बारा : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वप्रसिद्ध गढिमाई मेलामा कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनीको अवलोकन गरेका छन् । प्रदर्शनीको अवलोकन गर्दै मुख्यमन्त्री सिंहले कृषि विशेष प्रदर्शनी आयोजना गरेकोमा कनेक्ट किसानलाई धन्यवाद दिएका थिए ।
उनले मधेश सरकारले छिट्टै प्रदेश स्तरीय कृषि प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिँदै कनेक्ट किसानसँग सहकार्यका लागि आग्रह गरे । कनेक्ट किसानका अध्यक्ष सञ्चिता लामिछानेका अनुसार मुख्यमन्त्री सिंहले मधेशको समृद्धि केवल कृषिको आधुनिकीकरण र कृषकको स्तरवृद्धिबाटै सम्भव हुने बताएका थिए ।
अन्नको भण्डार मानिने मधेशमा कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै मुख्यमन्त्री सिंहले स्थानीय किसानलाई प्राविधिक सहयोग, नवप्रवर्तन, र सहुलियत योजनामार्फत आत्मनिर्भर बनाउन सरकार कटिबद्ध रहेको बताए ।
मुख्यमन्त्रीसँगै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अली मियाँ र पर्यटन सचिव सुशील साहले पनि प्रदर्शनीको अवलोकन गरेका थिए ।कृषि क्षेत्रमा आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि स्थानीय तथा प्रदेश सरकारको सहकार्य आवश्यक रहेको चर्चा गर्दै प्रदर्शनीले किसानका लागि नवीनतम प्रविधि र जानकारीको आदानप्रदानको अवसर प्रदान गरेको आयोजक कनेक्ट किसानले जनाएको छ ।
प्रदर्शनीका क्रममा कनेक्ट किसानले आधुनिक कृषि प्रविधि, बीउबिजन, मल तथा अन्य आवश्यक सामग्रीका बारेमा जानकारी गराएको थियो । यसले किसानलाई व्यवसायिक कृषितर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा सहभागी हुने भक्तजन र तराई क्षेत्रका कृषकहरूलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ । किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियान्ताहरूको जमघट गर्ने यो मेला कनेक्ट किसानको प्रमुख आयोजनामा हुनेछ ।
मेला संयोजक सञ्चिता लामिछानेले एक्स्पोमा २ लाख भन्दा बढी अवलोकनकर्ताको सहभागीता र ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने जानकारी दिइन् । आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहनेछन्, जहाँ कृषिमा भित्रिएको नवीनतम प्रविधि, मल, बीउ, परामर्श र अन्य आवश्यक सामग्रीहरू एकै ठाउँमा उपलब्ध हुनेछन्। एक्स्पोको प्रमुख आकर्षण कृषि सेमिनार हुनेछ, जहाँ किसानहरूले विज्ञहरूसँग निस्शुल्क परामर्श लिन र भलाकुसारी गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।
एक्स्पोको सफलताका लागि कृषि सूचना तथा प्रशिक्षण केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि औजार अनुसन्धान केन्द्र, कृषि अनुसन्धान निर्देशनालय, राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र र कृषि उद्यम केन्द्र लगायतका विभिन्न संघ संस्थाहरूले प्रवर्द्धक र साझेदारको भूमिका निर्वाह गर्नेछन् ।
एक्स्पोमा कृषिका विभिन्न विधा जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई-भैँसी पालन, डेरी खेती, केरा खेती, थोपा सिँचाई, विषादी रहित कृषि र कृषि नविनतम औजारहरूको प्रदर्शनी गरिने छ । यससँगै, देशभरिबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र अन्य कृषकहरूले आधुनिक प्रविधिको जानकारी प्राप्त गर्ने विश्वास आयोजकको छ । बारामा कनेक्ट किसानको आयोजनामा गत मंसिर १८ गतेदेखि भोलि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ आयोजना हुने छ ।