राजन बस्नेत / मध्यान्ह
दोलखा : माघे संक्रान्तिको अवसरमा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले एक जना साहित्यकारलाई सम्मान तथा पर्यटन वर्ष २०२० को अवसरमा प्रकाशित प्रदेय पत्रिका सार्वजनिक गरेकोे छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले युवा गीतकार रमेश दाहाललाई १० हजार नगदसहित ‘विष्णुलक्ष्मी–तुलसिमाया साहित्य सम्मान २०७६’ बाट सम्मानित गरेको हो ।
दोलखाको बैतेश्वर ५ मैनापोखरीका दाहालले एक हजारभन्दा बढी गीत लेखिसकेका छन् भने तीन सय भन्दा बढी गीत रेकर्ड भएका छन् । पत्रकार चिरञ्जीवी मास्केले आफ्नो जन्मदिने र कर्मदिने आमाहरुको नाममा स्थापना गरेको विष्णुलक्ष्मी–तुलसिमाया साहित्य सम्मान हरेक वर्ष माघे संक्रान्तिको दिन माघ १ गते वितरण हुँदै आएको छ ।
कार्यक्रममा दोलखाका २० पर्यटकीय गन्तव्य समेटिएको पत्रिका ‘प्रदेय’ सार्वजनिक समेत गरिएको छ । भ्रमण बर्ष २०२० को अवसरमा प्रकाशित प्रदेयमा दोलखाको कालिञ्चोक, भीमेश्वर, शैलुङ, जिरीलगायत २० वटा पर्यटकीय गन्तव्यको परिचय, विशेषता, भौतिक, सामाजिक, सांस्कृतिक अवस्था आदी समेटिएको छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले पुरस्कार वितरण तथा प्रदेय सार्वजनिक गरेका थिए ।
समितिका अध्यक्ष बिष्णु सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख पाण्डे, नेकपा दोलखाका प्रमुख एवं तामाकोसी गाँउपालिकाका प्रमुख इश्वरचन्द्र पोखरेल, शैलुङ गाँउपालिकाका प्रमुख भरत दुलाल, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेल, भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला बस्नेत, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले आ–आफ्नो भनाइ राखेका थिए ।
त्यस्तै कार्यक्रममा समितिका संरक्षक चिरञ्जीवी मास्के, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, प्रेस संगठनका केन्द्रीय सदस्य सरद सापकोटा, नेपाल प्रेस युनियन बागमती विशेष क्षेत्र संयोजक रमेश खतिवडा, नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष दीपशंकर चौलागाई, प्रेस संगठन दोलखाका सहसंयोजक प्रभु जिरेल, साहित्यकार शंकरलाल श्रेष्ठ र समितिका उपाध्यक्ष मुरारी दुलालले मन्तव्य व्यक्त गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies