२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

आगोको त्रासदीमा अमेरिका

ADV
मध्यान्ह
२०८१ माघ २ गते ०६:३५
आगोको त्रासदीमा अमेरिका

क्यालिफोर्निया : संयुक्त अमेरिकाको क्यालिफोर्निया राज्य आगोले जलेको छ । ५ जनवरीदेखि सल्केको डढेलो अझै नियन्त्रणमा आएको छैन । डढेलो नियन्त्रण गर्ने प्रयास जारी छ ।

आगोमा अहिलेसम्म २४ जनाले ज्यान गुमाइसकेका छन् भने लाखौं विस्थापित भएका छन् । लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको संख्या २४ पुगेको पुष्टि गरेका छन् । आगलागीमा १६ जना बेपत्ता भएका जनाइएको छ ।

केही दिन हावाको गति केही कम भए पनि पुनः तीव्र गतिमा हावा चलिरहेको छ । प्रतिघण्टा ६० माइलको दरले हावा चलिरहेको छ, जसका कारण डढेलो धेरै भूभागमा फैलिइरहेको छ ।

अमेरिकी संचार माध्यमहरूका अनुसार डढेलोले १० हजारभन्दा बढी घर तथा अन्य संरचना ध्वस्त पारिसकेको छ ।

हाल कम्तीमा ६ स्थानमा डढेलो फैलिइसकेको छ । तीमध्ये सबैभन्दा ठूलो डढेलो पालिसेड्स क्षेत्रमा छ । त्यस्तै, इटन, केनेथ, आर्चर, हस्र्ट, लिडियालगायत स्थानका करिब ३८ हजार एकड क्षेत्र जलिरहेको छ ।

अधिकारीहरूका अनुसार डढेलोले १२ हजारभन्दा बढी घर तथा अन्य संरचना नष्ट पारिसकेको छ । डढेलोले ६० वर्ग माइलभन्दा बढी क्षेत्रफल जलेको र हजारौं मानिसहरूलाई विस्थापित गरेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

लस एन्जलसमा धुवाँ र खरानीका कारण हावाको गुणस्तर खराब भएको छ । लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपत्काल घोषणा गरेका छन् । वायुको गुणस्तर निकै प्रदूषित रहेको अधिकारीहरूले बताएका छन् । खरानीका सूक्ष्म कण र धुवाँले आकाश ढाकिएको छ । प्रशासनले मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ ।

प्यालिसेड्स क्षेत्रमा कम्तीमा २३ हजार ६०० एकडभन्दा धेरै क्षेत्रमा डढेलो फैलिएको छ । 

राष्ट्रिय मौसम सेवाले बुधबारसम्म लस एन्जलस र भेन्चुरा काउन्टीमा डढेलोको गम्भीर जोखिम कायमै रहने चेतावनी दिएको छ । आगलागीका कारण लस एन्जलसमा विद्युत् आपूर्ति बन्द छ । लस एन्जलसका करिब ३५ हजार घर बिजुलीविहीन छन् । 

२७० अर्ब अमेरिकी डलरको क्षति

मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमान गरेको विवरण आएको छ । कम्पनीले आगोबाट करिब २७० अर्ब अमेरिकी डलरसम्मको क्षति भएको अनुमान गरेको छ । 

हालसम्म सयौं घर र गाडीहरू जलेका छन् । एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् । हावाहुरीले रूखहरू ढलेका छन् ।

कसरी फैलियो डढेलो ?

क्यालिफोर्निया डिपार्टमेन्ट अफ फरेस्ट्री एन्ड फायर प्रोटेक्सन (क्याल फायर)का अनुसार पहिलो आगलागी लस एन्जलसको छिमेक प्यासिफिक प्यालिसेड्सबाट सुरु भएको थियो । 

हालको डढेलो क्यालिफोर्नियाको इतिहासको सबैभन्दा ठूलोमध्येको एक भनिएको छ । यद्यपि, यो डढेलो लाग्नुको कारण भने पत्ता लागेको छैन ।

अनुसन्धानकर्ताहरूले डढेलोको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन् । डढेलोको अनुकूल अवस्था सिर्जना हुनुमा भने धेरै कारणहरू रहेका विभिन्न संचार माध्यमहरूले बताउँदै आएका छन् ।

क्यालिफोर्नियामा सामान्यतया जुन र जुलाई महिनामा डढेलो लाग्ने गर्छ । तर, यस वर्ष हिउँदको सबैभन्दा जाडो हुने महिना जनवरीमै डढेलो लागेको छ । हाल डढेलो लागेको दक्षिण क्यालिफोर्नियामा लगातार खडेरी छ । त्यहाँ महिनौंदेखि वर्षा भएको छैन ।

अमेरिकाको इन्भाइरोमेन्टल प्रोटेक्सन एजेन्सी (इपीए)को रिपोर्टका अनुसार जलवायु परिवर्तनले धेरै क्षेत्रमा डढेलो फैलाउन र डढेलोको संख्या बढाउन योगदान गरेको छ । 

विज्ञहरूले यस वर्षको मौसम अवस्था अझ खराब हुने चेतावनी पनि दिएका छन् । अमेरिकी संचार माध्यमहरूका अनुसार डढेलो नियन्त्रणलाई सघाउन अमेरिकाका अन्य राज्यका अग्निनियन्त्रक र अन्य देशका अग्निनियन्त्रकहरू पनि क्यालिफोर्निया पुगेका छन् ।

हलिउड ठप्प

डढेलोकै कारण हलिउडका केही भागहरू पनि ठप्प भएका छन् । ओस्कार मनोनयन, क्रिटिक्स च्वाइस अवार्ड तथा धेरै चलचित्र प्रिमियरहरू स्थगित भएका छन् । डिज्नीले आफ्नो मुख्यालय बन्द गरेको छ । 

डढेलोले हलिउड फिल्मसँग सम्बन्धित थुप्रै संरचनाहरूमा पनि क्षति पुगेको छ ।

पानी अभाव

डढेलो नियन्त्रणको क्रममा पानीको अभावका कारण ठूलो चुनौती सामना गर्नुपरेको छ । विशेषगरी प्यालिसेड्स क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा पानीको अभाव भएको छ ।

अधिकारीहरूका अनुसार हाइल्यान्ड्स जस्ता उचाइको क्षेत्रको लागि पानी भण्डारण गर्ने ट्यांकीहरू र तिनमा पानी पठाउने पम्पिङ प्रणालीहरूबीचको तालमेल नमिल्दा पानीको अभाव भएको हो ।

लस एन्जलसको जल विभागका प्रमुख कार्यकारी अधिकृत जनिस किनोनेसका अनुसार सामान्यभन्दा ४ गुणा बढी माग भएको कारण पानी आपूर्ति व्यवस्थापनमा समस्या देखिएको छ । 

यसअघि सन् २०१८ मा क्यालिफोर्नियाको प्याराडाइज शहरमा लागेको ‘क्याम्प फायर’ १ लाख ५० हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको थियो । यो क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा घातक डढेलो मानिन्छ । डढेलोमा शहरको ९५ प्रतिशत भाग जलेको थियो ।

त्यस्तै, २०१८ नोभेम्बरमा लागेको डढेलोमा ८५ जनाको मृत्यु भएको थियो भने झण्डै १९ हजार भवन र संरचनाहरू नष्ट भएका थिए । यो डढेलो १७ दिनपछि नियन्त्रणमा आएको थियो ।

यसैगरी, २०२१ जुलाईमा लागेको डिक्सी फायरले बुट, लासेन, प्लुमास, सास्ता र तेहामा काउन्टी क्षेत्र गरी ९ लाख ६३ हजार ३०९ एकडमा क्षेत्र फैलिएको थियो । यो डढेलो १०४ दिनसम्म लम्बिएको थियो । 

सन् २०१८ जुलाईमा लागेको मेडोसिनो कम्प्लेक्स फायर मेडोसिनो, लेक, कोलुसा र ग्लेन काउन्टी गरी कुल ४ लाख ५९ हजार २३ एकड क्षेत्रमा फैलिएको थियो । यो डढेलोले २८० संरचना नष्ट गरेको थियो । सन् २०१८ कै नोभेम्बरमा लागेको वुल्सी फायर भेन्चुरा र लस एन्जलस काउन्टीहरूमा फैलिएको थियो । यो डढेलोले १ हजार ६४३ संरचना नष्ट भएका थिए भने ८८३ जनाको मृत्यु भएको थियो ।

गुलाबी वर्षा !

आगो नियन्त्रण गर्न विमानहरूबाट आगोमाथि गुलाबी रङको तरल पदार्थको वर्षा गराइएको छ । यो आगो निरोधक अर्थात् आगो वा जल्ने प्रक्रियालाई ढिलो बनाउने पदार्थ हो । यो गुलाबी पदार्थ पानी, नुन (रसायन) र मलको मिश्रण हो । यसमा मूलतः अमोनियम फोस्फेट भएको घोल हुन्छ ।

आगो जल्न अक्सिजन चाहिन्छ तर यो रासायनिक मिश्रणले आगोमा अक्सिजन आपूर्ति रोक्छ । यो अमोनियम पोलिफोस्फेट जस्ता लवण (रसायन)बाट बनेको हुन्छ, जुन पानी जस्तै सजिलै वाष्पीकरण हुँदैन तर लामो समयसम्म सतहमा रहन्छ ।

यसले गर्दा सतहमा जहाँ आगो हुन्छ, त्यहाँ अक्सिजन आपूर्ति हुन सक्दैन र आगोको ज्वाला सुस्त हुन्छ । यसरी यो तरल पदार्थले आगो फैलिनबाट रोक्न काम गर्छ ।

आगो निभाउन प्रयोग गरिने यो रसायन गुलाबी रङको हुन्छ । अग्निनियन्त्रकहरूले यो कहाँ प्रयोग गरिएको हो पहिचान गर्न सजिलो होस् भनेर यसमा रङ दिइएको हो । यो रसायनले मानिस र वातावरणमा प्रतिकूल असर पार्ने भन्दै यो प्रविधि पनि विवादास्पद छ ।

ADVADV

सम्बन्धित खबर

Advertise