काठमाडौं : सरकारले घर विदामा आएका कामदारलाई वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिन शुरु गरेको करिब एक महिनाको अवधिमा झण्डै ५ हजार कामदारले पुनः श्रम स्वीकृति पाएका छन् । वैदेशिक रोजगार कार्यालय ताहाचलले करिब एक महिनाको अवधिमा ४ हजार ७ सय ३८ जना युवायुवतीलाई वैदेशिक रोजगारीमा जाने पुनः श्रम स्वीकृति दिइएको जनाएको छ ।
गत फागुन ३० गतेदेखि कोभिड–१९ महामारीका कारण बन्द रहेको वैदेशिक रोजगारी असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले खुला गर्ने निर्णय गरेपछि वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार कार्यालयले असार १८ गतेदेखि विदामा स्वदेश आई करार अवधि बाँकी भएका कामदारहरुलाई रोजगारीमा जान पुनः श्रम स्वीकृति दिन शुरु गरेको हो ।
असार महिनाको १३ दिनमा २ सय ५१ महिलासहित २ हजार ६ सय ६७ जना कामदारले पुनः श्रम स्वीकृति लिएका छन् भने साउन महिनाको १५ दिनमा ९२ जना महिलासहित २ हजार ७१ जना कामदारले श्रम स्वीकृति लिएका छन् । नयाँ श्रम स्वीकृति भने आगामी भदौ शुरु देखि नै खुल्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले बताएको छ ।
पुनः श्रम स्वकिृति लिएर जाने मुलुकहरुमा यसअघि संस्थागत श्रम स्वीकृति लिएर जाने मुलुकहरुमध्ये कै युएई, कतार, मलेसिया, कुवेत, साउदी अरेबिया, बहराइन, जापान, माल्टालगायतका देश रहेका छन् ।
साउन महिनामा यूएईका लागि ७० महिलासहित ८ सय ६९ जना, कतारका लागि ४ महिलासहित ५ सय ९३ जना, अफगानिस्तानका लागि ६ जना, मलेसियाका लागि एक जना महिलासहति २ सय ६७ जना, जापानका लागि ३७ जना, बहराइनका लागि ३६ जना, ब्रुनाईका लागि ३ जना, मकाउका लागि ११ जना, माल्दिभ्सका लागि ९ जना, माल्टाका लागि ७ जना, ओमानका लागि ४१ जना, पोल्याण्डका लागि १६ जना र सिलेल्सका लागि २ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
यसबीचमा रुस, नाइजेरिया, जोर्डन, इजिप्ट, डीजीबौटी, बर्मुडा, क्याम्बोडिया, चीन, क्रोएसिया, चेक गणतन्त्रका लागि एक÷एक जनाले श्रम स्वीकृति लिएका छन् । उनीहरुले आफ्नै खर्चले कोभिड परीक्षण गराई श्रम स्वीकृतिका लागि आवेदन गर्दा कोभिड–१९ नेगेटिभ रहेको प्रमाणपत्र पेश गर्नुपर्ने गरिएको छ ।
सरकारले साउन ३२ गतेसम्म व्यवसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । श्रम स्वीकृति पाउने कामदार विदेशमा अलपत्र परेका नेपाली लिन जाने वा उनीहरुलाई छोड्न नेपाल आउने चार्टर जहाजमा अनपेक्षित महँगो भाडा तिरेर जाने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies