–श्रीरामसिंह बस्नेत
नेपालमा भूकम्प दिवस मनाउन थालिएको पनि २६ वर्ष पूरा भइसकेको छ । २०५५ सालमा पहिलो पटक भूकम्प सुरक्षा दिवस मनाइएको थियो । दिवस मनाएयता नेपालमा धेरै कम्प र परकम्पहरू आइसकेका छन् । त्यसैले अब भूकम्प कसैका लागि पनि ‘दैवको लीला’ रहेन ।
केही वर्षअघिसम्म पनि नेपालमा प्रकोपलाई दैवको दोष मान्ने चलन थियो । त्यसैले प्रकोपसम्बन्धी ऐनको नाम नै दैवी प्रकोप ऐन राखिएको थियो । तर, अब पुराना सोच र शैलीमा केही परिवर्तन आइसकेको छ ।
भूकम्प सुरक्षा दिवस मनाउनुको सबैभन्दा ठूलो औचित्य र उपलब्धि भूकम्पीय सुरक्षाप्रति व्यापक जनचेतना जागृत गराउनु र सम्बन्धित निकायहरूलाई झक्झकाउनु हो ।
यो दिवसको पृष्ठभूमि २ माघ १९९० को महाभूकम्पलाई मान्नुको कारण अहिलेसम्म नेपालमा आएका भूकम्पमध्ये सबैभन्दा शक्तिशालीको भूकम्प भएको र यसको राजनीतिक, सामाजिक र आर्थिक प्रभाव व्यापक हुनु हो । कतिपयलाई ९० सालको भूकम्पको राजनीतिक प्रभाव के होला र ? भन्ने लाग्न सक्छ । तर, यथार्थ फरक छ ।
उक्त महाभूकम्प आउँदा नेपाल ८७ वर्षअघिदेखि जहानियाँ एकतन्त्रीय राणा शासनमा जकडिएको थियो, जसमा न नागरिक अधिकार थियो, न त नागरिकहरूलाई नै आफ्नो क्षमताबारे कुनै अन्दाज थियो । त्यतिखेर सबैजसो आफ्नै भाग्यलाई दोष दिँदै पशुतुल्य जीवन बिताइरहेको थिए ।
त्यस्तो अवस्थामा महाभूकम्पले यस्तो हलचल ल्याइदियो कि त्यसले जमिन मात्र हल्लाएन, जनताको सोच्ने र गर्ने शक्तिलाई समेत हल्लाएर ब्युँताइदियो ।
आपत्को अवस्थामा संगठित भएर निःस्वार्थ भावले काम गरेमा जस्तोसुकै ठूलो काम पनि गर्न सकिँदो रहेछ भन्ने तत्त्वज्ञान महाभूकम्पले ल्याएको विनाशपछि उद्धार र राहत कार्यमा अहोरात्र खटिएका नेपालीहरूले पहिलो पटक बुझे । साथै, भूकम्पपछि विचलित भएका जनमानसलाई सान्त्वना दिन प्रेरणादायी प्रवचनहरू पनि थालियो ।
मानिसहरू आपसमा सरसल्लाह, छलफल गर्ने गर्न थाले । नत्र त राणाका जासुसहरूले दुःख दिन्छन् भनेर भित्ताको पनि कान हुन्छ, बोल्न हुँदैन भनेर कुरा गर्नै डराउँथे । महाभूकम्पपछि उत्पन्न जटिल परिस्थितिले त्यो डर भगाइदियो ।
भूकम्प सुरक्षा दिवस मनाउने प्रचलन सुरु नहुँदासम्म पुराना पुस्ताका नेपालीका लागि २ माघ १९९० एउटा बिर्सनै नसकिने घटनामा सीमित थियो भने नयाँ पुस्ताका लागि त्यो भूकम्प कुनै दन्त्यकथा जस्तो मात्र थियो किनकि त्यसबाट कुनै पाठ सिकेर समुदायलाई भूकम्पीय सुरक्षातर्फ क्रियाशील बनाउने काम न कुनै राज्यस्तरबाट भएको थियो, न जनस्तरबाट । सबै भगवान् भरोसामा थिए ।
२ माघ २०५५ देखि सार्वजनिक रूपमै भूकम्प सुरक्षा दिवस मनाउन थालिएपछि सबैको ध्यान भूकम्पप्रति आकृष्ट भयो र भूकम्प घरघरको र टोलटोलको चर्चाको विषय बन्यो ।
अहिलेसम्म देश र विदेशमा गएका भूकम्पहरूले सिकाएको एउटै पाठ के हो भने, भूकम्प आफैंले मान्छे मार्दैन तर भूकम्पले भत्काएका कमजोर संरचनाहरूले मान्छे मार्छ भन्ने नै हो । तसर्थ, हरेक संरचना बलियो बनाउनु पहिलो काम हो ।
तर, हामीकहाँ अझै पनि किफायतको नाममा, कानुन मिचे ठूलो मानिन्छ बनिन्छ भन्ने भ्रममा, मुनाफा बढी कमाउने लालचमा सार्वजनिक निर्माण कम गुणस्तरको बनाउनेलगायत धेरै कारणहरूले संरचना जति बलियो बनाइनुपर्ने हो, त्यसो हुन सकिरहेको छैन । यसमा कतिपय नीतिगत कमीकमजोरी पनि छन् भने कतिपय नियतगत् ।
बलियो संरचनाको सन्दर्भमा अर्को महत्त्वपूर्ण पाटो हो प्रबलीकरण अर्थात् रेट्रोफिट । नयाँ संरचना निर्माणको प्रारम्भदेखि नै तोकिएको मापदण्डअनुसार निर्माण गरेर संरचनालाई बलियो बनाउनुपर्छ भने पहिले नै बनिसकेका संरचनाहरूलाई प्रबलीकरण प्रविधिको माध्यमबाट बलियो बनाउन सकिन्छ । प्रबलीकरण कति भरपर्दो प्रविधि हो भन्ने तथ्यल(ाई २०७२ वैशाखको गोरखा भूकम्पले स्पष्टसँग प्रमाणित गरिसकेको छ ।
त्यो भूकम्प आउनुभन्दा केही वर्ष अगावै प्रबलीकरण गरिएका विशेषगरी केही सरकारी विद्यालय भवनहरूलाई गोरखा भूकम्पले क्षति नगरेको तर प्रबलीकरण नगरिएका विद्यालय भवनहरू भने धेरै भग्नावशेषमा परिणत भएका उदाहरण हामीसँग छन् ।
तसर्थ, नयाँ निर्माण गरिने संरचना मात्र होइन, पुराना संरचनाहरूलाई बेलैमा प्रबलीकरण गरी सुरक्षित पार्नु पनि त्यति नै जरुरी छ । यो सत्यलाई मनन गर्दै नेपालमा पनि प्रबलीकरणका केही कामहरू उत्साहजनक रूपमा भएका छन्, कतै हुँदै छन् । जस्तै : सर्वोच्च अदालत भवन, त्रिचन्द्र कलेजको पहिलो भवन आदि ।
नेपालका विभिन्न स्थानमा रहेका सरकारी, संस्थागत, निजी संरचनाहरू कतिपय ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेका सम्पदाहरू छन्, जो जोखिमको अवस्थामा छन् । तिनलाई क्रमैसँग प्रबलीकरण गर्नु, गराउनु राज्यको दायित्व हो । सबै संरचनाको प्रबलीकरण एकै आर्थिक वर्षभित्र गर्न सम्भव नहोला तर चरणबद्ध रूपमा त्यस्ता महत्त्वपूर्ण पुराना संरचनाहरूलाई प्रबलीकरण गर्ने नीति, कार्ययोजना र कार्यक्रम राज्यसँग हुनु अपरिहार्य छ ।
प्रश्न भूकम्पको मात्र होइन बाढी, पहिरो, आगलागी, लू, शीललहर, चट्याङ, हिमपहिरो आदि अनेकौं विपद् हामीले ऋतुअनुसार नियमित रूपमा भोग्नुपर्ने नियति बनेका छन्, जसलाई टार्न सकिदैन तर ती विपद्बाट जनधनलाई धेरै हदमा जोगाउन भने सकिन्छ । तर, कसरी ? मूल प्रश्न र चुनौती यही नै छ ।
यसको समाधानको एक मात्र उपाय आजको नाराले बोकेको छ अर्थात् सुदृढ पूर्वतयारीका साथ । दर्जनौं रोगको एउटै अचुक औषधि भनेजस्तै सबैखाले विपद्बाट जोगिने एउटै उपाय सुदृढ पूर्वतयारी नै हो । तर, विडम्बना ! हामी त्यसैमा कमजोर छौं । हरेक पटकको विपद्ले पूर्वतयारीमै कमजोर रहेको भनेर हामीलाई धिक्कारिरहेझैं प्रतीत हुन्छ ।
विपद्को पीडा कस्तो हुन्छ भन्ने अनुभूति विपद् भोगेको वास्तविक पीडितलाई मात्र थाहा हुन्छ, निरीक्षण गर्न गएकाहरूलाई हुँदैन । तसर्थ, सुदृढ पूर्वतयारी विश्वसनीय नभएसम्म विपद्को पीडाबाट जोगिन सकिएला भनेर ढुक्क हुन सकिँदैन ।