काठमाडौं : मलेसियाले तत्काल पाकिस्तानबाट सुरक्षागार्ड आपूर्ति नगर्ने भएको छ । मलेसियामा नेपाली सुरक्षागार्डको एकाधिकारको विषयलाई लिएर पाकिस्तानी पत्रिका दी नेसनलले मलेसियाका लागि पाकिस्तानी राजदूत अम्ना बलोचलाई उद्धृत गर्दै पाकिस्तानबाट पनि सुरक्षागार्ड लैजान तयारी भइरहेको समाचार प्रकाशमा आएपछि चिन्ता उत्पन्न भएको थियो ।
गतहप्ता पाकिस्तानी पत्रिका दी नेसनले मलेसियाका लागि पाकिस्तानी राजदूत अम्ना बलोचलाई उद्धृत गर्दै नेपालबाट मात्र सुरक्षागार्ड लैजाने मलेसियाले आफ्नो नीति परिवर्तन गरी पाकिस्तानबाट पनि सुरक्षागार्ड लैजाने तयारी गरेको बताएका थिए । तर, मलेसिया सरकारले तत्काल पाकिस्तानबाट सुरक्षाकर्मी आपूर्ति गर्ने कुनै तयारी रहेको प्रष्ट पारेको छ ।
मलेसियाको गृह मन्त्रालयले पाकिस्तानको दी नेसनमा आएको समाचारप्रति असहमति जनाउँदै मलेसियामा नेपालबाहेक अन्य देशबाट सुरक्षागार्ड ल्याउने निर्णय नभएको बताएको छ । मलेसियामा स्थानीय नागरिकहरूलाई नै सुरक्षागार्डको रोजगारीमा लगाउने योजनालाई भने उच्च प्राथमिकतामा राखिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
मलेसियाको गृह मन्त्रालयले सन् २०१४ यता मलेसियाका १ लाख २० हजार ७ सय ६७ जना स्थानीय नागरिकलाई नै तालिम दिइएको बताएको छ । उक्त समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यहाँको मलेसियन इम्प्लोयर फेडरेसनले त्यसको खण्डन गरेको थियो । मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले पनि स्थानीय पत्रिकामा छापिएको १ लाख ५० हजार पाकिस्तान सुरक्षागार्ड मलेसिया आउने भन्ने समाचारबारे आफूलाई केही जानकारी नभएको बताएका छन् ।
आ.व. ०५४/५५ देखि मलेसियामा नेपाली कामदार जाने क्रम सुरु भएको हो । मलेसियाले दक्षिण एसियाका १४ मुलुकबाट कामदार लैजाने भएपनि सुरक्षागार्ड नेपालबाट मात्रै लैजाने गरेको छ । तर तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको कार्यकालमा नेपालले एकपक्षीय रूपमा १७ महिनासम्म कामदार नपठाएपछि मलेसियाले विकल्प खोजेको आकलन गरिएको थियो । मलेसियामा सुरक्षागार्डको अभाव भएपछि भारत, पाकिस्तान र श्रीलंकाले आफ्नो देशबाट सुरक्षागार्ड आपूर्ति गर्न लविङ गरेका थिए ।
मलेसियाको विकास र औद्योगीकरणमा नेपाली सुरक्षागार्डहरूको लगन, मेहनत र इमान्दारिताले नेपालीको छवि उच्च बनाएको छ । तर नियमित रूपमा कामदार आपूर्ति गर्ने प्रक्रियामा अवरोध पुर्याएपछि मलेसियामा नेपाली सुरक्षागार्डको विकल्प खोज्नेबारे छलफल हुन थालेको छ ।
सन् १९७३ मा मलेसियाले त्यहाँका उग्र कम्युनिस्ट विद्रोहलाई साम्यपार्न ब्रिटिस सेनामा रहेका नेपाली सैनिकहरूलाई प्रयोग गरेको थियो । ब्रिटिस सेनामा रहेका नेपालीको अदम्य साहस इमान्दारिताको परिणामस्वरूप मलेसियाले सुरक्षागार्ड नेपाली मात्र प्रयोग गर्ने गरेको हो । तर पछिल्ला दिनमा नेपालबाट जाने सुरक्षागार्डमा मलेसियाले अपेक्षा गरेजस्तो बहादुरी र इमान्दारिता भएपनि सीप र तालिम नभएको गुनासो बढेको थियो ।
सुरक्षासम्बन्धी प्रर्याप्त तालिम नलिएका नेपाली सुरक्षागार्डहरूले देव्रेहातले सलाम गर्ने गरेको भन्दै मलेसियाका रोजगारदाताहरूले सुरक्षागार्डहरूलाई नेपालमै तालिम दिनुपर्ने माग समेत गरेका थिए । तर कामदार पठाउने प्रक्रिया नै अवरुद्ध भएपछि तालिमको विषय छायामा परेको थियो ।
गतवर्ष नेपाल र मलेसियाबीच कामदार आदानप्रदान तथा फिर्तासम्बन्धी संझौता भएलगत्तै मलेसियाको सेक्युरिटी गार्डसम्बन्धी एक संगठनका प्रमुखहरू तालिम केन्द्रबनाएर नेपाली सुरक्षागार्ड लैजाने एजेण्डासहित नेपाल आएका थिए । तर तत्कालीन मन्त्री बिष्टले तालिमको नाममा अर्को सिण्डिकेट तयार हुने भन्दै तालिम दिने कुरालाई ठाडै अस्वीकार गरेपछि मलेसियाको तर्फबाट थप प्रयास नभएको बताइन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies