२०८३ कार्तिक २५ गते बुधवार / Nov 11 , 2026 , Wednesday
२०८३ कार्तिक २५ गते बुधवार

ममता हत्यामा उनका पति नरेश दोषी ठहर, सजाय मार्चमा सुनाइने

शव नभेटिए पनि हत्या प्रमाणित, तीन वटै अभियोगमा सजाय हुने

Nada
२०८३ कार्तिक २५ गते ०७:२७
Shares
ममता हत्यामा उनका पति नरेश दोषी ठहर, सजाय मार्चमा सुनाइने

अमेरिका । नेपाली नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा अमेरिकाको भर्जिनियास्थित अदालतले उनका पति नरेश भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ । मंगलबार (१० नोभेम्बर) जुरीले हत्यासहित उनीमाथि लगाइएका तीनवटै अभियोगमा दोषी ठहर गरेको हो ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार जुरीले करिब छ हप्तासम्म चलेको सुनुवाइ र प्रमाणहरूको अध्ययनपछि भट्टलाई दोषी ठहर गरेको हो । मंगलबार करिब पाँच घण्टाको छलफलपछि निर्णय सुनाइएको थियो ।

सीएनएनले आफ्नो समाचारमा लेखेको छ, ‘जुरीले भट्टले अदालतमा दिएको आत्महत्यासम्बन्धी दाबी अस्वीकार गर्दै उनलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ ।’

नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीर अपवित्र बनाएको अभियोगमा दोषी ठहर गरिएको हो । 

अदालतमा नरेशको स्वीकारोक्ति

मुद्दाको सुनुवाइका क्रममा नरेशले दिएको बयानले घटनालाई नयाँ मोड दिएको थियो । उनले ममताको मृत्यु भइसकेको अवस्थामा आफूले शव व्यवस्थापन गरेको स्वीकार गरेका थिए । तर, हत्या गरेको आरोप भने अस्वीकार गरेका थिए ।

उनको दाबीअनुसार सन् २०२४ जुलाई ३० मा घरमा ममता अचेत अवस्थामा भेटिएकी थिइन् । आफूले बचाउने प्रयास गरे पनि सफल नभएपछि डर र त्रासका कारण प्रहरीलाई खबर नगरेको उनले बताएका थिए ।

उनले ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गरेका थिए । तर, अभियोजन पक्षले उनको बयानलाई अस्वीकार गर्दै हत्या योजनाबद्ध भएको जिकिर गरेको थियो ।

अमेरिकी टेलिभिजन एनबीसी वासिङ्टनका अनुसार अभियोजन पक्षकी वरिष्ठ सहायक सरकारी वकिल साराह सामीले अन्तिम बहसमा नरेशले ममताको हत्या गरेको र त्यसपछि शव लुकाएको जिकिर गरेकी थिइन् ।

उनले नरेशले ममताको शवलाई फोहोरसरह व्यवहार गरेको भन्दै जुरीलाई दोषी ठहर गर्न आग्रह गरेकी थिइन् ।

तर, प्रतिरक्षा पक्षकी वकिल ट्रेसी लेनोक्सले अभियोजन पक्षले हत्या प्रमाणित गर्न नसकेको दाबी गर्दै शंकाको लाभ दिनुपर्ने तर्क गरेकी थिइन् । उनले ममता वैवाहिक सम्बन्धमा असन्तुष्ट रहेको र पारिवारिक दबाबमा परेको दाबीसमेत गरेकी थिइन् । 

शव नभेटिए पनि हत्या प्रमाणित

ममताको शव अहिलेसम्म फेला परेको छैन । तर, अभियोजन पक्षले फरेन्सिक प्रमाण, निगरानी क्यामेराका दृश्य, डिजिटल विवरण र साक्षीका बयानलाई आधार बनाएर हत्या पुष्टि गर्ने प्रयास गरेको थियो ।

अदालतमा प्रस्तुत प्रमाणमध्ये दम्पतीको घरबाट बरामद गरिएको विद्युतीय आरा, त्यसमा भेटिएका कपालका अवशेष तथा विभिन्न फोहोर व्यवस्थापन केन्द्रमा नरेश पुगेको देखाउने विवरण पनि थिए ।

अमेरिकी सञ्चारमाध्यम फक्स फाइभ डीसीका अनुसार अनुसन्धानका क्रममा नरेशले श्रीमती बेपत्ता हुनुअघि इन्टरनेटमा ‘श्रीमती हराएमा के हुन्छ ?’ र ‘श्रीमती हराएमा सम्बन्धविच्छेद गर्न मिल्छ ?’ जस्ता विषय खोजेको डिजिटल प्रमाण पनि प्रस्तुत गरिएको थियो ।

अभियोजन पक्षले शव फेला नपरे पनि अन्य प्रमाणका आधारमा हत्या प्रमाणित गर्न सकिने तर्क गरेको थियो । जुरीले त्यसलाई स्वीकार गरेको छ । 

परिवारले पायो न्यायको आशा

फैसला सुनाइँदा नरेश भट्ट अदालतमा शान्त देखिएका थिए । सीएनएनका अनुसार फैसला सुनेपछि ममताका परिवारका सदस्यहरूले एकअर्कालाई अँगालो हालेर प्रतिक्रिया दिएका थिए । परिवारका एक सदस्यले सरकारी वकिललाई धन्यवादसमेत दिएका थिए ।

प्रिन्स विलियम काउन्टीका सरकारी वकिल एमी एशवर्थले फैसलापछि जारी गरेको वक्तव्यमा यसलाई ममताका लागि न्यायको महत्वपूर्ण उपलब्धि भनेकी छन् ।

उनले ममताको परिवारले दुई वर्षभन्दा बढी समयदेखि पीडा र अनिश्चितता भोग्नुपरेको उल्लेख गरेकी छन् ।

फक्स फाइभ डीसीसँगको रिपोर्टमा सरकारी वकिलको कार्यालयले भनेको छ, ‘पीडितको शव फेला नपर्नुको अर्थ न्याय पनि नपाइनु होइन भन्ने यो मुद्दाले देखाएको छ ।’ 

मार्च १२ मा सजाय निर्धारण

नरेश भट्टलाई तत्काल अन्तिम सजाय सुनाइएको छैन । अदालतले आगामी १२ मार्च २०२७ मा सजाय निर्धारण गर्ने मिति तोकेको छ ।

सीएनएनका अनुसार प्रथम श्रेणीको हत्यामा उनलाई २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ । शवसम्बन्धी अन्य दुई अभियोगमा पनि थप सजाय हुन सक्नेछ ।

फैसला सुनाएपछि अदालतले उनको धरौटी खारेज गरेको छ । उनी हिरासतमै रहनेछन् । 

ममता काफ्ले भट्ट सन् २०२४ जुलाईमा भर्जिनियास्थित आफ्नो निवासबाट बेपत्ता भएकी थिइन् । उनी अस्पतालमा नर्सका रूपमा कार्यरत थिइन् । उनको खोजीका क्रममा सुरु भएको अनुसन्धान अन्ततः श्रीमान् नरेश भट्टविरुद्ध हत्या मुद्दामा परिणत भएको थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर