काठमाडौं : बुधबार राजधानी उपत्यकामा २३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार, काठमाडौं १६ रर ललितपुरमा सात जनामा संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा संक्रमित संख्या २९० पुगेको छ ।
मन्त्रालयका अनुसार, १७ हजार विदेशबाट आएका छन् । त्यस मध्ये ३५ प्रतिशतको मात्रै पीसीआर परीक्षण गरिएको छ । संक्रमित मध्ये तीन प्रतिशतको ट्राभल हिस्ट्री फेला पर्न सकेको छैन । अर्थात्, यसले पक्कै चिन्तित बनाएको छ । राजधानी उपत्यका सहित देशभर बुधबार २५५ जनामा संक्रमण पुष्टि भएको छ ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा चार हजार ६९६ जनाको नमूना परीक्षण गर्दा उक्त संखयामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाको नमूना परीक्षण भइसकेको छ । हाल क्वारेन्टिनमा २५ हजार ४० जना र आइसोलेशनमा आठ हजार ६३६ जना रहेका छन् । कोभिड–१९ बाट संक्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २५३ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या सात हजार ७५२ रहेको छ । जम्मा संक्रमितमध्ये ४७ दशमलव दुई प्रतिशत निको भएको उनले बताए ।
सरकारले भने सार्क देश मध्ये कोरोना परीक्षण दर प्रति दश लाख जनसंख्यामा नेपाल अफगानिस्तान, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशभन्दा अगाडि रहेको दावी गर्दै आएको छ । सरकारी दावी अनुसार, एक ठाउँबाट शुरु भएको पीसीआर परीक्षण अहिले देशभर २५ वटा प्रयोगशालाबाट गरिन्छ ।
प्रवक्ता डा गौतमका अनुसार सार्क मुलुक मध्ये नेपालमा प्रति दश लाखमा एक जनाको मात्र मृत्यु भएको छ । बुधबारसम्म संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । कोभिड–१९ का कारण प्रति दश लाखमा अफगानिस्तानमा २४, बंगलादेशमा १३, श्रीलंकामा ०.५, पाकिस्तानमा २२ र भारतमा १५ जनाको मृत्यु भएको छ ।
तथ्यमा तुलनात्मक राम्रो गरेको यस्तो दावी सँगै राजधानी उपत्यका सहित देशभर संक्रमित भेटिन छोडेको छैन । विशेषगरी राजधानी उपत्यकामा भेटिएका संक्रमितका कारण सर्वसाधरण त्रसित छन् । किनभने, राजधानी उपत्यका बढी जनसंख्या भएको शहर हो । तर, सरकार भने नेकपाभित्रको आन्तरिक कलहमा फसेको छ । गएको असार १० गतेदेखि सरकारको ध्यान नेकपा विभाजन रोक्नेतिर देखिएका छन् । महामारी व्यवस्थापन गर्न बनेको उच्च स्तरीय समिति पूर्णतः निष्कृय छ भने सीसीएमसीको बैठक नबसेको एक हप्ता पुग्न लागेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies