हेटौंडा : गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई सोमबार सार्वजनिक गरेको छ । सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
छ महिनाअघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँच लाखको विवाद, ससुराले गरेको बलात्कार प्रयासको घटना बाहिरिने डर लगायतले उनको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले हानेर हत्या गरेको प्रहरीले दावी गरेको छ । पक्राउ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि हत्यामा संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कसरी भयो हत्या ?
प्रहरीका अनुसार असार १ गते अन्दाजी बेलुकी ९ बजे मृतक सुस्मिताको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएका थिए । खाना खानुअघि ससुरा प्रकाश थापाले मदिरा सेवन गरिसकेका थिए भने मृतक सुस्मिता र नन्द सिता भान्छाकोठामा खाना खाइरहेका थिए ।
सुस्मिता महिनावरी भएका कारण भान्छाकोठाको भुईंमा बसेर खाना खाँदै थिइन्, सोही समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छाकोठामा प्रवेश गरी बुहारी मृतक सुस्मिताको टाउकोमा पछाडिबाट प्रहार गरेको देखिन आएको प्रहरीले जनाएको छ । ससुराको प्रहारपछि भुईमा लडेकी सुस्मितालाई नन्द सिता थापाले नजिकै रहेको लोहोरो प्रहार गरेपछि उनी गम्भिर घाइते भएकी थिइन् ।
सुस्मिताले बचाउ भन्दै कराउन थालेपछि सासु तुलासा पनि भान्छाकोठामा आइन् । तर उनलाई चुपचाप बाबुछोरीले अर्को कोठामा गएर बस्न भने । त्यसपश्चात बाबुछोरी मिलेर सुस्मिताको हत्या गरेर आत्महत्या जस्तो घटना देखाउन प्रयास गरे । मृतक सुस्मिताका ससुरा र नन्द अर्थात बाबुछोरी मिलेर हत्या भएको कोठमा फुटेका सिसाहरु, बिग्रेका भाँडाकुडा मिलाए, भुईंमा लागेको रगत सफा गरे र भित्रबाट चुकुल लगाएर आफुहरु झ्यालबाट निस्केर आत्महत्या जस्तो बनाउने प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।
कोठा मिलाएर जिउमा र कपडामा लागेको रगत सफा गरेर भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि प्रहरीसम्म घटना पुगेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies