काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पताललाई पनि कोरोना संक्रमित बिरामीको उपचार गर्न आदेश दिएको छ । न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले आज आम मानिसलाई महामारीबाट जोगाउनका लागि स्वास्थोपचार उपलब्ध गराउने जिम्मेवारी निजी अस्पतालको पनि रहेको भन्दै उपचार गर्नबाट पन्छिन नमिल्ने आदेश दिएको हो ।
अदालतले निजी स्वास्थ्य संस्थामा उपलब्ध भए सम्मको शैय्या, आईसियु कक्ष, भ्यान्टिलेटर लगायत कोरोना भाईरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।
आदेशमा निजी अस्पतालले उपचार गर्न अस्वीकार गर्नुको कारण १५ दिनभित्र पेश गर्न पनि भनिएको छ । अदालतले स्वास्थ्य सेवा, औषधि उत्पादन र दैनिक उपभोग्य बस्तुको उत्पादन र वितरणमा सग्लनका लागि ब्यक्तिगत सुरक्षा सामाग्रीको यथोचित ब्यवस्था गर्न पनि आदेश दिएको छ ।
अधिवक्ता पुष्पराज पौडेल लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो । महामारीलाई नियन्त्रण गरी जनताको जीवन र स्वास्थ्य सुरक्षाको लागि राज्य संयन्त्रको अधिकतम प्रयोग गर्न अदालतले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको ध्यानाकर्षण पनि गराएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies