सधैंझैं यसपटक पनि नयाँ प्रहरी महानिरीक्षक नियुक्तिको विषयले बजार तातेको छ । महानिरीक्षक सर्वेन्द्रनाथ खनालको पदावधि सकिने समाचारसँगै प्रहरी नेतृत्व कसले समाल्हालान् भन्ने विषय चासोको विषय बनेको छ । शान्ति सुरक्षा कायम गर्नुपर्ने प्रमुख जिम्मेवारी रहेको संस्थाको नेतृत्वबारे हुने चर्चा स्वभाविक हो । दैनिक जीवनसँग जोडिने संस्थामा हुने नेतृत्व परिवर्तनको विषयले सामाजिक वृत्त तातिंदा सामाजिक स्वीकारोक्ति पनि बढ्ने हुन्छ । तसर्थ, प्रहरी नेतृत्व परिवर्तन प्रहरी वृत्तको मात्रै नभएर सम्पूर्ण राज्य संरचनाकै चासोको विषय हो ।
तर, हाम्रोमा सामाजिक वृत्त भन्दा बढी राजनीतिक पंक्तिको ध्यान प्रहरी नेतृत्व परिवर्तनतर्फ जाने गरेको छ । त्यसैका कारण जबजब प्रहरी नेतृत्व परिवर्तनको समय हुन्छ, राजनीतिक पंक्तिको चासो र चिन्ता यसतर्फ तानिएको देखिन्छ । विशेषगरी स्वार्थ समुहले यसतर्फ बढी चासो देखाउने गरेको छ । कतिपयले प्रहरी महानिरीक्षक चयनलाई पपुलिज्म (लोक रिझ्याई) सँग जोडेर टिप्पणी गर्ने गरेको पाइन्छ । यस्तो टिप्पणी हुनुको पछाडि भने प्रहरी नेतृत्वमा दावी गर्नेहरुले नै विभिन्न माध्यमबाट गर्ने प्रचारबाजी र राजनीतिक लबिङले भूमिका खेलेको छ ।
प्रहरी अफिसरहरु नै आफ्नो संगठनको मूल्यमान्यता भन्दा बढी राजनीतिक लबिङतर्फ लाग्दा लोकरिझ्याइका आधारमा प्रहरी नेतृत्व चयन हुने गरेको टिप्पणीलाई बल पुग्छ । तर, यसरी प्रहरी नेतृत्व चयन हुँदा संगठनमा अनावश्यक हस्तक्षेप त निम्तने छदैछ, सँगै सामाजिक सुशासन र कानून कार्यान्वयनमा भने समस्या उत्पन्न हुने संभावना हुन्छ । विगतमा यस्ता गतिविधि देखिएका पनि छन् । प्रहरी नेतृत्व आफ्नै संगठनको मूल्यमान्यता र निर्णय प्रक्रियाबाट नभई राजनीतिक हस्तक्षेपबाट भएको भन्दै शीर्ष तहमा पुगेका प्रहरी अधिकारीहरुले राजनीमा दिएका छन् । कतिपयले राजीनामा लगत्तै कुनै दलको चुनाव चिन्ह लिएर मैदानमा खडा हुने समेत देखिएको छ ।
यसको अर्थ प्रहरी नेतृत्व मूल्यमान्यता र कार्य सम्पादन भन्दा पनि बाहिरी लबिङ र प्रचारबाजीबाट हुने प्रवृत्ति नरोक्ने हो भने समाजमा प्रहरीप्रतिको स्वीकार्यता कमजोर भएर जाने संभावना हुन्छ । स्वयम् प्रहरी संगठनभित्रै पनि असन्तुष्टि पैदा हुँदा राज्यले ठूलो लगानी गरेका प्रहरी अधिकारीहरुले समय अवधि नपुग्दै राजीनामा बुझाउँदा क्षति भने देशले भोग्नुपर्ने हुन्छ । तसर्थ, प्रहरी नेतृत्व सँगै बढुवा जस्ता विषयमा अनावश्यक हस्तक्षेप निम्त्याउनेगरी प्रहरी अधिकारीहरुले लबिङ र प्रचारबाजी गर्नु उचित हुन्न । बरू, प्रहरीको छवि फेरि पनि समाजमा बलियोगरी स्थापित गर्न सहयोग पुग्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies