-उत्तरबहादुर खड्का
नेकपा भित्र शिर्ष नेतृत्व तहमा चर्कंदै गएको विवाद पेचिलो बन्दै छ । दुई वर्ष अगाडी मात्रै तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी (एकीकृत)बीच एकता भएको देशकै सबैभन्दा ठूलो पार्टीमा आन्तरिक एकताले पूर्णता नपाउँदै विभाजनको संघारमा पुगेर फुटाउ र राज गर भन्ने सिद्धान्तलाई अङ्गीकार गर्दै शक्ति र टकराबमा दुवै पक्षलाई उचालेर पार्टी संगठनलाई भताभुङ्ग र लथालिङ्ग बनाउने प्रयास समेत भएको छ ।
संसदीय चुनावको सहयात्राबाट प्रारम्भ गरिएको पार्टी एकतामा संगठन र सिद्धान्तका बारेमा कुनै बहस नै नगरी राजनीतिक रुपमा दिशानिर्देश गर्ने र संगठनिक चुस्ततालाई बढावा दिने उद्देश्य कतै पनि देखिँदैनथ्यो । जसरी पनि चुनाव जित्ने गठबन्धनको रुपमा अगाडी सारिएको एकताले झण्डै दुई तिहाई पाएर सरकार बनाउन सफल इतिहासकै बलियो, भरपर्दो, देश र जनताको आशा र भरोसाको केन्द्रबिन्दु बन्न सफल भयो ।
नेकपाको नाममा एकीकृत भएर २०७५ साल जेठ ३ गते दुई समान अध्यक्ष कायम हुने गरी पार्टी एकता भएको थियो । नेकपा पार्टी निर्माण भएसँगै पूर्वएमाले र पूर्वमाओवादी बिघटन गरिएको थियो । दुवै पार्टीसँग आबद्ध देश तथा विदेशमा रहेका सबै भातृ संगठनहरु पनि बिघटन भएका थिए ।दुवै पार्टीका अध्यक्षहरुको पद यथावत रहेपनि अरु अधिकांश नेता कार्यकर्ताहरुको जिम्मेवारीमा फेरबदल आए । कतिपय कार्यकर्ताले थप जिम्मेवारी पाए भने कतिपय कार्यकर्ताहरु जिम्मेवारीविहीन भए । कतिपय जनवर्गिय जनसंगठनहरु एकता प्रकृयामा अड्किएर जिम्मेवारीविहीन भएर बसिरहेका छन् ।
पार्टीले हिजो गरेको सबै किसिमका लोकप्रिय उपलब्द्धिहरुको सुरक्षाका लागि समाजवादी क्रान्तिकारी मित्रहरु एक भएर अगाडी बढ्नु पर्ने अवस्थामा क्रान्तिकारी पार्टीलाई उच्चवर्गिय राजनीति, आर्थिक गतिविधि र जीवनशैलीमा रुपान्तरित गर्ने कोशिस कतैबाट पनि हुनुहुन्न ।
पार्टीमा विभाजित शक्तिहरु भन्दा एकीकृत शक्ति नै बलियो हुन्छ जसले पार्टी र संगठनलाई अगाडी बढ्न सहज बाटो निर्धारण गर्छ ।
पार्टी सञ्चालनमा धेरै फरक विचारहरु हुन्छन् । ती फरक विचारलाई पनि सम्बोधन गरेर जानु नेतृत्वको बुद्धिमता हो । तर अहिले नेकपाभित्रको फरक विचारलाई सहि समयमा सम्बोधन नगरिएकाले अन्तरकलह बढ्दै पार्टी एकता नै अन्योलमा परी अनिर्णयको बन्दी बन्दै गइरहेको छ ।
वैज्ञानिक पद्धति र सिद्धान्त अपनाउँदै गौरवपूर्ण इतिहासको रचना गर्नु पर्ने अवस्थामा पार्टीभित्र राजनीतिक र आर्थिक परिवर्तका एजेण्डाहरुले ठाउँ नपाई संगठनहरु निस्प्रभावी भई दम्भ र वितण्डाको श्रृखला बढ्नु लज्जापूर्ण हो । भयपूर्ण, अविश्वास, असत्य, बदख्याई, वैरभाव र क्षणिक घमण्डले पार्टीलाई कहिले उँभो लाग्न दिन्न ।
दुई पार्टी अध्यक्षबीच लडाइँले भाइ फुटे गँभार लुटेको अवस्था सिर्जना हुन दिनुहुन्न । व्यक्ति भन्दा जनता र राष्ट्र अनि क्रान्तिको हितमा केन्द्रित हुन दवाव दिनुपर्छ । पार्टी अस्तित्वको रक्षा गर्न र जनमतको इमान्दारपूर्वक कदर गर्न खबरदारी गर्नुपर्छ । गम्भिर र महत्वपूर्ण विषयमा सुझबुझपूर्ण निर्णय लिइनुपर्छ । अप्ठ्यारो र बिपत्तिपूर्ण ठाउँमा प्रत्यक्ष र अबिलम्ब काम गर्न सक्नुपर्छ । पार्टीभित्र संगठन विस्तार, प्रशिक्षण, भेला बैठक नगरी खाली चुनावी राजनीतिमात्रै गर्नु र पार्टी संगठन सञ्चालनमा चट्टानी अडान लिन नसक्नु भित्र थुप्रै कमिकम्जोरी रहँदै आएका छन् ।
नेपाल राष्ट्र र नेपाली जनताले सुख, समृद्धि र सुशासनको निम्ति गरेका विविध आन्दोलनका भावनाहरु र सहिद, अशक्त अपाङ्ग र श्रमजिवी वर्गमाथि न्याय दिलाउन सकिएको छैन । निर्दोष कार्यकर्ताहरुको आक्रोस उत्कर्षमा पुगेर दनदनी आगो बल्ने अवस्था छ । देशमा राजनीतिक परिवर्तन भएको छ सत्ता परिवर्तन भएको छ । नेताको जीवनस्तरमा चौगुना परिवर्तन भएको छ । तर जनताको जीवनस्तरमा कुनै परिवर्तन भएको छैन ।
शिरमा टोपी र खुट्टामा चप्पल नभएका झुत्रोझाम्रो कपडा लगाएर भोक भोकै हिड्ने क्रान्तिकारी नेताहरु आज अलिसान महल र करोडौको गाडी अनि दायाँ बायाँ सुरक्षा गार्डको पहरेदारीमा रङ्गभेदी झुण्डमुण्ड पाल्ने भइसकेका छन् । क्रान्तिको उपलब्द्धि र सर्वहारा वर्गको विजयमाथि धावा बोल्दै सिङ्गो कम्युनिष्ट आन्दोलनलाई भड्गालोमा हाल्ने काम गर्दै छन् ।
राजनीतिक परिवर्तनका एजेण्डालाई कम्जोर बनाएर पुँजीपति वर्ग र पैसावालाहरु निर्णायक तहमा पुग्न दिनुहुन्न । यस्तो प्रवृत्ति र होडबाजीलाई पार्टीको मुख्य गतिविधिका रुपमा स्थापित भई राजनीतिक परिवर्तनका एजेण्डाहरु कमजोर हुँदै नेपालको राजनीतिक क्षितिज भित्र कालो बादलहरु मडारिदै छ ।
बहुसंख्यक जनताहरुले हिजो परिवर्तनकारी आन्दोलनमा हर्ष र उल्लासको साथ सहयोग र सर्मथन गरेका थिए भने आज तिनै जनताहरु त्यसको ठिक विपरित ध्रुवमा उभिन बाध्य भएका छन् । आफ्ना अनुयायीहरु र केही झुण्डहरुका कारणले पार्टी र सरकार आज संकटपूर्ण तथा घोर बिपत्तको अवस्थामा आएको छ ।
पछिल्लो समयमा सरकार र पार्टीभित्र निरन्तर चौर्तफी खतरा र हमला बढ्दै गएको छ । भएका राम्रा काम समेत जनतामाझ बुझाउन सकिएको छैन । सरकार र पार्टीले आफ्नो उत्तरदायित्व पूरा गर्न नसक्दा जनताको अवस्था अत्यन्तै पीडादायी बन्दै गइरहेको छ । भोक र रोगमा पिल्सिएर जनता बस्नु परेको छ । फरक विचार राखेकै भरमा एकले अर्कालाई परशत्रु ठान्ने प्रवृत्तिको निरन्तरता बढेको छ ।
विश्व इतिहासमा हराउँदै गएको कम्युनिष्टहरुको साख जोगाउन सफल नेपालका कम्युनिष्टले आज इतिहास रचेको छ । यस्तो सुखदपूर्ण घडीमा आज नेपालका कम्युनिष्टहरु विभाजित खण्डमा देखिनु अत्यन्तै दुःखद पक्ष हो । आजको यस उपलब्धि ल्याउन अन्दोलनको अग्रमोर्चामा रहेका गरीब सुकुमबासी नागरिकहरुको समस्या समाधान गर्न सरकार केन्द्रित हुनुपर्छ । तस्करीले प्रत्सोहान पाउनु सरकार र सरकार सञ्चालन गर्ने पार्टी नै धरापमा पर्नु हो ।
सत्ता हत्याउने, पद र शक्तिमा पुग्ने होडबाजी चली आफू आफूमै विभिन्न लाञ्छना लगाउने प्रवृत्ति पार्टीभित्र यसरी नै बढ्दै गयो भने अहिलेसम्मका सम्पूर्ण प्रयास र उपलब्द्धिहरु क्षणिक हुन्छन् । यसले पार्टीभित्र गुट उपगुटले भयंङ्गकर रुप लिई देशलाई अराजनीतिक अस्थिरतातिर धकेल्छ । पार्टी एकता छताछुल्ल हुनेछ । कार्यकर्तामाझ यो चिन्ताप्रति पार्टी नेतृत्वले समयमै सजग र जिम्मेवारी हुनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies