काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जनशक्ति र क्वारेन्टाइनको पर्याप्त सुविधा नभएको भन्दै विदेशमा रहेका नेपालीहरूको तत्काल उद्धार गरी स्वदेश फर्काउन नसकिने बताएपनि विभिन्न देशमा अलपत्र परेकाहरूलाई स्वदेश फर्काउने मोडालिटीबारे छलफल शुरु भएको छ ।
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनको कार्यविधि बनाउनेबारेमा छलफल गरेको छ । विदेशबाट फर्किनेहरूको व्यववस्थापन गर्न सातै प्रदेशका लागि संघीय सरकारका एक–एक मन्त्रीहरूलाई ‘फोकल पर्सन’ तोकिएको छ ।
प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, वागमती प्रदेशमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्ट संयोजक रहेका छन् ।
उनीहरूले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्नेछन् । वाग्मती प्रदेश संयोजक मन्त्री गुरुङले सबै पक्षका सुझावहरु लिएर विदेशबाट फर्काउने र उनीहरुको व्यवस्थापन गर्ने सम्बन्धमा कार्यविधि बनाएर मन्त्रिपरिषदले पारित गरेपछि कार्यान्वयन गर्ने बताए ।
स्वदेश आउनेलाई सुरक्षाका विधि बनाएर सक्नेलाई उनीहरुकै खर्चमा सुविधासम्पन्न होटलमा राख्ने र नसक्नेलाई सरकारी क्वारेन्टाइनमा राखेपछि स्थानीय तहको जिम्मा लगाएर घर पठाउने सोच बनेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies