-नवराज पराजुली
बुवा
नदीले बालुवा बुनेर बनाएको गुन्द्रीमा बसेर मैले
पानी बनेर बगेको समय नियालिरहँदा
जब नदीले अनौठो गरि स्वाँक्क्क् गरेको सुन्छु
तब त्यो नदीको बगिरहेको पानीमाथि
म तपाईंको मधुरो छाया देख्छु,
र देख्छु
भेटेजति सबैथोक बगाउदै आएको नदीले पनि
बगाउन सकिरहेको हुँदैन तपाईंको छाया
म पानीलाई अलि नियाल्छु
र देख्छु स्
भर्खरै आँफैले लगाएको हिलो आलीमा
तपाईं गलेर थचक्क बस्नुभएकोछ,
आफ्नो जिउजस्तै बाङ्गिएको कोदालीको बींडमा निथ्रुक्क भिजेको चीउड़ो अड्याउनुभएकोछ
म आँखा चिम्सा पार्दै
पानीलाई अझै नियालेर हेर्छु
र देख्छु स्
ढलेको धोद्रो रुखजस्तै तपाईंको सुख्खा मुख
आँक्क्क् गरिरहेकोछ,
अनि पो झसङ्ग हुन्छु म
नदीको त्यो अनौठो आवाज त
तपाईं पो निकालिरहनुभएको रहेछ ।
बुबा
तपाईंले आजसम्म चुहाएको
जम्मै पसिना जम्मा गरेर
एक्कैपटकमा छ्यापिदिने हो भने
सुर्य चिस्याउन पर्याप्त हुँदो हो
तपाइको हातले पहाड उचाल्न सक्ने उमेर देखि
त्यहि पहाडबाट बग्दै आएको पानी
आफ्नो अन्जुलीमा अड्याउनसम्म नसक्ने उमेरसम्म
तपाईको हत्केला
हलोको अनोसँग रगडिदा रगडिदा
हलोको अनोमै छापिईसके होला है बुबा
तपाईका हातका भाग्य रेखाहरु ?
म चाडै आउदैछु बुबा
तपाइंको त्यो छातीमा निदाउन
जुन छातीको एक पलको निन्द्रा नै काफी छ
एक युगको सपना देख्नलाई
तपाइंले हजारौं डोका चिसो मल बोक्नुभयो
ताकि मैले सधैं पेटमा तातो चामल बोक्न सकूँ,
तपाइंले सधैं सखुवाका चिसा ठुटा फुटाउनुभयो
ताकि कहिल्यै चिसोले मेरा गाला नफुटाओस्,
फुटेका देख्थें तपाईका ओठ
बन्चरोको चोट नमिलेर
झिँजैझिँजा भएको दाउराजस्तै
तर मेरा आँखाले तपाइको ओठको मुस्कान फुटेको कहिल्यै देखेनन्,
कैले खन्न भ्याउनुभो बुबा
लाखौं डोका मुस्कान अटाउने त्यत्रो ठुलो मनखाडी ?
म चाडै आउदैछु बुबा
तपाईका ती आँखा नियाल्न
जुन आँखाभित्रको ब्रह्माण्ड
अर्जुनले कृष्णको मुखभित्र पनि देखेका थिएनन
समयका गोरुहरुलाइ फाली लागेको बेला पनि
तपाईंले
मेरो भविष्य रोप्नका लागि
आकाशभरिको मेलो उठाईदिनुभएछ है बुबा
त्यसैले त आजभोलि म
जिन्दगीका डोकाहरुमा
पाकेका ताराहरु टिपिरहेछु
सानोमा दिदी र मलाई
तपाईंले सिङ्गासिङ्गै पेन्सिल किनिदिन नसक्दा
काटेर एउटै पेन्सिल
तपाईंले
दिदीलाई संधै मेट्ने नभएको तल्लो भाग
र मलाई सँधै मेट्ने भएको माथिल्लो भाग दिनुहुन्थ्यो,
तपाईंलाई त्यतिखेरै थाहा रैछ है बुबा
मैले भविष्यमा धेरै गल्तीहरु गर्नेछु भन्ने
म चाँडै आउनेछु बुबा
तपाईंका ती सिलोकहरु सुन्न
जुन सिलोकको ध्वनि सुनेर
मेरा कानले सुन्न सिकेका हुन्
तपैले एक्लै बोकेर सार्नु भएथ्यो रे
धमीराको देवल संग मीत लगाएको हाम्रो घरलाई
दुखनगर बाट
आशानगर सम्म,
फुटेको थियो रे तपाइंको काध
मैले लेख्ने ग्राफ कापीका धर्का फुटे झैं
कहाँ बाट ल्याउनुहुन्थ्यो बुबा
सबैको दुख उचाल्ने त्यत्रो बल ?
बलबान छाप खैनी बाट ?
म चाडै आउनेछु बुबा
तपाइंको त्यो काँधमा गाला राख्न
जुन काधमा कुनैदिन म बसेर
मैले मेरो खुट्टा हल्लाउदा थाहा पाएको थिएँ कि
यदि सधैंभरी म संग मेरो बुबाको काँध हुनेभए
म सधैंभरी गाउँभरिकै सबैभन्दा अग्लो मान्छे हुनेथिएँ
बुबा
म सानो हुँदा मेरो लागि
बिचमा बदाम भएको बिस्कुट र एउटा रातो बरफ किन्न
तपाइँ संग पैसा नहुँदा
तपाइले आफ्नो भित्री गोजीको गोजिपात्रोभित्र
दुंबो राख्नु भएको
रु १ को नया नोट पनि बेच्नुभएकोथियो,
कहाँ बाट आयो बुबा तपाईंसंग
त्यागको त्यत्रो ठुलो छाती ?
कतै तपाईं दधिची ऋषिको पुनर्जन्म त होइन ??
म चाडै आउदैछु बुबा
तपाईलाई ञबुबाझ शिर्षकको यो कविता सुनाउन
किनकि
बुबा आँफैमा जीवनको पहिलो कविता हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies