काठमाडौं : लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः सार्वजनिक गरिएको हो ।
कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वर रहेको यो कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमई’लाई राजु थापाले रिमेक गरेका हुन् । रि-एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन् ।
राजु स्वर्गीय कृष्ण विक्रम थापाका जेठा छोरा हुन् । यो गीतमा शब्द, संगीत र स्वर कृष्णविक्रम थापाले दिएका थिए ।
यो आम नेपालीको जिव्रोमा झुन्डिएको लोकप्रिय गीत हो । सिन्धुलीको ऐतिहासिक र सांगीतिक पहिचान बोकेको यस गीतको भिडियो छायांकन पनि सिन्धुली जिल्लाकै रमणीय स्थानहरूमा गरिएको हो ।
भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्की मुख्य भूमिका छ । पवन केसी, सत्य देवी, पवित्रा रम्तेल तथा काजी थापा पनि भिडियोमा देखिएका छन् ।
बासु बरालको सिनेमेटोग्राफी रहेको भिडियो निर्देशन क्रान्ति केसीले गरेका छन् । गीत म्युजिक नेपालको युट्युब च्यानलमा सुन्न सकिन्छ ।
चार दशकभन्दा लामो अन्तरालपछि पुनर्जीवित यस गीतले नयाँ पुस्तालाई सिन्धुलीको सांगीतिक धरोहरसँग फेरि नजिक ल्याउने अपेक्षा गरिएको छ ।