-मञ्जु भट्ट
सहरमा बस्ने लाखौं विद्यार्थी लामो समयदेखिको लकडाउनका कारण स्कुल जान पाएका छैनन् । कक्षा १ देखि ९ सम्मका कतिपय विद्यार्थी परीक्षा सकिएलगत्तै आआफ्नो स्थायी वासस्थान गइसकेका छन् । सहरमा स्थायी घर भएका वा घर जान नपाई कोठा भाडा लिई बस्ने विद्यार्थीलाई परीक्षा सकिएपछि पनि लकडाउनका कारण आफूलाई घुमफिर गरेर ताजा अनुभव गराउने समय मिलेन । लामो समयसम्म बन्द कोठाभित्र चलिरहने, खेलिरहने उमेरका केटाकेटीलाई सम्हाल्न अभिभावकलाई अप्ठेरो हुँदै गएको छ । विद्यार्थीहरू अन्तिम परीक्षा भइसकेकाले पढाइबाट पूरै स्वतन्त्र भएका छन् । पढेका कुरा बिर्सिसकेका छन् । उनीहरूले आफ्नो धेरैभन्दा धेरै समय विद्युतीय उपकरणमा खर्च गर्दा आँखालगायत अन्य शारीरिक हानि गरिरहेको छ । केही विद्यार्थीले सिर्जनात्मक कार्य गरे पनि सबैका लागि बाध्यता छैन । यस्तोमा विभिन्न निजी स्कुलले लागू गरेका भर्चुअल कक्षा निकै सहयोगी भएका छन् ।
धेरैजसो निजी स्कुलले दिनमा दुईवटा विषयका भर्चुअल कक्षा सञ्चालन गरिरहेका छन् । कतिपय स्कुलले भर्चुखल कक्षाको तयारी गर्दै छन् । भर्चुअल कक्षामा विभिन्न कारणले गर्दा सम्पूर्ण विद्याथी उपस्थित हुन पाएका छैनन् । यस्तोमा भर्चुअल कक्षा चलाउँदैमा स्कुलहरूले विद्यार्थीबाट शुल्क उठाइहाल्ने कुरा हुँदैन । सधैं आफ्नो स्कुलमा पढिराखेका विद्यार्थीलाई लकडाउनको अप्ठेरोमा निःशुल्क भर्चुअल कक्षाको सुविधा दिन स्कुलले सक्नुपर्छ । विद्युतीय उपकरण र इन्टरनेटको उपलब्धता भएका र घरभित्रै बस्न बाध्य विद्यार्थीका लागि भर्चुअल कक्षा वरदान साबित भएका छन् । मेरो एक कक्षा पास गरेको छोराले पनि भर्चुअल कक्षा लिइरहेको छ । लामो समयपछि आफ्ना साथीलाई ल्यापटपको स्क्रिनमै देखेर भए पनि ऊ धेरै खुसी भएको छ । भर्चुअल कक्षा लिन थालेदेखि पढ्ने समय तालिका बनेको छ । पढेर पनि बिर्सिसकेका कुरा सम्झिन थालेको छ । गृहकार्य गरेर भाइबरबाट पठाउन थालेको छ ।
आफ्ना शिक्षक तथा साथीहरूसँग कक्षामा बसेजस्तै घरमै बसी नयाँ कुरा जान्न पाउँदा लकडाउनमा बस्नुपर्ने बाध्यतालाई हलुका र रमाइलो बनाइदिएको छ । विद्यार्थीहरू रमाएर कक्षा लिने र शिक्षकले अनलाइन दिएको गृहकार्यलाई सिर्जनात्मक तरिकाले कापी र कलम प्रयोग नगरी नयाँ ढंगबाट गरेर अनलाइनबाटै पठाउन सक्ने भएका छन् । लामो समयसम्म गेम खेल्ने, फिल्म, जस्तोसुकै कुरा पनि हेरेर बस्ने समय भर्चुअल कक्षा लिन र गृहकार्य गर्दै बित्न थालेको छ । नहुनुभन्दा त कानो मामा नै राम्रो भनेजस्तै सबै विद्यार्थीको पहुँचमा भर्चुअल कक्षा नभए पनि पहुँचमा भएका विद्यार्थीले कामविहीन भएर बस्नुपरेको छैन । केही त सिक्ने मौका पाइरहेका छन् । विद्युतीय पहुँच, ल्यापटप, कम्पुटर, डेस्कटप, इन्टरनेटजस्ता आवश्यक उपकरण भएका विद्यार्थीलाई अरूले पढ्न पाएका छैनन् । तिमीहरू पनि अनलाइन पढ्न पाउँदैन गुम्सिएर घरभित्रै बस भन्न एउटा शिक्षकलाई कति जायज हुन्छ ? नामै भर्चुअल कक्षा भएकाले कक्षामा गएर पढेजस्तो विद्यार्थीलाई नहुन सक्छ । कहिले बत्ती जाने, कहिले इन्टरनेट जाने, कहिले विद्युतीय सामग्री नै बिग्रिनेजस्ता समस्या भने भर्चुअल कक्षामा आउन सक्छन् ।
भर्चुअल कक्षा लिने विद्यार्थीको उपस्थिति हेर्दा निजी स्कुलमा पढाउने ठूलो संख्याका अभिभावकले आफ्ना सन्तानलाई भर्चुअल कक्षामा पढाउन सक्ने क्षमता राख्छन् । धेरैजसो अभिभावकसँग पहिलेदेखि नै इन्टरनेट जडित ल्यापटप, कम्पुटर, डेस्कटप हुने गरेका छन् । एकभन्दा बढी सन्तान हुने अभिभावकका लागि भने एउटा मात्रै ल्यापटप वा डेस्कटपले समय मिलाउन अप्ठेरो पर्ने रहेछ । म आफैं पनि शिक्षक भएको नाताले विद्यार्थीलाई ४० मिनटको प्रतिकक्षा गरेर सातामा चारवटा भर्चुअल कक्षा लिइरहेकी छु । एउटै ल्यापटपबाट छोराछोरी र आफूलाई समय मिलाउन गाह्रो परेको छ । कहिलकाहीँ छोराछोरीका कक्षा छुट्न थालेका छन् । कक्षा छुटेका बेला उनीहरू खिन्न हुने गरेका छन् । धेरैजसो अभिभावकसँग मोबाइल भए पनि र त्यसबाट पढ्न सकिने भए पनि गृहकार्य गर्न भने नसकिने रहेछ । अहिलेको परिस्थितिमा जसरी भर्चुअल कक्षाबाट पढ्न कोसिस हुँदै छ भविष्यमा भर्चुअल कक्षाबाट विद्यार्थीलाई पढ्न र पढाउन सम्भव हुने देखिएको छ । योसँगै शिक्षकले पनि इन्टरनेट प्रयोग गरी पढाउन सक्ने भएका छन् । आफ्नो विषयसँग सम्बन्धित नयाँनयाँ कुरा डाउनलोड गर्दै आफू पनि पढ्ने र विद्यार्थीलाई पनि पढाउन थालेका छन् । यतिखेर धेरैजसो अन्य कर्मचारी निष्क्रिय भए पनि शिक्षक–विद्यार्थी क्रियाशील भएका छन् । नयाँ कुरा सिकिरहेका छन् ।
अर्कोतिर, लकडाउन भएपछि गाउँ पुगिसकेका विद्यार्थीलाई सहरमा जस्तो बन्द कोठाभित्र गुम्सिन बाध्य हुनुपरेको छैन । आफ्नो परिवारसँगै बसेर घरमा पालिएका गाईवस्तु र खेतबारीमा गएर उनीहरूले धेरै कुरा सिक्ने मौका पाइरहेका छन् । सहरमा एउटै कोठाभित्र बस्न बाध्य भएर मोबाइल, टिभीमा समय खर्चिनुभन्दा कयौं गुणा रमाइलो विद्यार्थीहरूलाई गाउँका पाखाबारी, भेडाबाख्रा, कुकुर, बिरालोसँग खेल्दा भइरहेको छ । केही समयका लागि भए पनि सहरको कोलाहल, सामाजिक सञ्जाल तथा जंक फुडभन्दा टाढा रही ताजा, पोषिलो खानेकुरा खाने अवसर जुटेको छ । विद्यार्थीहरूमा खुला ठाउँमा खेलकुद गरेर शारीरिक व्यायाम भएसँगै तन्दुरुस्त हुन सहयोग मिलेको छ । संयुक्त परिवारमा बसेर सबै जनाबाट नेपाली संस्कारलगायत धेरै कुरा सिक्ने अवसर पाइरहेका छन् । नाता, कुटुम्ब चिनेसँगै उनीहरूको महत्व बुझ्न थालेका छन् ।
कतै आधुनिक तथा कतै परम्परागत कृषि उत्पादन गर्ने तरिका सिकिरहेका छन् । कतिपयले शुद्ध तोरीको तेल पेल्ने कोल, ढिकी, जाँतो, पानीघट्टजस्ता हाम्रा पुर्खाहरूले निर्माण गरेका मेसिन देख्ने र प्रयोग गर्ने मौका पाइरहेका होलान् । कुन बाली कुन समयमा लगाउने, कति समयपछि भित्र्याउनेजस्ता विभिन्न अन्नबाली चिन्ने मौका मिलिरहेको छ । सहरमा बसेर खान मात्र जानेका विद्यार्थीले विभिन्न फलफूलका रूख प्रत्यक्ष चिन्ने र फूल फुलेदेखि फलमा परिवर्तन भएकोसम्म हेर्न पाएका छन् । गर्मीको समय भएकाले ताल, खोलाहरूमा गएर पौडी सिक्नेदेखि पौडी खेलेर मनोरञ्जन लिइरहेका छन् । किताबबाट घोकेका न्युटनका नियमलाई व्यवहारमा लागू गरिरहेका छन् । स्कुलका कक्षाकोठा मात्रै सिक्ने ठाउँ होइनन् । हामी बसेका सम्पूर्ण ठाउँ र वरिपरिको वातावरण हाम्रा सिक्ने ठाउँ हुन् । किताबमा भएका तीनवटा पाठ कम पढ्दैमा विद्यार्थीमा भएको नोक्सानभन्दा पनि जीवन निर्वाहका लागि चाहिने अमूल्य सीप गाउँको परिवेशबाट सिक्ने र परिश्रमी हुनुपर्छ भन्ने शिक्षा पाइरहेका छन् । गाउँमा बसेर अनुत्पादक, घोकन्ते शिक्षाभन्दा पनि कृषि, पशुपालन, सिकर्मी, डकर्मी, हँसिया, कुटो, कोदालोजस्ता औजार बनाउन सक्ने सीपमूलक शिक्षाले रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुने अवसर प्रदान गर्दछ भन्ने विद्यार्थीले अनुभव गर्न सक्नेछन् ।
सामुदायिक विद्यालयमा पढ्ने ३५ प्रतिशत विद्यार्थी मात्र विद्युत्को पहुँच भएका र करिब १३ प्रतिशतले मात्र इन्टरनेटको सुविधा पाएको तथ्यांकले देखाउँछ । म आफैं काठमाडौंमा बसेर विद्यार्थीहरूलाई भर्चुअल कक्षाबाट पढाउँदै छु । मेरो आफ्नै घर अछाममा भने रूखमा वा डाडाँ नचढी फोन लाग्दैन । इन्टरनेट चल्ने कुरै भएन । तीन वर्षअघि गाउँले मिलेर लाखौं खर्च गरेर एक वर्ष जति बिजुली बालेका थिए । मेसिनमा समस्या आएपछि त्यसलाई बनाउने चासो कसैले देखाएनन् । अहिले फेरि गाउँले अन्धकारमै बस्न बाध्य छन् । यस्तोमा भर्चुअल कक्षाको बारेमा सोच्न पनि सकिँदैन । लथालिंग अवस्थामा रहेका धेरैजसो सामुदायिक विद्यालयमा सरकारले अनलाइन कक्षाको व्यवस्था गर्न सकेन भन्दैमा निजी स्कुलमा पढ्ने लाखौं विद्यार्थीलाई समेत लामो समयसम्म नपढी घरभित्रै गुम्सिएर बस् भन्न सुहाउँदैन । प्रविधिको प्रयोग राम्रो कामको लागि जति धेरै ग¥यो, त्यति नै फाइदा लिन सकिन्छ ।
माथिल्लो तामाकोसीलगायत देशका धेरैजसो ठूला जलविद्युत् आयोजना सम्पन्न हुने अवस्थामा रहेका छन् । धेरैजसो आयोजना निर्माणाधीन रहेका छन् । छिट्टै नै देशले विद्युत् बिक्री गर्ने समय आउँदै छ । आफ्ना जनतालाई अन्धकारमा राखेर आफ्नो देशमा उत्पादित विद्युत् अरू देशलाई बिक्री गर्नु पनि अनौठो हुनेछ । तसर्थ, उत्पादित विद्युत्लाई जनताका घरघरमा पुर्याउन सरकारले समयमै योजना बनाएर कार्यान्वयनमा ल्याउन सके विद्यार्थीहरूले आफू पढ्ने स्कुलमा पनि कम्प्युटरबाट धेरै कुरा सिक्न सक्थे । राजनीति खिचातानीमै वर्षाैं बिताएको सरकारले अहिले पनि आफ्नो पद र कुर्सीबाहेक जनताको बारेमा सोच्न सकेको देखिँदैन ।
यदि यस्तो भएको थिएन भने २१औं शताब्दीमा रहेका सामुदायिक स्कुलमा पढ्ने हाम्रा ६५ प्रतिशत विद्यार्थी विद्युत्को पहुँचबाट टाढा हुँदैनथे । यही कारणले लकडाउन सुरु भएको दोस्रो महिना लाग्दा पनि लाखौं विद्यार्थीको भविष्यबारे सरकारले केही सोच्न सकेको छैन । विद्युत्को पहुँच भएका तर इन्टरनेट जोड्न नसक्ने परिवारको पहिचान गरी सरकारले सहुलियत प्रदान गर्नुपर्दछ । यस्तो अवस्थामा स्थानीय सरकारले आफ्नो विद्यालय तथा विद्यार्थीको चौतर्फी विकासका लागि आवश्यक कदम चाल्नु जरुरी रहन्छ । अनि मात्र आफ्नो रुचिअनुसार भर्चुअल, दूर वा जस्तोसुकै कक्षा लिन विद्यार्थीले आफैं छान्न सक्ने थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies