आगामी अप्रिलमा नेपाल सरकारले सगरमाथा सम्वाद शुरु गर्दैछ । जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय बहस गर्न सरकारले बौद्धिक बहसको थालनि गर्न लागेको छ । यो सम्वादमा नेपालसँग कुटनैतिक सम्बन्ध रहेका मुलुकका कार्यकारी तथा राष्ट्र प्रमुखहरुलाई निमन्त्रण दिइएको छ । अहिलेसम्म सरकारको तयारी र उद्देश्य हेर्दा विश्वभर भइरहेको जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय बहस हुनेछ । बहसकै आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अल्पकालीन र दीर्घकालीन कार्यक्रम तय हुने आशा गरिएको छ ।
विभिन्न देशले आ–आफ्नो क्षेत्रमा यस्तो बौद्धिक बहस गर्दै आएको छ । चीन बेइजिङ सम्मेलन, भारतले राइनास, स्वीजरल्याण्डले डाभोस सम्मेलन जस्ता मञ्च मार्फत् अन्तर्राष्ट्रिय बहस गर्दै आएका छन् । छिमेकी मुलुकहरुले जस्तो वर्सेनि नभएर नेपाल सरकारले भने प्रत्येक दुई वर्षमा सगरमाथा सम्वाद शुरु गर्न लागेको जनाएको छ । त्यसका लागि नेपाल सरकार र विभागीय मन्त्रालयले तयारी तीव्र पारेको छ । कतिपय मुलुकमा दूतावास मार्फत सरकारले निमन्त्रणा पुर्याएको छ भने कतिपय मुलुकमा विभागीय मन्त्रीहरुले निमन्त्रणा पुर्याएका छन् ।
तयारीकै क्रममा आइतबार राष्ट्रिय बहस भएको छ । यो बहसमार्फत सरकारले सगरमाथा सम्वादमा एजेण्डा तय गर्ने जनाएको छ । सरकारी अधिकारीहरुका अनुसार, सगरमाथा सम्वादले मुलत जलबायु परिवर्तनबारे नेपालको अनुभव बाड्नेछ भने अरु देशले गरेको अनुभव अनुशरण गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण उपप्रधानमन्त्री ईश्वर पोखरेलले आइतबारको तयारी सम्मेलनको सम्बोधन गरे ।
उपप्रधानमन्त्री पोखरेलले दीगो विकासको बाटो समात्न नसक्दा नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा बढी असर देखिएको निष्कर्ष सुनाए । सायद, अप्रिलमा हुने सगरमाथा सम्वादमा नेपालको यिनै अनुभव र निष्कर्ष प्रस्तुत हुनेछन् । सँगै, सहभागी राष्ट्र प्रमुख तथा कार्यकारीले आ–आफ्नो देशको चिन्ता र समाधानको उपाय सुझाउनेछन् ।
केही वर्षदेखि तयारी गरिरहेको सगरमाथा सम्वाद कति लाभदायी हुनेछन् भन्ने अहिले नै अनुमान गर्न गाह्रो हुनेछ । आशा गरौं– सगरमाथा सम्वाद जलवायु परिवर्तनमा विश्वकै लागि महत्वपूर्ण मञ्च हुनेछ । तर, त्यो भन्दा पनि महत्वपूर्ण भने नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत उचो बनाउन यो मञ्च प्रयोग गर्न सक्छ । त्यसका लागि कुटनैतिक सम्बन्धलाई कसरी व्यवस्थापन गर्न सक्छ भन्ने मूल प्रश्न उठ्छ । किनभने, विश्वको ध्रुवीकरण शाश्वत हो । त्यसैले सन्तुलित कुटनैतिक सम्बन्ध मार्फत् नेपालले अन्तर्राष्ट्रिय जगतमा उचाई बनाउने यो अवसर समेत हो । हरेक क्षेत्रबाट त्यहीअनुसार, बुझ्न र बुझाउन सक्नुपर्ने हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies