कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ मा जारी कपिलवस्तु प्रिमियर लिग (केपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो राउन्डको खेलमा जय नेपाल क्रिकेट क्लब, कृष्णनगरलाई नेपाल प्रहरी लुम्बिनी प्रदेश क्रिकेट क्लबले पराजति गरेको छ ।
नेपाल प्रहरी लुम्बिनी प्रदेश क्रिकेट क्लबले जय नेपाल क्रिकेट क्लबलाई ७७ रनले पराजित गरेको हो । लुम्बिनी प्रदेश क्रिकेट क्लबले दिएको १५८ रनको लक्ष्य पछ्याएको जय नेपाल क्रिकेट क्लब १२ ओभरमा ८० रन बनाउँदै अलआउट भयो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल प्रहरी लुम्बिनी प्रदेश क्रिकेट क्लबका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा १५७ रन बनाएका थिए ।
नेपाल प्रहरी लुम्बिनी प्रदेश क्रिकेट क्लबका खेलाडी युवराज सेनले उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा ६३ रनको महत्वपूर्ण योगदान दिए । साथै, बलिङतर्फ पनि शानदार प्रदर्शन गर्दै ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । युवराज सेन ‘म्यान अफ द म्याच’ घोषित भए ।