक्रमको फार्ममा हाल सानेन जातका ५५ बाख्रा छन् । सानेन दूध दिने प्रजातिको बाख्रा हो । फार्ममा एउटा बाख्राले लैनो अवस्थामा करिब चार लिटरसम्म दूध दिने र हाल दैनिक करिब ४२ लिटर बाख्राको दूध सङ्कलन हुने गरेको उनले बताए । एक किलोग्राम चिज उत्पादन गर्न करिब आठ लिटर दूध आवश्यक पर्ने र आफूहरुले मासिक करिब एक सय ५० किलोग्राम चिज उत्पादन गरी बिक्री गर्दै आएको अधिकृत आचार्यले जानकारी दिए । बाख्राको चिजको मूल्य बजारमा करिब तीन हजार किलोग्राम भए पनि यहाँ भने प्रतिकिलोग्रामको एक हजारमात्र लिने गरिएको छ ।
पोखरामा आउने विदेशी पर्यटकले बाख्राको चिजको माग गरेपछि आफूले बाख्राको चिज किन्ने गरेको पोखराका व्यवसायी रवि दुवाले बताए । आफूले मोबाइलबाट चिज अर्डर गर्ने र खरिद रकम भने अनलाईन बैंकिङमार्फत कार्यक्रमको खातामा जम्मा गर्ने गरेको उनले जानकारी दिए ।
“अहिले पोखरामा आउने अधिकांश विदेशी पर्यटकको रोजाइमा बाख्राकै चिज पर्ने गरेको छ”, व्यवसायी दुवाले बताए, “बन्दीपुरको चिजलाई पर्यटकले समेत निकै मन पराएका छन् ।” राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटारबाट दुई वर्ष पहिले उत्पादित बाख्राको चिजको परीक्षण गर्दा गुणस्तरीय देखिएपछि आफूहरुले पनि सबैको पहुँचमा पुगोस् भनेर बाख्राको चिज बिक्री खुला गरेको कार्यक्रमका संयोजक राजु कँडेलले बताए ।
“बाख्राको चिजको माग अहिले काठमाडौंबाट समेत हुने गरेको छ तर पुर्याउन सकेका छैनौँ”, उनले भने, “हामीले चिज उत्पादनसँगै विभिन्न प्रजातिका बाख्राको नश्ल सुधारमा अनुसन्धान गर्दै आइरहेका छौँ ।” बाख्राको दूध र चिज क्यान्सर प्रतिरोधात्मक भएको भन्दै अधिकांशले चिजको बारेमा चासो राख्ने गरेकोसमेत संयोजक कंडेलले बताए ।
कार्यक्रममा हाल बोर र सानेनलगायतका बाख्राको बारेमा अनुसन्धान भइरहेको छ । विसं २०७१ मा कृषि खाद्य सुरक्षा आयोजनामार्फत अष्ट्रेलियाबाट ५० वोर बाख्राको माउ र सात वटा बोका ल्याएपछि बाख्राको नश्ल सुधारमा अनुसन्धान शुरु गरिएको कार्यक्रमले जनाएको छ । कार्यक्रमले अगुवा बाख्रा उत्पादक कृषकलाई पशु कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको बाठोसमेत उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा हाल अनुसन्धानको लागि बोर, सानेन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायतका करिब पाँच सय बाख्रा छन् । रासस
म्याग्दीः म्याग्दीमा पहिलोपटक विश्वमै दुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ ।
धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जङ्गलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिचेका हुन् । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जलजलाको जङ्गलमा रेडपाण्डा भेटिएको जानकारी दिए ।
उनले भने, ‘हामीलाई लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डाको वासस्थान थियो भन्ने पहिला पनि जानकारी आएको थियो, भौतिक रुपमा देखिएपछि पुष्टि भयो, रेडपाण्डा संरक्षणको कार्यक्रम, चोरी शिकारी नियन्त्रण, जनचेतनाको वृद्धिले रेडपाण्डा देखिएको हो ।’
म्याग्दीमा यसअघि दुुर्लभ वन्यजन्तुु रेडपाण्डाको देखिएको थिएन । रेडपाण्डाको वासस्थानसम्बन्धी अनुसन्धान गर्दै आएका बद्री बरालले म्याग्दीको भूूगोलमा पहिलो पटक रेडपाण्डा भेटिएको जानकारी दिए । ‘हामीले सात वर्षअघि सर्वेक्षण र अनुसन्धानको क्रममा जलजला नजिकैको मरेनी क्षेत्रमा रेडपाण्डाको दिसा भेटाएको आधारमा म्याग्दीमा यसको वासस्थान रहेको पुष्टि भएको थियो’, उनले भने, ‘सुवास थापाले जललला क्षेत्रको जङ्गलमा खिचेको दृष्यले यस क्षेत्रमा रेडपाण्डाको बसोबास रहेको हाम्रो अनुसन्धानको प्रतिवेदनलाई थप पुष्ट्याइ गरेको गरेको छ ।’
लजालु स्वभाव रहेको रेडपाण्डाले पैदल यात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेको करिब दुई मिनेट नौ सेकेण्डको भिडियोमा देखिन्छ । विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो ।
अनुसन्धानकर्ता बद्री बरालले लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखेका थिएनन् । रेडपाण्डाका वासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयवासीसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित रेडपाण्डाको महत्वका बारेमा जानकारी गराइएको थियो ।
रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको महत्वका बारेमा जानकारी पाएपछि चोरी निकासी कम भए पनि देखिएका थिएनन् ।
गुर्जा र लुलाङको जङ्गलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र मुदीमा हाब्रेको वासस्थानको विषयमा अध्ययन भएको थियो । धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा पालिकास्तरबाटै सचेतनामूलक अभियान सञ्चालन गरिने बताए । ‘रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौँ’, उनले भने, ‘रेडपाण्डाको अनुसन्धानका लागि गन्तव्य बनाउने अवसर पनि हो ।’
रेडपाण्डा जोगाउन वडास्तरमा संरक्षण समिति गठन, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा समेत निगरानी आवश्यक रहेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा र लुलाङको जंगलमा पर्याप्त छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई पाँचलाखदेखि दशलाख जरीवाना, पाँचदेखि पन्ध्रवर्ष कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । रेडपाण्डाको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि दुई सय ३७ वटाको मात्र यकिन भएको छ ।
विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र रेडपाण्डाको वासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको रेडपाण्डा रहेको छ । नेपालको २४ जिल्लामा रेडपाण्डा पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ । रासस
काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक आकर्षित गर्ने उद्देश्यले ताल निर्माण गरिने भएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बाग्मती प्रदेश सरकारको सहयोगमा कृत्रिम ताल निर्माण गरिने भएको हो ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हिले जलजले ‘ख’ वनमा शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलको ताल निर्माण गरिन लागेको हो । यसअघि प्रदेशको पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले डिभिजन कार्यालयमार्फत ताल निर्माण गर्न लागको हो ।
प्रदेश सरकारले प्राथमिकतामा राखेको उक्त ताल निर्माण गर्न गत वर्ष डिपिआर तयारपछि प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदनलाई केही परिमार्जन गरी ताल निर्माणार्थ रुख कटानका डिभिजन वन कार्यालयमा प्रक्रिया अघि बढाइएको छ । रुख कटानको आदेश आएपछि काम अघि बढाइने कार्यालयका डिभिजन प्रमुख इन्जिनियर मनिष महर्जनले बताए ।
कार्यालयका अनुसार ताल निर्माणका लागि तीन सय सात वटा रुख कटान गर्नुपर्ने छ । महर्जनले ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा तालको बाँध निर्माण गरिनेछ । उक्त पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लम्बाइको हुनेछ । उनका अनुसार पहिलो चरणमा ताल निर्माण हुनेछ भने दोस्रो चरणमा टिकट घरलगायत पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचनाका अन्य पूर्वाधार निर्माण गरिने छ ।
यस्तै तालमा डुङ्गा सञ्चालन तथा ताल आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राृकतिक सौन्दर्यीकरण सजावटका काम हुने जनाइएको छ । साथै चराचुरुङ्गी र वन्यजन्तुसमेतको संरक्षण गर्ने गरी तालको संरक्षण गर्ने योजना बनाइने छ । यस्तै ताल क्षेत्र वरपरका रुखमा ‘ट्रि हाउस’ र ‘ट्रि सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ ।
ताल निर्माणका लागि चालु आर्थिक वर्षमा पहिलो चरणमा रु एक करोड बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । तालसहितका उल्लेखित संरचना निर्माण गर्न रु. १६ करोड ९४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । ताल निर्माण सम्पन्नपछि सङ्घीय राजधानी काठमाडौंको नजिकको एक पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाएको छ । हाल बहुउद्देश्यीय परियोजनाका रुपमा सञ्चालन हुने उक्त योजनालाई क्रमागत रुपमा लगिएको काभ्रेपलाञ्चोकका सांसद गोकुल बाँस्कोटाले बताए ।
उनका अनुसार बनेपाको वासुकी क्षेत्र र हिलेजलजलेलाई पर्यटकीय तथा समृद्धिको आधारको प्रमुख गन्तव्य बनाउन संरचना निर्माण गर्न लागिएको हो । यस्तै तीन वर्षअघि सङ्घीय पर्यटन मन्त्रालयको सशर्त अनुदानको रु. १५ लाख डिपिआरलगायतका लागि पहिलो बजेट विनियोजन गरिएको थियो ।
सानो पोखरीमा अवस्थित हिले जलजलेको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व छ । नगरकोटस्थित महादेव पोखरी र हिले जलजले क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किवदंती छ । यस्तै वासुकी नाग हिलेजलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास गर्दै आइएको छ । हरेक वर्ष घुम पुर्णिमा (ज्याःपुन्ही)को दिन पनौतीमा लाग्ने जात्रामा हिलेजलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्ने गर्दै आएको छ ।
वासुकि नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फर्कदा पहिलेकै अवस्थामा आउने किंवदन्ती पनि पाइन्छ । वासुकी नागले पनौतीको भ्रमण गर्दा उहाँको स्मरणमा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास गर्दै आएको स्थानीय कृष्णप्रसाद दाहालको भनाइ छ । हिलेजलजले क्षेत्रलाई धार्मिक, साँस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले ताललगायत पूर्वाधार निर्माण गर्न लागिएको हो । रासस
चितवनः जिल्लाको राप्ती नगरपालिकाले विपन्न परिवालाई घर बनाईदिएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका दुई सय २६ विपन्न परिवरलाई घर निर्माण गरिदिएको हो ।
‘निर्वाचनपछि गाउँ घुम्ने क्रममा जनताको अवस्था दयनीय देखेर पालिकाले घर बनाउने योजना शुरु गरेकोे थियो । गाँस, बास र कपास राज्यको दायित्व सम्झेर विपन्नका लागि घर बनाउने कार्यक्रम सञ्चालन गरेको हुँ’, नगरप्रमुख शमशेर लामाले भने, ‘सोहीअनुसार आफूले गत आर्थिक वर्षमा एक सय घर बनाउने लक्ष्य लिए पनि प्रदेश सरकार र दातृ निकाय तथा विकास साझेदार संस्थाहरुको सहयोगबाट दुई सय २६ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।’
चालु आर्थिक वर्षमा समेत पालिकाले दुई सय घर बनाउने लक्ष्य लिएको जानकारी दिँदै उनले थपे, ‘मेरो कार्यकालमा एक हजार विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको छ ।’
नगरपालिकामा रहेका दलित, अल्पसङ्ख्यक र विपन्न परिवाहरु अब घरविहीन भएर र झुपडीमा बस्नु पर्दैन। ‘विपन्नलाई आवास’ कार्यक्रमअन्तर्गत् नगरपालिकाले प्रदेश सरकार र अन्य दातृ संस्थाबाट घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख लामाको भनाइ थियो ।
प्रदेश सरकार र दातृ संस्थाबाट घर प्राप्त गर्नेहरुले घर निर्माणका लागि रु तीन लाख प्राप्त गर्नेछन् । जसमा दुई कोठाको घर र शौचालय रहनेछ । पालिकाबाट बनाइएका घरहरुको हकमा भने एउटा घर निर्माणका लागि दुई लाख नगरपालिकाले सहयोग गर्ने र रु. २५ हजारबराबरको घरधनीले श्रम गर्नुपर्ने हुन्छ । श्रमदानमार्फत शौचालय पनि बनाउन जागरुक गराइएको थियो ।
हस्तान्तरण गरिएका घरहरुमा प्रदेश सरकारबाट ४५ वटा निर्माण भएकामा पालिका र दातृ निकायबाट एक सय ८१ वटा घर निर्माण गरिएको थियो । घर पाउनेमा पालिकाका चेपाङ समुदायका ५५ प्रतिशत र बाँकी अन्य समुदाय थिए ।
बागलुङः प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जङ्गलमा सङ्कलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् ।
छुँदै चिलाउने वनस्पतिलाई सहरका भान्सामा पुर्याउने अभियान यहाँका किसानले थालेका हुन् । समूहमा आबद्ध किसानले जङ्गलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण गर्न थालेको तीन वर्ष भयो । बाँकोले गाउँसहर जोडेको छ भने दुःख गर्नसक्ने किसानलाई आम्दानीसँग जोड्न थालेको छ ।
पहिलो वर्ष गाउँघरका लागि मात्रै गुन्द्रुक उत्पादन गरेकामा गत वर्ष जैमिनी नगरपालिकाले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम दिएपछि किसानले यस वर्षदेखि आफैँले लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन् ।
‘किसानको उत्पादन व्यवसायिक रुपमा जारमा जाँदा त्यसको मूल्यलगायत धेरै कुरामा सहज हुन्छ, अघिल्लो वर्ष नगरले सहयोग गरेपछि अहिले किसानले आफ्नै लगानीमा बजार ल्याएका छन्’, कृषि प्राविधिक रवीन्द्र शर्माले भने, ‘बाँकोबाट राम्रो आम्दानी हुन्छ ।’ यहाँ उत्पादित बाँको स्थानीय बजारका साथै पोखरा, काठमाडौंलगायत सहरमा माग हुन थालेको उनले बताए ।
छन्त्याल कृषक समूहमा आबद्ध दमेकका एक सय ४३ किसानको सामूहिक प्रयासमा बाँकोको बजारीकरण थालिएको समूहका अध्यक्ष देवप्रकाश छन्त्यालले बताए । उनका अनुसार अन्य सागबाट भन्दा बाँकोको सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोषिलो हुने भएकाले किसानले जङ्गली बाँकोको गुन्द्रुक बनाउँदै आएका हुन् ।
‘नजिकको जङ्गल वर्षमा दुई पटक १५/१५ दिनका लागि मात्रै बाँको टिप्नका लागि खुल्छ, जसले धेरै टिप्नुहुन्छ उहाँले धेरै आम्दानी गर्नुहुन्छ’, छन्त्यालले भने, ‘समूहमा आबद्ध किसानले टिपेको बाँको समूहले नगदमा खरिद गरेर प्रशोधन, लेबलिङ, प्याकेजिङ गर्छन् र बजार पठाउँछन् ।’
उनका अनुसार विदेशमा रहेका नेपालीले समेत बाँकोको गुन्द्रुकको माग गर्ने गरेका छन् । उच्च पहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जङ्गली वनस्पति बाँको अब व्यावसायिक किसानको रोजाइमा पर्न थालेको छन्त्यालले बताए । सहरिया भान्छामा बाँकोको गुन्द्रुक पाक्न थालेको उनको भनाइ थियो ।
दमेकका झन्डै पाँच सय घरमा बाँको भित्रिने गरे पनि कसैले व्यावसायिक बनाएका थिएनन् । यस वर्ष पाँच सय किलो बाँको बजार पठाउने समूहको योजना छ’, अध्यक्ष छन्त्यालले भने, ‘समूहले एक सय ग्रामका प्याकेट तयार गरेको छ ।’ एक प्याकेटको मूल्य तीन सय कायम गरिएको उनले जानकारी दिए । गत वर्षभन्दा प्रति एक सय ग्राममा रु. ५० मूल्य कम गरिएको उनले बताए ।
‘जेठ/असारमा जङ्गलभरि पाइने बाँको असोजसम्म घरभित्र ल्याइसक्नुपर्छ । असोजसम्म टिप्न नभ्याइएमा बाँको यत्तिकै हराएर जान्छ । सावधानीपूर्वक नटिप्ने हो भने बाँकोको काँचो पातले शरीर चिलाउने समस्या हुन्छ, यहाँका किसानले बाँकोका पात र काण्ड टिपेर परम्परागत शैलीबाट थिचेर एक महिनासम्म प्लास्टिकको ड्रममा राखेपछि मात्रै बाँकोको गुन्द्रुक तयार हुन्छ’, छन्त्यालले भने । रासस
कन्चनपुरः शुक्लाफाँटा नगरपालिकाका किसानको धान रोपेको खेतमा खैरो फड्के किराले व्यापक नोक्सानी पुर्याएको छ ।
सो नगरपालिका–१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप देखापरेको छ । फड्के किराले पात र डाँठको रस चुसेर खाँदा धानका बोट पाक्न नपाई मर्न थालेका छन् । धान पाक्नै नपाई मर्न थालेपछि उत्पादन घट्ने चिन्ता किसानलाई छ । वडा नं १ बन्साहाका किसान नरबहादुर कुवँरले पाँच कट्ठा जग्गामा लगाइको धान बाली फड्के किराका कारण सखाप भएको बताए ।
‘धान पाक्नै लाग्दा किराको प्रकोप देखा पर्यो, हेर्दा हेर्दै दुई/तीन दिनमै पूरै धानका बोट मरेका छन्’, उनले भने । अरू खेतमा किरा सर्नबाट रोक्नका लागि विषादी छर्ने कार्य गरिरहेको उनले बताए । फड्के किराको प्रकोप देखा परेका क्षेत्रमा धानको उत्पादन २० देखि ३० प्रतिशतसम्म घट्न सक्ने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए ।
‘केही ठाउँमा किराको प्रकोपले पूरै धानबाली पाक्न नपाउँदै सुकेको छ, कुनै ठाउमा भर्खर किराको प्रकोप देखिएको छ, किसानलाई कृषि शाखाबाट निःशुल्क रुपमा फड्के किरा मार्नका लागि एजाडिराक्टिन र एसिफेट नामक विषादी वितरणको कार्य गरिरहेका छौँ’, उनले भने ।
किराको सङ्ख्या हेरी एक हप्ताको फरकमा विषादी छर्कनका लागि किसानलाई सल्लाह दिन थालेको जनाउँदै उनले किसानलाई धानका बिरुवाको फेदमा पर्ने गरी विषादी छर्कन लगाउन लागेको बताए । फडके किराको प्रकोप तीन वडामा बढी देखिए पनि फाटफुट रुपमा नगरपालिकाका १२ वटै वडामा देखिएको उनले बताए ।
किसानले किराको प्रकोप हुन लागेका बेला सावधानी अपनाउन नसक्दा बढी क्षति ब्यहोर्नु परेको उनले बताए । नगरपालिकाको खेतीयोग्य जग्गाको ९० प्रतिशत क्षेत्रमा धान खेती हुने गरको छ । रासस
चितवनः भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो ।
महानगरपालिकाले अन्तरराष्ट्रिय गैरआवासीय नेपाली सङ्घका प्रवक्ता सोम सापकोटालाई भ्रमण वर्ष अन्तरराष्ट्रिय समन्वय समितिको संयोजक बनाएर विश्वभर रहेका नेपालीहरुलाई भ्रमण वर्षमा आमन्त्रण गरिँदै छ । सापकोटाका अनुसार सामाजिक सञ्जालमार्फत ५४ देशका नेपालीहरुलाई एउटा ग्रुपमा समेटिएको छ । क्रमशः थप देश र व्यक्ति जोडिने क्रम जारी छ ।
त्यहाँ रहेका चितवनवासी र नेपालीहरुलाई भ्रमण वर्षमा नेपाल आउन आग्रह गरिएको छ । यससँगै काम गर्ने साथीहरुलाई भरतपुर ल्याउन ‘एक जना साथी भरतपुर ल्याउँ’ अभियान थालिएको छ । आफू काम गर्ने संस्थाका प्रमुख वा अन्य व्यक्तिहरुलाई समेत निम्तो दिएर भ्रमण वर्षमा यहाँ ल्याउन आग्रह गरिएको सापकोटाले बताए ।
उनीहरुमार्फत नै स्थानीय सरकारसँगै विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर पर्यटकलाई भरतपुर भ्रमण गर्न पठाउन आग्रह गरिएको छ । नेपालीहरुले सञ्चालन गरेका होटल, रेष्टुरेन्ट, पसलहरुमा भ्रमण वर्षका पोष्टर राख्न, भ्रमण वर्षसम्बन्धी तयार गरिएका डिजिटल सामग्री प्रसारण गर्न आग्रह गरिएको छ ।
यसैगरी राजदूतावासहरुमा भ्रमण वर्षसम्बन्धी पोष्टर, पम्प्लेट जस्ता सामग्री राखिँदै छ । सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घका अध्यक्षहरुलाई सल्लाहकार बनाएर भ्रमण वर्षमा अधिकतम पर्यटक भरतपुर भित्र्याउने योजना बनाइएको छ ।
गैरआवासीय नेपाली सङ्घको सम्मेलनको पूर्वसन्ध्यामा अक्टोबर १४ तारेखमा भरतपुरमा अन्तरराष्ट्रिय समन्वय समिति चितवन समाजको सम्मेलन हुँदैछ । यसले विदेशमा रहेका नेपालीहरुलाई भ्रमण वर्षमा यहाँ आमन्त्रण गर्न र योजना बनाउन सहज हुने भएको छ । विश्वमा एक सय १२ भन्दा बढी देशमा नेपाली रहेका छन् ।
महानगर प्रमुख रेनु दाहालले अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत विदेशमा रहेका भरतपुरवासी, चितवनवासी र समग्र नेपालीलाई भ्रमण वर्षमा निम्तो दिन लागिएको बताइन् । यसैगरी कूटनीतिक नियोग र गैरआवासीय नेपाली सङ्घमार्फत विश्वभर भ्रमण वर्षको प्रचारको काम गर्ने तयारीमा रहेको उनले जानकारी दिइन् । आफूहरु विदेश भ्रमणमा जाँदा भेटिएका त्यहाँका अधिकारीहरुलाई मौखिक रुपमा निम्तो दिने काम भइरहेको उनले जानकारी दिइन् । आन्तरिक र बाह्य पर्यटकलाई आमन्त्रणसँगै पर्यटकको बसाइँ लम्ब्याउन महानगरपालिकाले नयाँ गन्तव्यको खोजीसँगै तयारी तीव्र रुपमा अघि बढाएको छ ।
यहाँ आउने पर्यटकका लागि पहिलो रोजाइ चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका दुर्लभ वन्यजन्तु हुन् । आएका पर्यटकलाई बाघ देखाउनका लागि महानगरपालिकाको देवनगरमा खुल्ला खोर बनाइँदै छ । दाहालले भनिन्, ‘भरतपुर आएका पर्यटकले बाघ नहेरी फर्किन नपरोस् भनेर काम अघि बढाएका छौं ।’ ऐतिहासिक महत्व बोकेको दियालो बङ्गला खुल्ला गर्ने अन्तिम तयारीमा महानगर जुटेको छ ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भ्रमण वर्षको तयारी तिव्र गतिमा अघि बढेको बताए । स्वदेशी र विदेशी पर्यटक उल्लेख्य रुपमा आउनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ । महानगरभित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुलाई व्यवस्थित गर्ने र नयाँ गन्तव्यको खोजीमा महानगर जुटेको उनले बताए ।
भ्रमण वर्षमा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिने अपेक्षा गरिएको छ । अधिकारीले नेपाल भित्रिने पर्यटकमध्ये धेरै भरतपुर ल्याउने गरी तयारी भइरहेको बताए । यसका लागि नेपालमा पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरुसँग समन्वय गर्ने काम भइरहेको छ । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । कोभिडपछि थला परेको यहाँको पर्यटकीय गतिविधिलाई भ्रमण वर्षले टेवा पुग्ने अपेक्षा गरिएको छ ।
महानगरपालिकाले विभिन्न समिति निर्माण गरेर भ्रमण वर्षका गतिविधि अघि बढाएको छ । भरतपुरमा मेघौली, पटिहानी, जगतपुर, देवनगरलगायत मुख्य सहरी क्षेत्रमा पर्यटकीय होटल रहेका छन् । यहाँ सूर्योदयका लागि चौकीडाँडादेखि सूर्यास्तका लागि गोलाघाटसम्म पर्यटकीय गन्तव्य रहेका छन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगरको राप्तीतर्फको भाग निकुञ्जसँग जोडिएको छ । त्यसका कारण पर्या पर्यटनका हिसाबले यसलाई देशकै महत्वपूर्ण ठाउँका रुपमा लिन थालिएको छ । रासस
स्याङ्जाः स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् ।
शुरुवातमा गाउँपालिका आफैँले फूलखेती गरी राम्रो आम्दानी गरेसँगै पालिकाका विभिन्न समूह सहकारी तथा व्यक्ति अभिप्रेरित भई पालिकाको अनुदानमा फूलखेतीमा आकर्षित भएका हुन् । पालिकाले केही वर्षदेखि थालेको व्यावसायिक फूलखेतीबाट सफलता प्राप्त गरेसँगै अहिले यहाँका समूह, सहकारी तथा व्यक्तिहरूले पनि व्यावसायिक फूलखेती थालनी गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए ।
गाउँपालिकाभित्र फूलखेती गर्न इच्छुकलाई उत्पादनमा आधारित रहेर ५० प्रतिशत अनुदान उपलब्ध गराइने उनले जानकारी दिए । ‘अहिले गाउँपालिकाका विभिन्न १६ स्थानमा करिब ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती भएको छ’, उनले भने, ‘फूलखेतीको अनुदानका लागि कम्तीमा पनि दुई रोपनी जग्गामा अनिवार्य फूल लगाउनुपर्ने छ, दुई रोपनी क्षेत्रफलभन्दा तल अनुदान दिँदैनौँ ।’
गाउँपालिकाले प्राविधिक सहयोग गर्ने तर सुरुआतमा किसानले आफ्नै लगानीमा बीउबिजन, मलखाद, मल्चिङ प्लाष्टिक, डोरीलगायतको व्यवस्थापन गर्नुपर्छ । किसानले फूल उत्पादन गरेपश्चात प्रतिरोपनी नौ हजारका दरले एकमुष्ट अनुदान गाउँपालिकाले उपलब्ध गराउँनेछ ।
‘फूलखेती गर्दा प्रतिरोपनी अठार हजार अनुमानित लागत लाग्छ, कार्यसम्पादन प्रतिवेदनका आधारमा किसानलाई प्रतिरोपनी नौ हजारका दरले एकमुष्ट अनुदान उपलब्ध गराउँछौँ’, उनले भने । दसैँतिहारलाई लक्षित गरी अहिले गाउँपालिकाका विभिन्न ठाउँमा ‘कर्मा ५५५’ जातको फूलखेती गरिएको छ ।
गाउँपालिका आफैँले पनि वडा नं ४ को पुछार भन्ने स्थानमा ड्रागन बगैँचामा मिश्रितरूपमा फूलखेती गरेको छ । पालिकाले झण्डै १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्दै आइरहेको छ । पालिकाले गरेको फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सामूहिकरूपमा फूलखेतीलाई व्यावसायिकतातर्फ अगाडि बढाउने क्रम बढ्दै गइरहेको छ ।
मकै, कोदो तथा विभिन्न जातका गेडागुडी लगाउने बारीमा अहिले फूलखेती देख्न सकिन्छ । कालीगण्डकी गाउँपालिका–७ बारीचौरमा सामूहिक चार रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । स्थानीय घनबहादुर थापा मकै, कोदो तथा गेडागुडीबाट भन्दा फूलखेतीबाट आम्दानी राम्रो हुन थालेकाले सामूहिकरूपमा फूलखेती गरेको बताए ।
‘दसैंतिहारलाई लक्षित गरी मैले व्यक्तिगत तथा सामूहिकरूपमा पनि फूलखेती गरेका छौँ’, उनले भने, ‘गत वर्ष फूल बिक्रीबाट डेढ लाखभन्दा बढी आम्दानी भएको थियो, अहिले पनि राम्रो छ ।’ उक्त गाउँमा घरबास ९होमस्टे० पनि सञ्चालनमा रहेकाले यहाँ आउने पाहुनालाई स्वागतका लागि पनि फूलको प्रयोग हुने गरेको छ ।
हालसम्म उत्पादन भएको फूलले राम्रै बजार पाएको कृषि अधिकृत पौडेलले बताए । यहाँ उत्पादन भएको फूल स्थानीय बजारसहित पोखरा, बुटवल, नारायणगढ, काठमाडौँ, दाङ, सुर्खेतलगायतका बजारमा खपत हुने गरेको उनले बताए । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies