काठमाडौं : मंगलबार दिनभर देखिएको गतिविधिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एउटै नरहेको नै सन्देश दिन्थ्यो । कतिसम्म भयो भने प्रधानमन्त्रीकै सरकारी निवासमा उनी इतरका नेताहरुको बहुमतबाट बैठक चल्यो । यो बैठकलाई स्थायी कमिटीकै संज्ञा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम बिधि बिपरीत र अनुचित भएको निष्कर्ष नै निकाल्यो । त्यस अगाडि प्रधानमन्त्री ओलीले एक्लौटी निर्णयका आधारमा जारी स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचना जारी गरेका थिए ।
मंगलबार कुन नेता कुन पक्षमा रहेछन् भन्ने निर्णायक गतिविधि समेत देखिएको थियो । त्यसमा उपाध्यक्ष वामदेव गौतमको भूमिकाले महत्वपूर्ण अर्थ राखेको थियो । प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भन्ने सार्वजनिक अभिव्यक्ति दिने गौतमले मंगलबार प्रेस नोट जारी गरेर दुवै पद छोड्न नपर्ने बताएका थिए । तर, गौतम फेरि प्रधानमन्त्री इतर समूहको भेलामा समेत बसे ।
साँझ भने यिनै गौतमलाई भेट्न ओली परिवारसहित भैसैंपार्टी नै पुगेका थिए । अझ भीम रावलको यूटर्न, कार्यकारी अध्यक्ष प्रचण्ड निकट मानिने रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा निर्णायक बैठकमा अनुस्थिति रहनुले पनि नेकपाभित्र नयाँ परिस्थिति निर्माण भएको छ । यो परिस्थितिकै कारण बुधबार भने नेकपामा नाटकीय सान्नटा देखियो । न कुनै भेटवार्ता भयो, न कुनै निर्णय नै आएको छ ।
यसलाई नेकपाका नेता मणि थापा नाटकीय सान्नटाका रुपमा स्वीकार्छन् । उनी भन्छन्, “बदलिएको समीकरणले नेकपा संकटबाट मुक्त हुने संकेत पनि देखिन्छ । किनभने, कोही पनि अब निर्णायक रहेनन् ।”
तर, कसरी अब संकट मोचन हुन्छ भन्ने अझै प्रष्ट छैन । किनभने, बैठक नै अनिश्चित भएको छ । नेकपामा गएको असार १० गते देखि शुरु भएको थियो र असार १७ गते देखि लगातार एघार पटक स्थगित भइसकेको छ । गएको साउन ६ गते बाढी र पहिरो जस्ता प्रकोपमा परेकाहरुलाई उद्धार गर्न भन्दै एक साता बैठक स्थगित गरेको थियो । तर, मंगलबार बैठक बस्न सकेन । यो अवधिमा दुई अध्यक्ष समेत भेटवार्ता हुन सकेन ।
शुक्रबार ओली र प्रचण्ड बीच भेटवार्ता भएपनि सार्वजनिक रुपमै यसपछि प्रचण्डले ओली विरुद्ध खनिएर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले अहिलेको सम्पूर्ण समस्याको जड नै ओली भएको बताए । त्यसपछि साउन ११ र १२ गते भने ओलीलाई दाहाललाई सचिवालय बैठक बोलाउन भन्दै बोलाएका थिए ।
तर, एकै पटक स्थायी कमिटीमै बस्ने प्रचण्डको जवाफ पछि ओलीले एक्लौटी निर्णयका आधारमा बैठक अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेका थिए । तर, एक दिन अगाडि खुमलटारको छलफलमा टसमस नभएका प्रचण्ड पक्षले भने बैठक राखेरै छोडे ।
यसैबीच नेकपाका केही केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गर्दै पार्टीलाई हस्ताक्षर गरेको पत्र बुझाएका छन् । उनीहरुले बुधबार १५२ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पत्र पार्टी कार्यालयमा दर्ता गरेका हुन् । उनीहरुले दर्ता गरेको पत्रमा नेकपा एकताबद्ध र झनै सुदृढ बनाएर लैजानुपर्ने वर्तामा परिस्थितिमा पार्टी भित्रको विवादले चिन्तित बनाएकोे उल्लेख छ ।
पत्रमा हाल देखिएका सबै विवाद र समस्याहरुको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि र पद्धती बमोजिम समाधान गरिनुपर्ने ठहर गर्दै पार्टी विधानको धारा ५९ (क) ४ बमोजिम यथाशिघ्र केन्द्रीय समितिको बैठक बोलाइयोस् भनी माग गरिएको छ । नेकपा केन्द्रीय सदस्य नीरज आचार्यले पत्र पार्टी कार्यालयका सचिवलाई बुझाइएको र कार्यालयबाट आजै पार्टी अध्यक्ष र महासचिवलाई बुझाउने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies