काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विदेशमा रहेकामध्ये शनिवारसम्म ८७ वटा शव नेपाल ल्याइएको छ । अझै १ सय २० नेपालीको शव स्वदेश ल्याउन बाँकी रहेको छ । कोरोना भाइरस संक्रमण शुरु भएदेखि अहिलेसम्मको अवधिमा ३ सय ३३ जना नेपाली कामदारले विदेशमा ज्यान गुमाएको सार्वजनिक भएको थियो ।
त्यसमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आग्रहमा १ सय २६ मृतकका आश्रित परिवारले भने सम्बन्धित देशमै अन्त्येष्टिका लागि मन्त्रालयलाई अनुमति दिएका छन् । विदेशमा नै दाहसंस्कार गर्न सहमति जनाउने मृतक कामदारका आश्रित परिवारको निर्णयले केही सहज भएको वैदेशिक रोजगार बोर्डको भनाइ छ । श्रम मन्त्रालयले विदेशमै अन्तिम संस्कार गर्न सहमति जनाउने परिवारलाई सान्त्वना स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त निर्णयप्रति भने केही मृतकका परिवारले असन्तुष्टि जनाएका भएपनि हालसम्म १ सय २६ पविारले जनाएको सहमतिले धेरै सहज भएको वैदेशिक रोजगार बोर्डको भनाइ छ ।
बोर्डका अनुसार साउदीमा ५९, मलेसियामा २३, कतारमा ११, यूएईमा १४, कुवेतमा ५ र बहराइनमा १ र अन्य विभिन्न देशमा ७ वटा नेपालीका शव ल्याउन बाँकी छ । लकडाउनपछि विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउन चार्टर गरिएका विमानमा शव पनि ल्याइएको हो । हाल मलेसियाबाट सबैभन्दा धेरै ३१ वटा शव ल्याइएको छ । मलेसियापछि साउदी र कतारबाट २०/२०, कुवेतबाट ७, यूएईबाट ५, बहराइनबाट ३, ओमानबाट १ जना नेपालीको शव ल्याइएको छ ।
यता विभिन्न देशबाट ६ वटा चार्टर उडानमार्फत शनिबार थप ९ सय ५७ नेपाली स्वदेश आइपुगेका छन् । कतारको दोहाबाट २ सय ४१ जना, हङकङबाट ८१ जना, यूएईको दुबईबाट १ सय ४६ जना, साउदीको दमामबाट १ सय ५४ जना, साउदीको रियादबाट २ सय ५४ जना र कुवेतबाट ८१ जना नेपाली स्वदेश आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपालका नेपाल वायु सेवा निगम, हिमालयन एयरलाइन्सका जहाज विदेशमा अलपत्र अवस्थामा रहेका कामदारलाई स्वदेश ल्याउन उडान भरिरहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies