काठमाडौं : अन्तर्राष्ट्रिय दर्शन दिवस–२०२४ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा आयोजित ‘समाज विकास र दर्शन’ विषयक विचार–गोष्ठी सम्पन्न भएको छ ।
उक्त विचार–गोष्ठीको ब्यानर वाचन गरेर प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबीच समुद्घाटन गरेका थिए । उनले दर्शनमा भौतिकवादी र अध्यात्मवादी धारा रहेको बताउँदै तीमध्ये विश्वमा फैलिएका दर्शनका आयाम वा हाँगामध्ये नेपाली मौलिक दर्शन र दार्शनिक चिन्तनहरूका बारेमा प्रज्ञा–प्रतिष्ठानले खोजमूलक अध्ययन गरी तिनको निरुपण गर्ने बताए ।
दार्शनिक चिन्तक गोपीरमण उपाध्यायले ‘समाज विकास र दर्शन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै ‘वर्तमान युग समाजवाद र पुँजीवादबिच द्वन्द्वको युग रहेको र यसको दार्शनिक चिन्तन प्रणाली वैज्ञानिक भौतिकवाद रहेको धारणा राखे ।
उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै माक्र्सवादी चिन्तक श्याम श्रेष्ठले कुनै पनि दर्शनलाई गति र वर्गीय समानताको आधारमा आलोचनात्मक दृष्टिकोणसहित विज्ञानसम्मत ढंगले समाज विकासलाई हेर्नुपर्ने बताएका थिए । अर्का टिप्पणीकार राजनीतिक चिन्तक प्रमेश हमालले समाज विकासमा दर्शन र चिन्तनले पारेको प्रभावलाई वस्तुत निष्ठ व्याख्या गर्न जोड दिएका थिए ।
सभाध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा.कृष्णराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कुनै धर्मले संशयलाई रोक्ने बताए । उनले भने, ‘तर कुनै पनि दर्शनले विषयवस्तुमाथि संशय पैदा गरिदिन्छ भने दर्शन विज्ञानले ठयाक्कै निरुपण गर्छ । यसको समाज विकासमा गहिरो प्रभाव रहेको छ ।’
विचार–गोष्ठीमा प्राज्ञसभा सदस्यद्वय डा.भागवत आचार्य र धर्मेश पोखरेल तथा सहभागीका तर्फबाट डा.भरतप्रसाद बराल, निमानन्द रिजाल, डा.सोम धिताल, प्रकाश तिमल्सिना र प्रेम शिल्पकारले आ–आफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रमको उद्घोषण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए ।