रियाद, साउदी अरेबिया : साउदी अरेबियाले एक्जिट वा पुनः प्रवेश भिसा लिएका तर म्याद सकिनुअघि फर्कन नसकेका विदेशी कामदारमाथि लगाइएको ३ वर्षको प्रतिबन्ध खारेज गरेको छ ।
साउदी अरेबियाको राहदानी निर्देशनालयले विभिन्न विभाग, प्रवेश बिन्दु, एयरलाइन्स र ट्रान्जिट टर्मिनलहरूलाई प्रतिबन्ध उल्टाउँदै त्यस्ता कामदारहरूलाई प्रवेश गर्न अनुमति दिन सूचित गरेको छ ।
नयाँ निर्णय मंगलबारदेखि लागू भएको छ । एक्जिट/पुनः प्रवेश भिसा लिएर साउदी अरेबिया छाडेर ३ वर्ष बितिसक्दा आफ्नो वैध अवधिभित्र नफर्केका आप्रवासीलाई पुनः प्रवेशमा रोक लगाउने प्रतिबन्ध हटाइएको साउदी राहदानी निर्देशनालयले जनाएको छ ।
विज्ञहरूले यो निर्णय साउदी अधिकारीहरूले श्रम र लगानीको वातावरणमा ल्याएका लगातार सुधारहरूको हिस्सा भएको बताएका छन् ।