राजन बस्नेत/मध्यान्ह
दोलखा : दोलखाका नागरिकहरुको चर्को दवाव र आन्दोलनपछि सडक निर्माण कार्य सुरु गरेको ठेकेदार सम्पर्क विहीन बनेपछि दोलखाका नागरिकले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखी मुडे हुँदै दोलखा सदरमुकाम चरिकोट सम्मको सडक विस्तार कार्य सुरु भएको तीन वर्ष वितिसक्दा पनि ठेकेदार कम्पनीको लापरवाहीका कारण सडक निर्माण कार्य ढिला भएपछि दोलखाका नागरिक समाजका अगुवाहरुले चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनका क्रममा मंगलबार दोलखाका नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी र जिल्ला स्थित क्रियासिल संघ संस्थाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया पश्चात छिटो सडक निर्माण गर्न दवावमुलक आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ भने सडक निर्माण कार्यलाई दवाव दिन संघर्ष समिति समेत गठन गरिएको छ ।
नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केको संयोजकत्वमा गठन गरिएको दवाव समुहको सह संयोजक सञ्चारकर्मी रमेश खतीवडा, सचिवमा सञ्चारकर्मी गोकर्ण भण्डारी र कोषाध्यक्षमा गणेश विक्रम शाहीलाई चयन गरिएको छ ।
संघर्ष समितिको तर्फबाट मंगलबार विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । घोषणा गरिएको आन्दोलनका कार्यक्रमहरुमा फागुन ११ गते सिन्धुपाल्चोकको डाँडापाखरमा रहेको आयोजनाको कार्यालयमा तालाबन्दी गर्ने, फागुन १२ गते विहान १ घण्टा सडक विभाग र आयोजना गाडी बन्द गर्ने, फागनु १४ गते विहान एक घण्टा र फागनु १६ गते विहान दुई घण्टा सदरमुकाम चरिकोटमा सरकारी गाडी चल्न नदिने, फागनु १८ गते थप दवावका लागि नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौंमा डेलिगेसन जाने निर्णय गरिएको सचीव गोकर्ण भन्डारीले मध्यान्हलाई जानकारी दिए ।
भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार आयोजनामा ढल तथा नालाको व्यवस्थापन सहित कालोपत्रे गर्ने योजना रहे पनि काम पूरा हुन सकेको छैन । नागरिक समाज संस्था र नागरिक अगुवाहरुको सक्रियतामा यसअघि खवरदारी सभा, सिठी जुलुस गरी डिभिजन सडक कार्यालय दोलखामा तालावन्दि समेत गरेका थिए ।
सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीका प्रमुखको फोटो जताततै टाँसेर विरोध सुरु गरेका नागरिकले सातदोबाटो चोकमा मानवसाङ्लो बनाई विरोध गर्ने तथा सिठी जुलुस गर्ने कार्यलाई निरन्तरता दिएका थिए । मानवसाङ्लो बनाएर शंकरमाली निर्माण सेवाका ठेकेदार दिपक सापकोटाविरुद्ध प्रदर्शन समेत गरिएको थियो ।
ठेकेदारले अब पनि काम सुरु नगरे रचनात्मक विरोधका थप कार्यक्रम आयोजन गरिने नागरिक अगुवा रमेश खतिवडाले जानकारी दिए । यसअघि नागरिक समाजका अगुवाहरुले सोही ठेकेदारको फोटो सार्वजनिक सवारी साधनमा टाँसेर विरोध प्रदर्शन गरेका थिए । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले चार वर्ष वितिसक्दा समेत पनि कालोपत्रे नगरेकोले ठेकेदारलाई नैतिक दबाव दिन दोलखाका नागरिकले सार्वजनिक तथा निजी सवारी साधनमा काम नगर्ने ठेकेदारको फोटो टाँसी विरोध गरेका थिए ।
दोलखा सहित सिन्धुपाल्चोक र रामेछाप गरी तीन जिल्लाका यात्रुले प्रयोग गर्ने खाडीचौर–चरिकोट सडकको विभिन्न खण्डमा ठूला–ठूला खाल्डा तथा धुलाम्मे हुँदा दैनिक हजारौं यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्नु परिरहेको छ ।
दैनिक हजारौं यात्रुको ज्यान जोखिममा पर्नुका साथै पर्यटन व्यवसाय ठप्प बनेको र अत्यावश्यक सामग्री आयातमा चरम कठिनाई भोग्नु परेपछि नागरिक सडकमा उत्रेका हुन् । मुडे–चरिकोट सडक खण्डको ३० किलोमिटर सडक दुई लेनको कालोपत्रे सहित दुई वर्षमा सक्ने गरी २०७२ भदौमा सम्झौता भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies