-शिवलाल बसेल
विगतमा छिटफुट मात्र सुनिने बीभत्स हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, ठगि, चोरी लुटपाट अनियमिततासम्बन्धी समाचार आजभोलि प्रत्येक दिन प्रकाशन र प्रसारण भइरहँदा नेपाली समाजको नैतिक अनुशासन, सामाजिक मर्यादा, सहनशीलता हराउँदै गएको त होइन भन्ने प्रश्न उब्जिएको छ ।
आफन्त, छरछिमेक, साथीभाइबाट व्यक्तिगत द्वेष, आवेग, उत्तेजना, आर्थिक स्वार्थका कारण बीभत्स हत्या हुनु, विभिन्न सामाजिक संस्कार धर्म, प्रथा, परम्पराको नामबाट शोषण हुनु, श्रीमान् र उसको परिवारले श्रीमतीलाई दाइजोको नाममा शारीरिक शोषण, मानसिक यातना दिनु वा हत्या गर्नु दिनहुँ समाचारका विषय बनेका छन् । नाबालिका/किशोरी/वृद्धा/एकल महिलामाथि घर, विद्यालय, समाज, सार्वजनिक स्थानमा यौनशोषण, दुव्र्यवहार र बलात्कार हुनु, वृद्ध, अपाङ्ग र अशक्त नागरिक आफन्तको माया, स्नेह, स्याहार नपाई बेसहारा बनाइनु जस्ता व्यवहार सभ्य समाजका परिचायक पक्कै होइनन् ।
सार्वजनिक पद धारण गरेका पदाधिकारीबाटै राज्यको सम्पत्ति पदाधिकारी र आफन्तका नाममा भोगचलन साथै राज्यले उपलत्तध गराएको सुविधाको दुरूपयोग गर्नु वा सार्वजनिक स्रोतको दोहन गर्नु आर्थिक अनियमितता र भ्रष्टाचारका कर्तुत हुन् । विभिन्न प्रलोभनमा पारी ठगी गर्नु, चोरी डकैती, लुटपाटका घटना बढ्नु, ग्राहक मेरा भगवान् भन्ने ब्यानर टाँगेर व्यवसायीले मिसावट तथा अखाद्य पदार्थ प्रयोग गरी वस्तु उत्पादन गर्नु, वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल ढाँटी वा झुक्याई वस्तु तथा सेवा बिक्री वितरण गर्नु, गुणस्तरहीन सामग्री प्रयोग गरी कमजोर भौतिक संरचना निर्माण गराउनु जस्ता भ्रष्टाचारका समाचार साधारणजस्तो भइसक्यो । यस्ता कृत्यले सभ्य, सुसंस्कृत, सहिष्णु, समावेशी नेपाली समाजको प्रतिष्ठामा धमिलोपना सिर्जना गरेको छ । विश्व जगत्मा शान्तिप्रेमी, शालीन, सहनशील, सभ्य सहयोगी, इमानदार नेपालीको रूपमा ख्यातिप्राप्त स्वाभिमानमा आँच पु¥याएको छ । आफन्त, छिमेकी, साथीभाइप्रतिको विश्वास गुम्दै गएको छ । राज्यको सुरक्षा संवेदनशीलताप्रतिको विश्वास, राज्यको न्याय प्रशासन र संवैधानिक निकायप्रतिको भरोसा, राजनीतिक दलप्रतिको आशा, निजीक्षेत्रको व्यावसायिक सदाचार गुम्दै गएको छ ।
चार वेद, चार उपवेद, १८ पुराण, १८ उपपुराण, उपनिषद्, त्रिपिटक, कुरान, बाइबल, मुन्धुम जस्ता धार्मिक ग्रन्थ ऋषिमुनिहरूको दर्शन, गौतम बुद्धको धर्मोपदेश, आशीर्वादबाट दीक्षित हामी नेपालीको मानवसेवा दया, करुणा, शालीनता, सहनशीलता, सहयोगी भावना हाम्रा मौलिकता, पहिचान र गुण हुन् । मानव सभ्यताको विकाससँगै मानवीय क्रियाकलापलाई अनुशासित र व्यवस्थित बनाउने काम धार्मिक ग्रन्थ र धर्मोपदेशले गर्दथ्यो । आज समाज सभ्य र शिक्षित हुँदै जाँदा मानिसका गतिविधिलाई निर्देशित गर्ने विभिन्न ऐन कानुन ल्याउनुपर्ने कारण समाजका सदस्यहरूले धर्मोपदेश र सन्देश भुल्दै व्यक्तिगत स्वार्थ, अर्थोपार्जन जीवनको सबैभन्दा ठूलो उपलब्धि सम्झनु हो । सत्ययुगदेखि धार्मिक मूल्य र मान्यताबाट निर्देशित समाजले आज तिनै मूल्य मान्यता र पारिवारिक जिम्मेवारी बिर्सिंदा वृद्ध आमाबुबा र अशक्त परिवारका सदस्यहरू बेसहारा बन्ने अवस्था सिर्जना भएको छ ।
पश्चिमी संस्कृतिको प्रभावस्वरूप मादक पदार्थ, लागुऔषधको प्रयोग बढ्दै गएको गएको छ जसले गर्दा आपराधिक क्रियाकलापले प्रश्रय पाएको छ । व्यक्तिगत स्वतन्त्रता र अधिकारको नाममा व्यक्तिहरूमा अस्वस्थ प्रतिस्पर्धा, रिस, द्वेष, प्रतिस्पर्धाको भावना बढ्दै गएको छ जसबाट समाजमा कलह, झैझगडा अपराध बढेर अशान्तिको अवस्था भएको छ । सार्वजनिक पदाधिकारीमा मानवीय उत्प्रेरक–लोभ, व्यक्तिगत स्वार्थ, छोटो समयमा समृद्ध हने सपना, राजनीतिलाई पेशाको रूपमा लिनु जस्ता कारणले सार्वजनिक पदको दुरूपयोग गरी आर्थिक अनियमितता भइरहेको छ । अनियमितताबाट आर्जित सम्पत्तिलाई समाजले स्वीकार गरिदिँदा पनि यस्ता कार्य गर्ने पदाधिकारी उत्प्रेरित छन् । अख्तियार दुरूपयोग गर्ने पदाधिकारीलाई राजनीतिक संरक्षण हुनु साथै स्वतन्त्र छानबिन गर्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोग, अदालत, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभागलगायतका निकायको प्राविधिक र व्यावसायिक सक्षमताको अभाव, स्रोत र साधनको कमी, कर्मचारीमा जवाफदेहिताको कमी जस्ता कारणले अझै यस्ता कार्य नियन्त्रण गर्न सोचेजस्तो सफलता मिलेको छैन ।
समाजमा बढ्दो बेरोजगारी, हुने खाने र हुँदा खानेबीचको खाडल वृद्धिले गर्दा चोरी डकैती, लुटपाटका घटना बढिरहेका छन् भने सामाजिक सहकार्य र एकतामा फाटो पैदा भएको छ । आधुनिक सूचना प्रविधिको गलत प्रयोग र अभ्यासले समेत पारिवारिक विचलन हत्या हिंसा, बलात्कार जस्ता कार्यलाई मलजल पुगेको छ । सरकारको एकलौटी प्रयास र अभ्यासबाट यस्ता विकृति, आपराधिक क्रियाकलाप र आर्थिक अनियमितता रोकिँदैन । प्रत्येक नागरिकले सरकारको आलोचना मात्र गर्ने होइन, आफ्नो नैतिक आचारणको मूल्यांकन गरी आवेग, उत्तेजना नियन्त्रण गर्नका लागि योग, ध्यान गर्ने, धार्मिक प्रवचन सुन्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन भएको त छैन भन्ने हेक्का राख्ने र आफ्नो पारिवारिक र सामाजिक दायित्वलाई सधैँभरि ख्याल गर्ने हो भने समाज राम्रो बन्नेछ । सरकारले के कस्ता करणले अपराध वृद्धि भएको छ भन्ने अनुसन्धान गर्ने र सोको कारण पत्ता लगाई सावधानीका सम्बन्धमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ किनकि सबै नागरिक कानुनका जानकार हुँदैनन् । परिवारका सदस्य तथा बालबालिकालाई रेखदेख गर्ने, सम्भावित घटनाबारे पूर्व सावधानीका लागि पारिवारिक र सामाजिक छलफल, अन्तक्र्रिया, सडक नाटक, सञ्चार माध्यमबाट सन्देशमूलक कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।
चोरी, डकैती, ठगी रोकथाम गर्न राज्यले सर्वप्रथम बेरोजगारी समस्या समाधान गर्नुपर्छ भने समाजले सामूहिक रूपमा ऐक्यबद्ध भई सुरक्षा निकायलाई सहयोग गर्नुपर्छ । भ्रष्टाचार समाज र राष्ट्रका लागि धमिरा, विकासको बाधक हो । भ्रष्टाचार हामी समाजकै सदस्यबाट हुने भएकाले भ्रष्टाचार गर्नुअघि भ्रष्टाचारको पुष्टिपछि भोग्नुपर्ने कानुनी सजाय र सामाजिक प्रतिष्ठाको विषय सोच्ने बानीको विकास गर्नुपर्छ । भ्रष्टाचार र अनियमिताद्वारा आर्जन गरेको सम्पत्तिउपर मूल्याङ्कन गरी भ्रष्टाचारीलाई समाजबाट बहिस्कार गरिनुपर्छ । सार्वजनिक सेवा प्रवाहका क्रममा कार्यालयमा अनियमितता भएको छ भन्ने खबरदारी गर्ने बानीको विकास गर्नुपर्छ । घुस नदिने र कसैले मागेमा सम्बन्धित निकायसमक्ष उजुरी गर्ने, प्रमाण संकलन गर्दा तथा अनुसन्धान तहकिकात गर्दा सहयोग गर्ने बानीको विकास गर्नुपर्छ । सार्वजनिक विकास निर्माणको क्रममा नागरिक अनुगमन गरौं । यसले गर्दा सरकारले परिकल्पना गरेको भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा व्यावहारिक कार्यान्वयन भए समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल हुन्छ ।
मानिसलाई चेतनशील प्राणी भएकै कारणले गर्दा पृथ्वीको राज गर्ने अवसर प्राप्त छ । हाम्रो चेतना सभ्य, सुसंस्कृत, सहनशील, मैत्रीभाव, दया, करुणा (भ्रष्टाचारी, दुराचारी, अपराधीप्रति होइन), निःस्वार्थभाव, पारदर्शिता, जनसेवी, सहयोगी जस्ता गुणले युक्त बनाउन सकिएको खण्डमा अहिले नेपाली समाज अहिले देखिएका अपराध, विकृति, अनियमितता दुरूपयोग निरुत्साहित भई विश्वमा नै अनुकरणीय हुने थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies