काठमाडौं : सामान्यतया औद्योगिक परिवेशमा कामदार र मालिकको सम्बन्ध विपरित स्वार्थमा अडिएको वा टिकेको मानिन्छ तर कोरियाका एक रोजगारदाता यो मान्यताको विपरित देखिएका छन् । उनी आफ्नो कम्पनीमा काम गरेर बिदामा नेपाल आएका एक कामदार बिरामी भएको खबर पाएपछि सहयोग र सहानुभुतिका लागि आफु स्वयं नेपाल नै आएर भेटेका छन् । ती कोरियाली रोजगारदाताको कामदार मैत्री व्यवहार देखेर सियोलस्थित नेपाली दूतावासका काउन्सेलर श्रम डिल्लिरामा बास्तोला आफ्नो हृदय नै पग्लिएको बताउँछन् ।
आफ्नो कम्पनीमा कार्यरत कामदार भेट्न नेपाल आएका कोरियाली रोजगारदाता किम जोङ चान बुधबार काउन्सेलर श्रम बास्तोलालाई भेट्न सियोलस्थित नेपाली दूतावास पुगेका थिए । उनी कोरियामा सानो आकारको क्रुज निर्माण गर्ने वाइ एण्ड आई क्रुज सिप कम्पनीका एक्जुकेटिभ डाइरेक्टर हुन् । उनको कम्पनी कोरियाको क्युगनाम तोङयुङमा रहेको छ । उनको कम्पनीमा ९ जना विदेशी कामदार कार्यरत छन् । उनीहरु सबै नेपाली कामदार हुन् । मेहनती र इमान्दार नेपाली कामदारको स्वभावका कारण किम पहिले देखि नै नेपाली कामदारबाट प्रशन्न र प्रभावित रहेका थिए । उनी नेपाली कामदारहरुको बारेमा बुझ्न पहिलो पटक सन् २०१७ मा नेपाल आएका थिए । दोश्रो पटक उनी सन् २०१९ मा आए ।
कम्पनी कामको सिलसिलामा दुर्घटनामा परी घाइते भएका राम बहादुर नेपालमा पनि मोटरसाईकल दुर्घटनामा परेपछि उनी रोजगारीका लागि पुनः कोरिया जान सकेनन् । राम बहादुर कोरिया जान नसक्ने भएपछि किम आफ्नो कम्पनीका लागि काम गर्ने राम बहादुरलाई भेट्न नेपाल नै आए ।
मध्यान्ह राष्ट्रिय दैनिक सँगको कुराकानीमा काउन्सेलर श्रम बास्तोलाले भने, ‘बुधबार उनी मेरो कार्यालयमा आएका थिए, छोटो कुराकानी भयो । तर उनको कामदार मैत्री व्यवहार र नेपाल प्रतिको धारणाले म बास्तवमै अति उत्साही भएँ । उनलाई उपहार स्वरुप नेपाल भ्रमणवर्ष २०२० को प्रवद्र्धन सामग्री र बुद्धको सानो मुर्ति दिएँ ।’
दक्षिण कोरिया नेपाली कामदारको आकर्षक रोजगार गन्तव्य हो । ईपिएस भाषा परीक्षा प्रणाली लागू भएको सन् २००८ देखि हालसम्म झण्डै पाँच लाख युवा रोजगारीका लागि कोरिया जानकै लागी लाखौं लगानी गरेर भाषा परीक्षामा सामेल हुने गरेका छन् ।
कोरियामा आप्रवासी कामदार मध्ये इमान्दार र मेहनती कामदार हैसियत बनाएका नेपाली कामदारलाई त्यहाँका रोजगारदाताले विश्वास गर्दै आएका छन् । नेपाली कामदारले मासिक एक लाख ५० हजारदेखि साढे दुई लाखसम्म कमाउँदै आएका छन् । नेपालमा उच्च शिक्षा हासिल गरेका युवाहरुका लागि समेत आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको कोरियामा विगत एक दशकमा करिब ६० हजारले रोजगारी पाएका छन् । तर सबै कामदारका लागि मुन जस्ता रोजगारदाता फेला पर्दैनन् । जसका कारण कामदार सधैंभरी तनावमा रहने गर्छन् । पछिल्लो समय कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको संख्या बढ्दै गएको छ । धेरै कमाएर पठाउनुपर्ने घरको दवाव र कडा काम गर्नुपर्ने बाध्यतामा रहने केही नेपाली कामदारले हिनताबोधका कारण डिप्रेशनमा गई आत्महत्याको बाटो रोज्ने गरेका छन् ।
कतिपय कामदार औद्योगिक तथा सडक दुर्घटनामा परी मरेका छन्, भने कति अनियमित खानपानका कारण सुतेकै अवस्थामा ज्यान गुमाउन बाध्य छन् । मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारणबाट कोरियामा मृत्यु हुने नेपालीको संख्या बढ्दै गएको रोजगारबाट फर्किएका नेपालीहरुको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies