-राजेश्वरी कार्की
काठमाडौं : महानगरपालिकाले मापदण्डविपरीतका होडिङ बोर्ड हटाउने अभियान तीव्र पारेको छ । सहरी सौन्दर्यता जोगाउने भन्दै घोषणा गरिएको अभियान लामो समय सुस्ताए पनि महानगरपालिकाले अगाडि बढाएको हो । काठमाडौँ महानगरपालिकाको सुन्दरता जोगाउन अभियानलाई तीव्रता दिइएको काठमाडौं महानगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए । गृह मन्त्रालयको गत पुस २१ को निर्देशनपछि महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका पर्चा, पम्प्लेट, बोर्ड, होर्डिङबोर्ड हटाउन सुरु गरेको उनले बताए ।
महानगरपालिकाका अनुसार, अभियानअन्तर्गत महानगरपालिकाले ठूला आकारका ३७ थान बोर्ड हटाएको छ । त्यस्तै ७ हजार ८ सय २ थान साना बोर्डहरू पनि १ महिनाको अवधिमा हटाइएका छन् । घरको भित्ता, झ्याल ढाकेर राखिएका साना बोर्डहरू हटाइएको हो । अभियानअन्तर्गत एयरपोर्ट, नयाँ बानेश्वर, बिजुली बजार, माइतीघर, थापाथली, त्रिपुरेश्वरक्षेत्रका होर्डिङ बोर्ड हटाइएको महानगर प्रहरी प्रमुख सापकोटा बताउँछन् ।
त्यस्तै, सोल्टीमोड, महाराजगञ्ज, कृष्ण पाउराटी, हात्तीसार, नागपोखरी, नारायणचौर, गैह्रीधारा, बालुवाटार हुँदै छाते ढुंगासम्म राखिएका नियमविपरीतका बोर्ड पनि महानगरपालिकाको सक्रियतापछि हटेका छन् । महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचारप्रसार सामग्री नियमन नीति २०७० ले महानगर क्षेत्रका सार्वजनिक स्थानमा अनधिकृत रूपमा बोर्ड राख्न नपाइने उल्लेख छ । नीतिमा बिजुलीको पोल तथा सडकछेउको फलामे पोल तथा सिमेन्टको पोलमा व्यावसायिक तथा फ्रेमसहितको व्यानर राख्न पनि प्रतिबन्ध गरिएको छ ।
महानगरले नियमविपरीतका यस्ता सामगी्र हटाएर आम्दानीसमते गरेको छ । यद्यपि, विज्ञापन रकमको दाँजोमा यो निकै कम छ । महानगरपालिकाका अनुसार, लिलामीबाट गत आर्थिक वर्षमा ५ लाख ७ हजार रुपैयाँको राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा भने लिलाम प्रक्रियाबाट ८६ हजार ५ सय रुपैयाँ संकलन भएको छ । होडिङ बोर्ड हटाएसँगै महानगरले अव डिजिटलबोर्ड राख्नेछ ।
डिजिटलबोर्ड राख्दा सहर सुन्दर देखिने भएकाले यो योजना अघि सारिएको सापकोटाले बताए । यो अभियान यसै वर्षभित्र सुरु हुने सापकोटाको जानकारी दिए । ‘होर्डिङबोर्ड हटाएपछि हामीले डिजिटल बोर्ड राख्ने योजना अघि सारेका छौं,’ सापकोटाले भने, ‘सम्भवतः यसै
वर्षभित्रबाट यो सुरु हुनेछ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies