काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण विदेशमा रोजगारी गुमाई अलपत्र परेका नेपाली कामदारले स्वदेश फर्किएपनि रोजगारी पाउने सम्भावना न्यून देखिएको छ । नेपाल सरकारले स्वदेश फर्काउन आलटाल गरेका कारण तनावमा रहेका कुनै तरीकाले स्वदेश फर्किएपनि उनीहरु उपयुक्त सरकारी नीतिको अभावमा रोजगारीबाट विमुख हुनसक्ने खतरा पनि देखिएको छ । नेपाल उद्योग परिसंघले बुधबार गरेको छलफलमा उद्योग वाणिज्य क्षेत्रका अगुवाहरुले नेपालमै रोजगारी गरिरहेका कामदारहरुले रोजगारी गुमाई रहेको अवस्थामा विदेशबाट फर्किने कामदारलाई रोजगारी दिन समस्या हुने बताए ।
हाल विदेशमा ४० लाख बढी नेपाली रहेको भएपनि वैदेशिक रोजगारीमा करिब २५ लाख रहेको विश्लेषण भइरहेको छ । विदेशबाट रोजगारी गुमाएर कति नेपाली फर्किएलान् ? भन्ने एकिन गर्न कोरोना भाइरसको फैलावट र संक्रमणको अवस्था पहिले निर्धारण हुनुपर्ने भएपनि हालको अवस्थामा १० लाख नेपाली फर्किन सक्ने परिसंघको आँकलन रहेको छ ।
नेपाली कामदारका प्रमुख श्रम गन्तव्य कच्चा तेलमा आश्रित अर्थतन्त्र भएका जिसिसी अन्तर्गतका ६ मुलुक, मलेसिया, जापान र दक्षिण कोरिया हुन् । कोरोना भाइरसको महामारीले कच्चा तेलको मुल्यमा आएको विश्वव्यापी गिरावटले नेपाली कामदारको प्रमुख गन्तव्य मुलुका गल्फ कोअपरेशन काउन्सिल अन्तर्गतका ६ वटा देशको आर्थिक गतिविधि गम्भीर रुपमा प्रभावित भएको छ । ती देशमा कोरोना भाइरस संक्रमणको बृद्धिदर रोकिन सकेको छैन । विदेशबाट फर्किने कामदारहरुलाई रोजगारी सिर्जना गर्ने विषयमा हाल अर्थ मन्त्रालय, श्रम, रोजगार तथाा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि मन्त्रालय र नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेका छन् । प्रारम्भिक अध्ययन अनुसार हाल नेपालमा पूर्णकालीन, अल्पकालीन तथा अनौपचारिक क्षेत्रमा काम गरिरहेका ९६ लाखले रोजगारी गुमाएको अवस्था देखिएको नेपाल उद्योग परिसंघले जनाएको छ ।
परिसंघको छलफलमा सहभागी श्रम मन्त्रालयका सचिव विनोद केसीले विदेशबाट फर्किएर आई अर्काको जमीन भाडामा लिई कृषि उत्पादन गर्ने कामदारलाई सस्तो व्याजदरमा ऋण दिने लगायतका मोडालिटीमा छलफल भइरहेको बताए । सचिव केसीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पनि केही कामदारहरुलाई रोजगार दिन सकिने जानकारी दिए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का कन्ट्री डाईरेक्टर रिचर्ड होवर्डले कोरोना भाइरस संक्रमणले विश्वभर ४ सय ३६ मिलियन रोजगारदाताले व्यापार र साना तथा मझौला उद्यममा रहेका ७० प्रतिशत कामदारले रोजगारी गुमाउने र नेपालमा निजी क्षेत्रको रोजगारी गुमाउनेको संख्या ९० प्रतिशतसम्म पुग्न सक्ने भन्दै विदेशमा रोजगारी गुमाई फर्किएका कामदारहरुको विषय सोचनीय बनेको बताए ।
ठूला परियोजना भन्दा साना तथा लघु उद्योग बेरोजगार नेपालीहरुलाई रोजगारी दिने क्षेत्र भएपनि कोरोना महामारीबाट सबैभन्दा बढी यीनै क्षेत्र प्रभावित भएको परिसंघले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies