काठमाडौं : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउन कारण प्रत्यक्ष मारमा परेकाहरुको सहयोगमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवर सक्रिय छन् । लकडाउन लागू भएपछि नै दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका मज्दुर, आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्गका परिवारलगायतलाई निजी खर्चमा राहत स्वरुप खाद्यान्न वितरण गर्ने कार्यमा सदस्य कुँवर अघि सरेका छन् ।
बिहीबार सदस्य कुँवरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १ सय १० परिवारलाई राहत वितरण गरे । उनले आवश्यक परे आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । ‘विश्वव्यापी यो असहज स्थितिको चाँदै अन्त्य होस् भन्ने कामना गर्न चाहन्छु । कसैले पनि यस्तो स्थितिको सामना गर्नु नपरोस् । तर, परि आएको खण्डमा सक्दो सहयोग गर्न पछि हट्दिन’– सदस्य कुँवरले भने ।
उनले यसअघि कीर्तिपुरका दृष्टिविहीन, काठमाडौंका विभिन्न मठ मन्दिरका साधु सन्त, विरामी कुरुवा, मजदुर, अपाङ, सरसफाइमा खटिएका कर्मचारी, भारतीय मजदुर, विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । अध्ययनका लागि काठमाडौंमा रहेका सुदूरपश्चिम प्रदेशका कैयौं विद्यार्थीलाई उनले राहत उपलब्ध गराए । कुँवर सुदूरपश्चिमको अछाम जिल्ला निवासी हुन् ।
गत चैत १२ गते सुदूरपश्चिममा पहिलो कोरोना भाइरस संक्रमित भेटिएपछि संकलन गरिएको अन्य सम्भावित ७० जना भन्दा बढीको स्वाब जोखिम मोलेर आफ्नै गाडीमा परिक्षणका लागि काठमाडौं ल्याएका थिए । उनले लक्षित वर्गलाई वितरण गर्न केहि संस्थालाई आर्थिक र खाद्य सामाग्री पनि प्रदान गरेका थिए । राहत सामाग्री वितरण गर्दा धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले लक्षित वर्ग बस्ने घरमै गएर कुँवरले राहत वितरण गर्दै आएका छन् ।
उनले गृह जिल्ला अछामको बेयलपाटास्थित न्याय हेल्थ नेपाललाई स्वास्थ्य मन्त्रालयको सहकार्यमा स्वास्थ्य सामाग्री दिने तयारी पनि गरिरहेको जानकारी गराए । उनका अनुसार १० थान ज्वोरो नाप्ने थर्मगन, १ सय थान केएन ९५ मास्क, १ सय थान पीपीई सेट, १० हजार थान सर्जिकल मास्क, १० हजार थान पन्जा र २ सय लिटर सेनिटाइजर न्याय हेल्थ नेपाललाई उपलब्ध गराइने छ । यी सामाग्री पनि कुँवरले आफ्नै खर्चमा उपलब्ध गराउन लागेका हुन् । सामाग्री दिन कुँवर सोमबार काठमाडौंबाट अछाम जाँदै छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies