कोरोना भाइरस (विश्व स्वास्थ्य संगठनले दिएको औपचारिक नाम कोभिड–१९) ले विश्व नै आतंकित बनेको छ । यसको उद्गमस्थल राष्ट्र चीनले संक्रमण नियन्त्रणबाहिर जानसक्ने खतरातर्फ संवेदनशील बन्दै उच्च सतर्कता अपनाइरहेको छ । संक्रमणको इपिसेन्टर वुहानमा सार्वजनिक यातायात बन्द गरेर थालिएको सतर्कतालाई चीनले सम्भव भएसम्मका हतकण्डा अपनाएर बढाउँदै लगेको छ । १० दिनमा भीमकाय अस्पताल ठड्याउने विषय हाम्रो सपनाको कुरा हो । तर, चीनले नियन्त्रणकै लागि अलग्गै अस्पताल बनाएर प्रशंसनीय कार्य गरिरहेको छ ।
त्यसैले चिनियाँ प्रयत्नको चौतर्फी प्रशंसा भइरहेको छ । ‘विश्व स्वास्थ्य आपतकाल’ घोषणा गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) स्वयंले चीनको प्रशंसा गरिरहेको छ । अमेरिकालगायतका देशले संकटका बेला सहानुभूति प्रकट गर्न कन्जुस्याइँ गरेको भन्दै चीनले चित्त दुखाएको छ । तैपनि अमेरिकालगायतका चीनप्रति अनुदार मानिने देशले रोग नियन्त्रणको चिनियाँ संयन्त्रप्रति मुख फोरेर कमजोरी औंल्याउन सकेका छैनन् ।
तैपनि चीनका लागि कोरोना संक्रमण पेचिलो बनेर खडा भएको छ । चाइना मर्निङ पोस्ट्का अनुसार, उपचारमा संलग्न चिकित्सकसहित १५ सय बढीको प्राण कोरोनाले लिइसकेको छ । त्यहाँ अझै ५० हजारभन्दा बढी संक्रमित रहेको समाचार प्रकाशमा आइरहेका छन् । संक्रमणदर बढिरहेकाले अझै कति यसको पासमा पर्ने हुन्स यकिन छैन । यहाँनिर हङकङको पब्लिक हेल्थ मेडिसिनका प्रोफेर गेब्रियल लेउको भनाइ मननीय हुन्छ । उनले बिहीबारमात्रै कोरोना भाइरसको रोकथाम विधि असफल भएमा विश्वभरका साढे चार करोड मानिसको मृत्यु हुने भन्दै विश्व समूदायलाई सचेत गराएका छन् । कोरोनाको मृत्युदर घटेर १ प्रतिशतमा झर्दा पनि यति ठूलो माननवीय क्षति हुने उनको आंकलन छ ।
चीनजस्तो शक्ति र सुविधासम्पन्न देशलाई हायलकायल र त्रसित बनाउने कोरोना भाइरस कम आँक्ने विषय किमार्थ हुँदै होइन । अझै हाम्रोजस्तो कमजोर स्वास्थ्य सेवा भएका देश यसप्रति सतर्क र चनाखो हुनैपर्छ ।
सरकारले कोरोना भित्रिन नदिन सतर्कता अपनाएको बताए पनि व्यवहारमा त्यस्तो देखिएको छैन । पहिलो त रोकथामको उपाय अपनाउनेतर्फ नै उसले ढंग पु¥याएको छैन । संक्रमण फैलन सक्ने भएपछि अमेरिका, अष्ट्रेलिया, इटलीलगायतका देशले उच्च सतर्कता अपनाएका छन् । चीनबाट आउने पर्यटकमाथि प्रतिबन्ध लगाइएको छ भने त्यहाँ रहेका नागरिकलाई फर्काएर क्वारेन्टाइनमा राखिएको छ ।
चीनभन्दा धेरै परका राष्ट्रले अपनाएको यो विधि हामीले अपनाउनुपर्ने थियो । तर सरकार प्रायः निदाएर बसेको अनुभूति पीडÞित र सरोकारवालाहरुले गर्न थालेका छन् । एक तथ्यांक अनुसार, कोरोना संक्रमण सुरु भएपछि पनि यसको इपिसेन्टर चीनबाट पर्यटकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिरहेका छन्, सामान्य रुघाखोकी परीक्षण गरेर । यो लापरबाहीको पराकाष्ठा हो । यसको जति नै निन्दा र आलोचना गरे पनि कम हुन्छ । आफूलाई जिताएर सत्ताको साँचो सुम्पिएका जनताप्रति नेकपा सरकार जिम्मेवार छ भने उसले विमानस्थलसँगै रोग भित्रिन सक्ने नाका तथा स्थानहरूमा निगरानी बढाउन अब बियालो गर्न हुँदैन ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बाबस्तीका १ सय बढी स्थानीयमा कोरोनाको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिका स्वयंले यसप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई रोग पहिचान गरिदिन पत्राचार नै गरेको छ ।
त्यहाँ देखिएका बिरामीमा कोरोना संक्रमण भएको नहोस् । तर, चीनसँग सीमाना जोडिएको क्षेत्र भएकाले शंकाको सुई कोरोनातर्फ सोझिएको छ र सोझिनु पनि पर्छ । कथंकदाचित त्यो कोरानाको संक्रमण भएमा त्यसले तबाह मच्चाउने भएकाले यसलाई सामान्यीकरण गरेर ढाकछोप मिल्दै मिल्दैन । तर, सरकार यसमा हदैसम्म गैरजिम्मेवार देखिएको छ । सञ्चारमाध्यमहरूले आफ्नो धर्म निर्वाह गरेर सचेत गराउँदा समेत ऊ हल्ला फैलाएको आरोप लगाएर त्यसप्रति नजरअन्दाज गरिरहेको छ । यो आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तै मुर्खतापूर्ण कार्य हो ।
त्यहाँको संक्रमण कोरोना भाइरस हो कि होइन भन्ने विषय परीक्षणपछि मात्रै भन्न सकिन्छ । बिना परीक्षण रोगको पहिचान गर्ने प्रविधि हुँदैन । तर, सरकार बिनापरीक्षण भन्दैछ कि त्यहाँ देखिएको बिरामी कोरोनाका होइनन् । यसमा जिम्मेवार सरकारी सञ्चारमाध्यमसमेत जनउत्तरदायित्वबाट पन्छेर सरकारको रक्षाकवच बनिरहेका छन् । प्रविधि हुँदा परीक्षण गरिएको २४ घण्टामा मात्रै रिपोर्ट आउने भए पनि नेपाल सरकारले त्यो हल्ला चल्नेबित्तिकै कसरी त्यो कोरोना होइन भन्ने पत्ता लगायो ? यो सरासर जनस्वास्थ्यमाथि गरिएको खेलबाड हो, हेलचक्र्याइँ हो, लापरबाही हो । कथम् कोरोना भाइरसले प्रकोपको रूप लिएमा त्यसले तबाह मच्चाउने भएकाले सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न प्रयोग गरेको अस्त्र यसमा प्रयोग गर्न हुँदैन । उसले आफ्नो दायित्व भुलेर अहिलेदेखि नै यसविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन लोकको हितमा हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies