२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

हामी कस्ता देशका नागरिक ?

ADV
२०८१ माघ २ गते ०६:१०
हामी कस्ता देशका नागरिक ?

–ईश्वरी पोखरेल

मुलुकभित्रको परिपाटी अनौठो छ । कुनै राजनीतिक दलको नेता तथा सक्रिय कार्यकर्ता हुनका लागि पार्टीका शीर्षस्थ नेताहरूको विशेष निगाह अनिवार्य छ । संगठनमा टिक्न र कब्जा जमाउन विवेक बन्धक राखी दास र बुख्याचा हुनुपर्ने अवस्था छ । 

निर्वाचित सांसद तथा स्थानीय जनप्रतिनिधि बन्ने उम्मेदवारको टिकट प्राप्त गर्न नै पार्टीका नेताको आफन्त हुनुपर्ने वा तिनलाई मनग्य आर्थिक लगानी गरी पद किन्न सक्ने हैसियतको योग्यता अनिवार्य ठानिने अवस्था छ ।

प्रतिनिधिसभा, प्रदेशसभाको समानुपातिक सांसद बन्नका लागि पार्टीका शीर्षस्थ नेताहरूका परिवारका सदस्य, प्रेमी, प्रेमिका, नातागोता, पार्टीभित्रको कुनै गुट–उपगुटको नेतृत्वको शक्ति र आशीर्वाद हुनुपर्ने स्थिति बनाइएको छ । प्रतिनिधिसभा, प्रदेशसभाको समानुपातिक सांसद बन्न पार्टी र नेताका लागि विश्वासिलो आर्थिक सहयोगी तथा बजार मूल्यमा पदअनुसार उच्च बोल–कबोल गर्ने र कुनै सिद्धान्त, विचार वा दृष्टिकोण नभएको तथा वैयक्तिक स्वार्थमा पार्टी वा गुट फेर बदल गर्न खप्पिस पल्टुरामको योग्यता चाहिने अवस्था छ ।

आज नेताको चाकरीबाट दासको पूर्ण भूमिका निर्वाह गरी आफूले प्रतिनिधित्व गर्ने वर्ग, समूह, समुदाय र जात, लिंगप्रति गद्दारी गर्न सक्ने र जसरी पनि सरकारी लाभको पद हत्याएर लोगो र हस्ताक्षरको मोलमोलाइको योग्यता चाहिने बनाइएको छ ।

राजनीतिक अधिकार र अनुशासनको पालनाको कुरा गर्दा सहभागितामूलक बैठक, धारणा राखी छलफल गर्ने प्रणाली दल, पार्टीहरूमा बिरलै हुने गरेको तर माथिल्ला निकाय र नेताहरूप्रति सार्वजनिक रूपमा संचार माध्यमबाट कुनै प्रश्न सोध्न नपाइने र उल्लंघन गरेमा कारबाहीको दण्ड (राजनीतिक हत्या) चलाउने परिपाटी स्थापित छ ।

राजनीतिक दल, पार्टीमा आबद्ध भुइँ तहका कार्यकर्ता र समर्थकहरूले चाहिँ केन्द्र र शीर्षस्थ नेताको आदेश र निर्देशन मात्र पालना गर्नुपर्ने र कुनै जिज्ञासा वा प्रश्न गर्न नहुने निरंकुशतन्त्र पार्टीहरूमा चलाइएको र बुख्याचा भए कुनै पनि अपराधबाट मुक्त गर्ने संयन्त्रको व्यवस्था मिलाइएको छ । 

निश्चित व्यक्तिबाहेक सबैलाई निर्णयमा सहभागिता नगराइने र अपारदर्शिताका कारण पार्टीहरूमा जति माथिको नेता र पद, उति आफूखुसी मनोमानी गर्न पाइने अवस्था छ । साथै, तिनका आसेपासेले देश लुट्न पाइने अवस्था बनेको, तिनै स्वार्थी र बिचौलियाहरूले नेतृत्वलाई उचित, अनुचित आर्थिक लाभमा पु¥याएको र देवत्वकरणमा पुराएर पार्टी र नेतृत्वलाई नै पूर्ण भ्रष्ट गर्न सक्ने क्षमता भएका व्यक्तिहरू नै शीर्षस्थ नेताहरूको रोजाइमा पर्ने अवस्था छ ।

राजनीतिक दल, पार्टीका शीर्षस्थ नेतृत्वको निकटता र शक्तिका आडमा राज्यका अंग, प्रत्यंग र संयन्त्र जतासुकै बिचौलियाबाट शासन, प्रशासनमा दबदबा गर्न र आफूसम्म मात्र अधिकार विकेन्द्रीकरण तर त्योभन्दा तल अधिकार दिनु अराजकताको तर्क गर्ने क्षमता मन्त्री, प्रशासकमा हुनुपर्ने अवस्था छ ।

त्यस्तै, विविध कारणले नेपालका कुनै पनि राजनीतिक दलका शीर्षस्थ नेतृत्व जिम्मेवार पदमा भएका बेला उनलाई प्रत्यक्ष जानकारी दिएर, सहभागी गराएर वा नगराएर होस्, तिनका सचिवालय, सचिव, स्वकीय सचिव, निकटका दलीय ट्रेड युनियन आबद्ध कर्मचारीहरूले देशलाई कसरी लुटे र नेतृत्व विवादमा परे ? ती विवरणहरू क्रमशः एक होइन, अनेकौं जगजाहेर हुँदै छन् ।

राजनीतिक दल, पार्टी र तिनका शीर्षस्थ नेताहरूको वैयक्तिक स्वार्थ र निकम्मापनले गर्दा सुरक्षा निकाय, अदालती न्यायिक प्रक्रियासमेत प्रभावित रहेका र जेनतेन कुनै कारणले हुन पुगेका फैसला पनि कार्यान्वयनमा उदासीनता छ । देशमा जतासुकै अराजकता र भ्रष्टाचार, लुटतन्त्र र कुशासन मौलाएको छ ।

दलाल, बिचौलिया र भ्रष्ट, अनैतिक, दुराचारी, नेताहरू, प्रशासकहरू, शैक्षिक माफियाहरू, उद्योगीहरू, व्यवसायीहरूलगायतको कब्जामा मुलुकलाई पुर्‍याउने अपराध राजनीतिक दल र तिनका नेताहरूकै सहभागिता र संरक्षणमा हुने गरेको आमजनताको निचोड पाइन्छ । यसले समग्र राज्य प्रणाली र संयन्त्र तथा ठूलो बलिदानी साथ प्राप्त गणतन्त्रात्मक व्यवस्थाप्रति नै निराशा र आक्रोश बढाएको छ । 

समग्रमा यी माथि उल्लेख गरिएका विकृति, विसंगतिविरुद्ध राजनीतिक शुद्धीकरणको मुद्दा कसरी अगाडि बढाउने ? मुख्य चुनौती मुलुक सामु छ । सबैलाई चेतना भया !

ADVADV

सम्बन्धित खबर

Advertise