समाजशास्त्रीहरु भन्छन्– हरेक महासंकटले नयाँ युगको थालनी गर्छ । राजनीतिक, प्राकृतिक र सांस्कृतिक संकट पछाडिको समाज पहिलेजस्तो रहन्न । राजनीतिक विद्रोहहरुले निम्त्याउने संकटले जीवन पद्दती र सोंचमा आमूल परिवर्तन ल्याउने गर्छ । नेपालकै सन्दर्भमा २००७, २०१७, २०४६, दोस्रो जनआन्दोलन, मधेश विद्रोह र जनजाति आन्दोलनले नेपाली समाजमा बहुआयामिक परिवर्तन ल्याएको छ । यस्तै महाभूकम्पले हाम्रो जीवनशैलीमा सानै संख्यामा भएपनि परिवर्तन ल्याएको छ ।
राजनीतिक कम्पन पछाडि विश्व जगतमा जीवनशैलीमा दीर्घकालीन प्रभाव पार्ने प्रविधि र प्रणाालीको विकास भएको थियो । अहिले फेरि विश्वव्यापी महामारी कोभिड–१९ ले संसार त्रसित बनाएको छ । युगौं लामो अभ्यासबाट विकसित हाम्रा आनीबानी र चालचलनमा यो महामारीले एकै पटक ठूलो परिवर्तन ल्याएको छ । एकअर्कामा जोगिएर बस्ने, बाह्य प्रभाव अन्य व्यक्तिसँगको सम्पर्कलाई अनुशासित बनाउने काम तीव्र रुपमा विकास भएको देखिन्छ । नेपालमै पनि मास्क लगाउने, राम्रोसँग हातमुख जस्ता महत्वपूर्ण शारीरका अंगको सफाईमा विशेष ध्यान दिने काम यही महामारीले सहयोग गरेको छ । जुन काम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले ठूलो रकम खर्चेर वर्षौको प्रयासले पनि संभव हुन सकिरहेको थिएन ।
यी त महामारीका कारण मानवीय जीवनशैलीमा ल्याएको परिवर्तनको तथ्य र ऐतिहासिक अध्यनन्का कुरा भए । तर, हाम्रो आनीबानी, सोंच र संस्कृतिमा परिवर्तन ल्याउनु आवश्यकता पनि हुन् । किनभने, महामारीबाट पहिलो बाँचेपछि मात्रै भविष्यका लागि थप प्रयत्न गर्न सकिन्छ । नेपाल बिस्तारै चाडबाड तर्फ धकेलिदैछ । अहिले साउने सोमबार मनाउने तीर्थालुको ध्यान तीर्थधामतिर तानिएको छ । भलै, अघिल्ला वर्षहरु जस्तो भव्यता यसपटक छैन । यसपछि चाँडै हिन्दू महिलाहरुको चाड तीज आउँदैछ । तीज पछाडि दशैं, तिहार, छठ जस्ता चाडहरु आउँदैछ । महामारीको रोकथामका लागि लामो समय गरिएको लकडाउनले अर्थतन्त्र नराम्रोसँग प्रभावित बनाएकाले एकातिर यी चाड मनाउने कार्यलाई खुम्च्याउने देखिन्छ भने अर्कातिर सचेत भएर मनाउनुपर्ने बाध्यता छ । संकटका बीच पनि रमाउने संस्कृति हामीसँग पुरानै हो । यसपटक पनि महामारीकै कारण यस्ता चाडहरु नमनाउने भन्ने हुँदैन । तर, सचेतता भने आवश्यक छ । अर्थात्, हामीले महामारीबाट बच्दै अझ सम्मुनत संस्कृति निर्माण हुनेगरी उच्च सतर्कताका साथ यी चाडहरुमा रमाउनुपर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies