कास्की : धान विज्ञले यस वर्ष कास्कीमा धान उत्पादन वृद्धि हुने अनुमान गरेका छन् । अनुकूल मौसमका कारण अघिल्ला वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताए ।
“यस वर्ष कास्कीमा धान राम्रो उत्पादन हुने सङ्केत देखिएको छ, क्षेत्रफलको हिसाबले पनि यस वर्ष उत्पादन वृद्धि हुन्छ ।” उनका अनुसार गत वर्ष कास्कीमा २५ हजार ६ सय हेक्टरमा धान खेती भएको र ९५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष अन्य कुनै समस्या धान उत्पादनमा देखिएन भने क्षेत्रफलका हिसाबले एक लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको छ ।
कास्कीमा मुख्य जेठोबूढो, रामधान, खुमल ४, खुमल ११, सावित्री, स्थानीय मन्सुलीलगायत मुख्य प्रजातिको धान लगाइन्छ । जेठोबूढो भने ४० प्रतिशत लगाइन्छ । सयभन्दा बढी उपप्रजातिका धान कास्कीमा लगाइने गरेको उनको भनाइ छ ।
अहिले कृषि क्षेत्रमा चुनौती देखिएको सलहका बारेमा उनले भने, “नेपाल आएको सलहको युनिटले त्यति नोक्सान गर्ने देखिँदैन, यो ‘डाइभर्ट’ भइसक्यो, पाँचदेखि सात लाखसम्म सलह आएको अनुमान छ । यो युनिटको सलहले अण्डा पारेर बच्चा निकाल्ने सम्भावना न्यून हुन जान्छ, त्यसैले पनि यसको ठूलो क्षति ब्योहोर्नु नपर्ला ।”
कास्कीको धानबाली अनुसन्धाता भानु पराजुलीका अनुसार कास्कीमा सन् १५०० देखि धान खेती हुँदै आएको छ । समुद्रफीँज नामक जात कास्कीमा सबैभन्दा पहिले लगाइएको धान हो । त्यसैगरी नेपालमा खेती गरिने धान एक औराइजा साटिभा एकवर्षीय बिरुवा हो । कास्कीमा दुई हजार ३५० मिटरको उचाइ छोमरुङमा पनि धान खेती हुन्छ । पराजुलीले प्राचीन धर्म ग्रन्थ ऋग्वेदमा समेत शाली धान्या, व्रीही धान्या, शुक धान्या, शिम्वी धान्या र क्षुद्र धान्यामा बाँडेर उल्लेख गरिएको बताए ।
लेखनाथको वेगनासमा मात्र ७४ उपप्रजातिको धान कृषकले लगाउने गरेका छन् । पराजुलीले यस वर्ष अन्य कुनै प्रकोप नभए धान उत्पादन राम्रै हुने बताए । उनले भने, “अहिले मौसम राम्रो छ, कोरोनाका कारण धेरैले कृषि कर्ममा ध्यान दिएका छन् । सलह सानो युनिटमा भएकाले ठूलो असर गर्ने देखिँदैन, उत्पादन हुने बेलामा कुनै त्यस्तो समस्या देखिएन भने राम्रो हुन्छ ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies