आज फागुन एक गते । पञ्चायती शासन प्रणालीको अन्त्य गर्दै बहुदलीय व्यवस्थाले सात वर्ष पार नगर्दै तत्कालीन नेकपा माओवादीले विद्रोह घोषणा भएको२५ वर्ष भएको छ । यो २५ वर्षमा दरबार हत्या काण्ड, जनयुद्ध, दोस्रो जनआन्दोलन, राजतन्त्रको अन्त्य, मधेश विद्रोह, आदिवासी जनजाति आन्दोलन, संविधानसभा गठन,संविधान निर्माण, गणतन्त्रको स्थापना र संघीय संरचना स्थापना भएको छ । यो २५ वर्षमा भएका राजनीतिक परिवर्तन नेपालको इतिहासले मेट्न सक्ने छैन । प्राप्त उपलब्धी फेरि गुम्न अथवा गुमेका व्यवस्था पुनस्र्थापना पनि हुन सक्ला, तर इतिहासले यी घटनाक्रम कहिल्यै नमेटिनेगरी लेखिसकेको छ ।
यो २५ वर्षमा संसदीय व्यवस्था विरुद्ध हतियार उठाएको माओवादी फेरि एउटा संसदीय पार्टीमा रुपान्तरण भइसकेको छ । माओवादी विद्रोहको नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष छन् । उनकै भाषामा अहिले माओवादी बिघटन भएर नेकपा बनेको छ । २०६४ र २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भाग लिंदै प्रचण्ड‘बुलेट’ होइन, ‘ब्यालोट’ मार्फत् सत्तारुढ दलको अध्यक्ष बनेका छन् । अब उनकै लागि पनि त्यो २५ वर्ष अगाडिको विद्रोह ‘नोस्टाल्जिक’ बन्न पनि सक्ला ।
तर, यही विद्रोहका क्रममा १७ हजार नेपालीको ज्यान गएको छ । तत्कालीन विद्रोहीका लागि प्राणको आहुती दिने ‘शहीद’ हुन् अथवा राज्य संयन्त्र जोगाउन बीरता प्रदर्शन गर्दा बीरगति प्राप्त गर्ने सुरक्षाकर्मी हुन्, उनीहरु नेपाली नै हुन् । उनीहरुलाई राज्य संयन्त्रले कसरी सम्झन्छ ? त्यो राज्यकै कुरा भयो । तर, ती १७ हजारका परिवारले पुस्तौंसम्म यो तथ्य भुल्ने छैनन् । सँगै, देशमा जुन तहको परिवर्तन भयो र जस्तो व्यवस्था अपनाइएको छ; यो उनीहरुकै प्राणमाथि उभिएको छ । अहिलेका सत्तारुढनेताहरुलाई हेरेर कतिपयले त्यो बलिदानको अवमूल्यन भएको टिप्पणी गर्छन्, कतिपयले व्यवस्था बदलिए पनि प्रवृत्ति उस्तै रहेकाले ती बलिदानको अनर्थ हुन पुगेको निष्कर्ष निकाल्ने गरेका छन् ।
तर भुल्नै नहुने वास्तविकता भने अहिलेको व्यवस्था र राज्य संरचना निर्माण हुनुमा त्यो २५ वर्ष अगाडिको विद्रोह महत्वपूर्ण परिघटना हुन् । नेपालका राजनीतिक वृत्तले यसतर्फ गम्भीर हुन जरुरी हुन्छ । किनभने, यदि विद्रोह गलत नै थियो भन्ने निष्कर्ष निस्के पनि त्यसको आधार फेरि पनि तत्कालीन राजनीतिसँग निरपेक्ष निस्कन्न । अझ त्यो विद्रोहको नेतृत्वकर्ताले यो २५ वर्षको निर्मम समीक्षा गर्न जरुरी छ । किनभने, इतिहासको समीक्षा नगरी भविष्यको मार्ग कोरिन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies