२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

कृषि क्षेत्रका लागि गर्नुपर्ने कर्म

shivam cement
२०८२ असार २० गते ०६:००
कृषि क्षेत्रका लागि गर्नुपर्ने कर्म

–उत्तम कार्की

कृषि नेपाली जनजीवनको मेरुदण्ड हो । अधिकांश नेपाली जनसंख्या आज पनि कृषि पेशामा निर्भर छ, तर कृषि आफैं संकटको भूमरीमा छ । आधुनिकताको कृषिको पुरानो तरिका ओझेलमा परेको छ भने उत्पादन लागत बढेर कृषक झनै समस्यामा परेका छन् । यस्तो अवस्थामा अब कृषि सुधार गर्नुपर्ने, बदल्नुपर्ने, उत्पादनशील बनाउनु पर्ने, त्यसका लागि आवश्यक संरचना तयार गर्नुपर्ने बेला हो । खेती गरौं भन्ने नाराबाट अघि बढेर उत्पादन बढाऔं, बजार सुनिश्चित गरौं र कृषकको जीवनस्तर उकासौं भन्ने व्यवहारमा रुपान्तरण गर्न आवश्यक छ ।

कृषिमा सबैभन्दा पहिले गरिनुपर्ने काम कृषिलाई प्राथमिकताको क्षेत्रको रूपमा लिने हो । यो भनाइ मात्रै नभएर बजेट, योजना र कार्यक्रमले देखिने गरी कृषि क्षेत्रलाई अग्रपंक्तिमा राख्नुपर्छ । हरेक सरकारका नीति तथा कार्यक्रममा कृषि भन्ने शब्द मात्र दोहोरिए पनि व्यवहारमा त्यस्तो प्रतिबद्धता देखिँदैन । वास्तविक प्राथमिकता भनेको कृषि अनुकूल नीति, पर्याप्त लगानी, अनुदान र सहुलियतसहितको ऋण, आधुनिक प्रविधिको प्रयोग, बीउबिजन र मलको सहज आपूर्ति जस्ता पक्षमा देखिनुपर्छ ।

त्यसपछि अर्को काम हो, कृषिमा युवालाई आकर्षित गर्ने वातावरण तयार गर्नु । अहिले अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । खेतबारी बाँझो छ । कृषि वृद्ध पुस्ताको भरमा चलिरहेको छ । यस्तो अवस्थामा आधुनिक, प्रविधिमैत्री, आयमूलक कृषि प्रणाली ल्याएर युवा पुस्तालाई फर्काउने उपाय खोजिनुपर्छ । तर, यसको लागि कृषि क्षेत्रलाई आधुनिक व्यवसायका रूपमा विकास गर्नुपर्छ । उदाहरणका लागि, ड्रिप इरिगेशन, मल्चिङ, स्मार्ट ग्रीन हाउस, माटो परीक्षण, अर्गानिक उत्पादन, मोबाइल एपमार्फत कृषि सल्लाह जस्ता प्रविधिहरू विस्तार गर्नुपर्छ ।

बीउ, मल, कीटनाशक र उपकरणको सहज उपलब्धता कृषिमा गरिनुपर्ने अर्को महत्वपूर्ण कार्य हो । नेपालमा हरेक वर्ष मलको अभावले कृषक हैरान हुन्छन् । बीउबिजनमा गुणस्तरको ग्यारेन्टी हुँदैन । किसानलाई चाहिने उपकरण बजारमा महँगो पर्छ र अनुदानका प्रक्रिया झन्झटिलो छन् । यस्तो अवस्थाले कृषकको मनोबल घटाउँछ । त्यसैले राज्यले बीउदेखि बजारसम्मको सम्पूर्ण चक्रलाई व्यवस्थित गर्न एकीकृत कृषि सेवा केन्द्र स्थापना गर्न सक्दछ ।

कृषिमा गर्नुपर्ने अर्को ठुलो काम भनेको सिँचाइ र सडकजस्ता पूर्वाधारको सुनिश्चितता हो । पानी नहुँदा धेरै ठाउँमा खेती सम्भव छैन । सडक नहुँदा उत्पादन भएको बस्तु बजारसम्म पुर्‍याउन गाह्रो हुन्छ । अझ उत्पादनको भण्डारणका लागि चिस्यान भण्डार (कोल्ड स्टोर) को पनि अभाव छ । यस्तो अवस्थामा एकातिर उत्पादन हुँदैन भने अर्कोतिर उत्पादन भएको वस्तु खेर जान्छ । त्यसैले कृषि पूर्वाधार निर्माणमा प्राथमिकता दिन जरुरी छ । सिँचाइको लागि लिफ्ट सिस्टम, सौर्य प्रविधि प्रयोग गरेर साना सिंचाइ योजनाहरू निर्माण गर्न सकिन्छ । सडक सञ्जाल विस्तारले कृषि बजारिकरणमा क्रान्ति ल्याउन सक्छ ।

कृषिमा अर्को महत्वपूर्ण कार्य बजार सुनिश्चितताको हो । किसानले उत्पादन त गर्छन्, तर मूल्य पाउँदैनन् । कहिले आलु, कहिले तरकारी, कहिले दूध पोख्नुपर्ने अवस्था आउँछ । यसको समाधान भनेको उत्पादनदेखि बजारसम्मको श्रृंखला जोड्ने हो । सहकारी संस्था, किसान समूह, सामूहिक खेती र सरकारी निकायको समन्वयमा ‘फार्म टु मार्केट’ मोडल लागू गर्न सकिन्छ । कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने नीति पनि प्रभावकारी ढंगले कार्यान्वयन हुनुपर्छ ।

कृषिमा अनुसन्धान र तालिम पनि गर्नुपर्ने अर्को महत्वपूर्ण क्षेत्र हो । आजको कृषि पुरानो तरिकाबाट अगाडि बढ्न सक्दैन । वैज्ञानिक विधिमा आधारित कृषि प्रणाली आवश्यक छ । अनुसन्धान गरेर हाम्रा माटो, मौसम र बाली अनुसार उपयुक्त बीउ विकास गर्नुपर्छ । कृषकलाई हरेक सिजन सुरु हुनु अगावै तालिम दिएर उनीहरूलाई जानकार बनाउनुपर्छ । कृषि विश्वविद्यालय र कृषि प्राविधिक शिक्षालयहरूसँग सहकार्य गरेर गाउँगाउँमा ‘कृषि विस्तार सेवा’ पुनः सक्रिय बनाउन सकिन्छ ।

कृषिमा गर्नुपर्ने काम भनेको कृषकको सम्मान र जीवनस्तरको सुधार हो । कृषक जनसंख्याको ठूलो हिस्सा हुन्, तर उनीहरू सामाजिक दृष्टिकोणबाट कमजोर अवस्थामा छन् । उनीहरूको श्रमको मूल्य छैन । जीवनयापनका आधारभूत आवश्यकतामा राज्यको ध्यान पुग्दैन । तसर्थ, कृषकलाई सामाजिक सुरक्षा, बीमा, पेन्सन, तालिम र सहुलियत ऋण जस्ता कार्यक्रमले टेवा दिनुपर्छ ।

यसरी हेर्दा, कृषिमा गर्नुपर्ने कामहरू थुप्रै छन् । ती कामको थालनी आजैबाट गर्नुपर्छ । कृषि सुधार बिना देशको समृद्धिको सपना केवल नारामा सीमित हुनेछ । कृषि फस्टायो भने मात्रै देश फस्टाउँछ भन्ने कुरामा नीतिनिर्माता र नागरिक दुवैले विश्वास राख्नुपर्छ ।

ADV

सम्बन्धित खबर

Advertise