शुभ नारायण कामती/मध्यान्ह
सिरहा : सिरहामा समुदायमा कोरोना भाइरस (कोेभिड–१९) को संक्रमण फैलिएको छ । जिल्लामा पाँच नयाँ संक्रमितमध्ये २ जना समुदायमा रहेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सिरहा नगरपालिकाका २, लहान नगरपालिकाका १, कल्याणपुर नगरपालिकाका २ गरी पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । सिरहामा संक्रमित देखिएका जनता समाजवादी पार्टीका जिल्ला स्तरका नेता रहेका छन् ।
नयाँ संक्रमितमध्ये सिरहा नगरपालिका १६ माडरका एक व्यक्ति र लहान नगरपालिका ८ का १ गरी दुई जनामा कोरोना पुष्टि भएसँगै समुदाय स्तरमा फैलिएको स्वास्थ्य प्रमुख यादवले बताए । संक्रमितहरुलाई आईसोलेनमा राखेर कन्ट्याक्ट टे«सिङ गरिने यादवको भनाइ छ ।
आवश्यकता अनुसार लकडाउन गर्ने, समुदायमा कति फैलिएको त्यसका निम्ति पिसिआर जाँच बढाउन गरी आइतबार आकस्मिक बैठक बस्न लागेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेँलले जानकारी दिए । सिमा क्षेत्रको आगमनलाई थप कडाई गर्ने, क्वारेनटाईन र आईसोलेसन व्यवस्थापनमा ध्यान दिनुपर्ने प्रजिअ कणेंँलको भनाइ छ ।
रोकिएन चहलपहल
समुदायमा कोरोनाको संक्रमण देखिएपनि जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको निर्देशनको वेवास्ता गर्दै भीडभाड र हाटबजारमा ठूलो चहलपहल देखिएको छ । साप्ताहिक हाटबजार अन्तर्गत शनिबार सिरहा सदरमुकाममा लाग्ने हाटमा खचाखच भीड देखिएको हो ।
समाजिक दुरी कायम र मास्कको प्रयोग अनिवार्य गरेपनि हाटबजारमा पुगेका अधिकांशले सामान्य सुरक्षाको पालना समेत गरेका थिएनन् । जिल्ला प्रशासन कार्यालय सिरहा साउन १४ मा भिडभाड नगर्न ३ बुँदे आग्रह गरेको थियो । तर प्रशासनको आग्रह समुदायमा पालना भएको छैन ।
साउन महिनामा उत्तरायणी लगायतका नदी किनार, मन्दिर तथा सार्वजनिक स्थलमा शिव आराधना, बोलबमका नाममा भिडभाड, नाचगान नगर्न नगराउन, अन्य मठ मन्दिर, मस्जिद, चर्च, गुम्वामा भिडभाड हुन नदिन र जनै पुर्णिमासँगै साप्ताहिक हाटबजार नलगाउन सूचना जारी गरिएको थियो ।
सूचनाको वेवास्ता गर्दै सिरहामा साप्ताहिक बजार लागेको छ । प्रशासनको निर्णय कागजमा सिमित रहँदा कोरोना भाइरसको समुदाय स्तरमा झन् तीव्र रुपमा फैलिन खतरा बढेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies