काठमाडौं : अन्तर्राष्ट्रिय श्रम संगठन र नेपालका विभिन्न सरकारी निकायले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अनिवार्य रुपमा लाखौं नेपाली स्वदेश फर्किन सक्ने भनि दिएको प्रतिवेदन विपरित वैदेशिक रोजगारमा गएका अत्यन्त थोरै नेपाली कामदार फर्किएपछि अर्थमन्त्री डा. युवराज खतिवडा उत्साहित देखिएका छन् ।
अर्थमन्त्री डा. खतिवडाको यो उत्साह सोमबार नेपाल उद्योग परिसंघको १७ औं वार्षिक साधारणसभालाई गरेको भिडियो सम्बोधनमा देखियो । उनले भने, ‘कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा सोचेजति असर परेन, यो नेपाली अर्थतन्त्रका लागि सकारात्मक पक्षका रुपमा रहेको छ ।’
अघिल्लो आर्थिक वर्ष वैदेशिक रोजगारीबाट ८ खर्ब ७९ अर्ब रेमिट्यान्स आएकोमा चालु आर्थिक वर्षको आठ महिनामा ५ खर्ब ९२ अर्ब प्राप्त भएको थियो । गत वर्ष ५ लाख नेपाली वैदेशिक रोजगारीमा गएका थिए भने गत फागुन मसान्तसम्म १ लाख ९० हजार ३ सय ८८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगारमा ठूलो संख्यामा नेपाली कामदार रहेका मध्यपूर्व तथा मलेसियामा कोभिडको महामारी फैलिरहेकाबेला गत चैत २७ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विश्वभर सवा अर्ब मानिसको तलब तथा काम गर्ने समयमा कटौती भई रोजगारी गुमाउन सक्ने चेतावनी दिएको थियो । आईएलओले अमेरिकाको रोजगारीमा ४३ प्रतिशतले कमी आउन सक्ने र नेपाली कामदारहरुले रोजगारी पाइरहेको खाडी, मलेसिया र जापानसमेत रहेको एशिया प्यासिफिक क्षेत्र बढी जोखिमपूर्ण अवस्थामा देखिएको बताएको थियो ।
त्यसको तीन दिनअघि मात्र आईएलओले कोरोना भाइरसका कारण खाडी क्षेत्रबाट करिब ५० लाखले रोजगारी गुमाउन सक्ने प्रारम्भिक आँकलन गरेको थियो । त्यसमा उल्लेख्य संख्यामा अदक्ष कामदारको हैसियतमा रहेका नेपाली कामदार पनि पर्ने आँकलन गरिएको थियो ।
आईएलओको उक्त प्रारम्भिक प्रतिवेदन आएको करिब एक महिनापछि गत वैशाख २४ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले कोरोना संक्रमणका कारण वैदेशिक रोजगारी गुमाई संकटमा परेकामध्ये करिब एक लाख २७ हजार नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको जानकारी संसदीय समितिलाई दिएका थिए ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले ४ लाख ७ हजार नेपाली स्वदेश फर्किन चाहेको भएता पनि तत्काल एक लाख २७ हजार नेपालीलाई उद्धार गरी फर्काउनुपर्ने बाध्यता रहेको बताएका थिए । तर परिस्थिति शुरुको आँकलन जस्तो रहेन । आइतबारसम्म एघार हजार भन्दा केही बढी नेपाली मात्र फर्किएका छन् । त्यसमा सरकारको एक रुपैयाँ पनि लगानी परेको छैन ।
त्यसप्रति ईंगित गर्दै अर्थमन्त्री डा. खतिवडाले महामारीका कारण वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली समस्यामा पर्ने अनुमान गरिए पनि क्रमशः आर्थिक क्रियाकलाप सञ्चालन हुँदै जाँदा रोजगारीको समेत सुनिश्चितता भइरहेको बताए । जेठ महिनामा भित्रिएको १ खर्ब हाराहारी रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिती र बैंकमा पर्याप्त तरलता प्रदान गरेको उनको भनाइ छ ।
पछिल्लो समय विदेशबाट नेपाली कामदारको माग बढेको र नेपाली युवा पनि जान इच्छुक देखिनु सकारात्मक पक्ष भन्दै अर्थमन्त्री खतिवडाले सुरक्षा प्रबन्ध अपनाएर पठाउन थालिएको जानकारी समेत दिए । वर्तमान सरकारले बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्न चाहेको बताएपनि अर्थमन्त्री डा. खतिवडाको पछिल्लो अभिव्यक्तिले सरकार तत्काल वैदेशिक रोजगारको अन्त्यको पक्षमा उभिन नसक्ने धेरैको विश्लेषण रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies