काठमाडौं : साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले म्यानपावर कम्पनीका मागपत्र प्रमाणीकरण कार्य फागुन १ गते (तदनुसार १३ फेब्रुअरी) मा पनि पूर्ववत् सञ्चालन हुने प्रष्ट पारेको छ ।
रियादस्थित नेपाली दूतावाससँगै जेद्दामा रहेको महावाणिज्य दूतावासबाट फागुन १ गते (आज) म्यानपावर कम्पनीका मागपत्र प्रमाणीकरण कार्य नहुने समाचार मध्यान्ह दैनिकमा छापिएको थियो । डिमान्ड अपलोड कार्य बाँकी रहेकाले एक दिन प्रमाणीकरण नहुने दूतावासले विज्ञप्तिमार्फत जनाएको थियो ।
तर, जेद्दास्थित महावाणिज्य दूतावासले रियादबाट बिहीबार प्रमाणीकरण कार्य नभए पनि आफ्नो कार्यालयबाट यो सेवा नरोकिने प्रष्ट पारेको छ ।
जेद्दास्थित नेपाली वाणिज्यदूत भुवन पौडेलले मध्यान्हसँग कुरा गर्दै फागुन १ गते बिहीबारका दिन पनि पूर्ववत् रूपमा प्रमाणीकरण कार्य हुने जानकारी दिए । ‘बिहीबार रियादस्थित नेपाली राजदूतावासले म्यानपावर कम्पनीका मागपत्र प्रमाणीकरण कार्य नगर्ने जनाए पनि जेद्दाबाट पनि नहुने आशयका समाचार प्रकाशमा आएका छन्,’ वाणिज्यदूत पौडेलले टेलिफोनमार्फत मध्यान्हसँग भने, ‘जेद्दास्थित हाम्रो कार्यालयबाट पनि सबैखाले सेवा प्रवाह हुन्छ ।’
साउदी अरबबाट वर्षौंदेखि नेपाली कामदारको माग हुँदै आइरहेको छ । पछिल्लो समय त्यहाँस्थित दूतावासले नआउन आग्रह गरे पनि माग र नेपाली युवाको आकर्षण घटेको छैन । माग हुने नेपाली कामदारहरूको प्रमाणीकरण कार्य रियादस्थित नेपाली दूतावास र जेद्दाको महावाणिज्य दूतावास गर्दै आइरहेका छन् ।
दूतावासले किन्यो स्क्यानर
वैदेशिक रोजगार विभागले नेपाली नियोग रहेका विश्वका सबै देशमा यही जनवरी १ बाट लागू हुनेगरी वैदेशिक रोजगार सूचना (फेम्स) अनिवार्य गरेको छ ।
तर, कतारस्थित नेपाली राजदूतावासले भने यो प्रणाली कार्यान्वयनमा ल्याउन आलटाल गरेको छ । विभागले प्रणाली लागू गर्न दिएको समयसीमा घर्किएको १ महिना १२ दिन बिते पनि उसले बल्ल स्क्यानिङ मेसिन खरिद गरेको छ । स्क्यानिङ मेसिनको जडानलगायतका प्राविधिक कार्य गर्नुपर्ने भएकाले फेम्स प्रणाली कार्य केही दिन पर सर्ने देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies