शुभ नारायण कामती/मध्यान्ह
सिरहा : प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहा नगरपालिका वडा नं. ९, १०, ११, १२ र २२ मा शनिबार सम्पन्न छोरी शिक्षा बीमा सप्ताह शिविरमा १२७ छोरीको बीमा गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका तथा नरहा र अर्नमा गाउँपालिका र सिरहा नगरपालिका उक्त ५ वडामा सम्पन्न छोरी शिक्षा बीमा सप्ताह शिविरमा हाल सम्म ५३७ छोरीको बीमा गरिएको छ ।
गत २०७५ माघ २ पछि जन्मिएका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा दुई दिन, नरहा गाउँपालिकामा एक दिन, अर्नमा गाउँपालिकामा २ दिन र सिरहा नगरपालिकामा पहिलो दिन उक्त ५ वडामा हाल सम्म ५३७ छोरीको बीमा गरिएको जनाइएको छ ।
सिरहाको कल्याणपुर नगरपालिकास्थित रेडक्रस भवनमा सम्पन्न शिविरमा १९७ जना तथा नरहा गाउँपालिकामा ९३ जना, अर्नमा गाउँपालिकामा १२० जना र सिरहा नगरपालिकाको उक्त ५ वडामा गरी १२७ जना छोरीको बीमा गराइएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिएका छन् । शिविरमा छोरीहरुलाई काखमा च्यापेर बीमा गराउन शिविरस्थलमा अभिभावकहरुको घुइँचो लाग्ने गरेको छ । सिरहाको १७ वटै स्थानीय तहहरुमा शिविर सञ्चालन गर्ने योजना रहेको संयोजक विश्वकर्माले बताए ।
छोरा र छोरीबीच हुने विभेदलाई अन्त्य गर्दै छोरीहरुको शिक्षामा पहुँच पुर्याउने उद्देश्यले सञ्चालित छोरी शिक्षा बीमा सप्ताह शिविरमा गत २०७५ माघ २ गतेपछि प्रदेश २ मा जन्मिएका सबै छोरीको सबै कागजात पूरा गरी शिविरमै बीमा गरिने जनाइएको छ । छोरी शिक्षा बीमा शिविरमा बीमा गराउने छोरीहरुको प्रभु बैंकमा मुद्धति खाता खोलेर बीमा गरिने र बीमा बापत लाग्ने रु १३ हजार ५४७ प्रिमियम रकम प्रदेश सरकारले नै खातामा जम्मा गरिदिने प्रदेश २ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
प्रदेश २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ सालदेखि नै छोरी शिक्षा बीमा शुरु गरे पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि प्रदेशभरिका सबै स्थानीय तहहरुसँग समन्वय गरी स्थानीय तहहरुमा छोरी बीमा सप्ताह शुरु गरिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies