२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

२७ अर्बको राँगाको मासु चीन निर्यात गर्ने तयारी

shivam cement
निमिष झा
२०८२ असार २० गते ०६:४०
२७ अर्बको राँगाको मासु चीन निर्यात गर्ने तयारी

काठमाडौं : यदि सबै कुरा योजनाअनुसार भयो भने नेपालले आगामी वर्ष जुनमा चीनमा राँगाभैंसीको मासु निर्यात गर्ने भएको छ । मासु उद्योगका प्रतिनिधिहरूका अनुसार तय योजनाअनुसार काम भयो भने दैनिक ५ हजार टन राँगाभैंसीको मासु चीन निर्यात गर्ने तयारी छ । 

हाल देशभित्र उत्पादन भइरहेको राँगाभैँसीको मासु देशभित्रकै माग धान्न लगभग सीमित भइरहेको अवस्थामा चीनसँगको सहमतिबाट आर्थिक लाभ लिन व्यावसायिक भैँसी पालनमा निजी क्षेत्र अगाडि बढेको हो ।

नेपालको हिमालयन फुड इन्टरनेसनलका अध्यक्ष नवीन कुमार शर्माका अनुसार योजनाअनुसार काम भयो भने दैनिक ५ हजार टन राँगाभैंसीको मासु चीन निर्यात गरिने छ । ‘हामीले एक हप्ता अघि चिनियाँ लगानीकर्ताबाट (झन्डै ९.५ अर्ब रुपैयाँ) को स्वीकृति पाएका छौं ।’ यस विषयमा थप छलफल गर्न चिनियाँ लगानीकर्ताहरू आइतबार नेपाल आउँदैछन् । ‘त्यसपछि हामी अन्तिम स्वीकृतिका लागि नेपालको लगानी बोर्डमा निवेदन दिन्छौं’, उनले भने ।

गत डिसेम्बरमा चीनले नेपालसँगको व्यापारलाई परम्परागत हस्तकलाभन्दा बाहिर विस्तार गर्दै राँगाभैंसीको मासुको बजार खुला गरेको थियो । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनले नेपालबाट राँगामासु आयात गर्न स्वीकृति दिएको थियो ।

प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा हस्ताक्षर भएको राँगाभैँसीको प्रशोधित मासु चीन निर्यात गर्ने सम्बन्धी प्रोटोकलको कार्यान्वयनले राँगाभैँसीको मासुको विश्वकै सर्वाधिक ठूलो बजार चीनमा नेपालका लागि ढोका खुलेको हो ।

प्रधानमन्त्री ओलीका पूर्ववर्ती माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा चीनको भ्रमण गर्दा सन् २०२३ मा नेपाल र चीनले दुई देशबीचको व्यापार असन्तुलनलाई कम गर्ने हिसाबमा नेपालमा उत्पादित प्रशोधित राँगाभैँसीको मासुलाई चीनमा निर्यात गर्न अनुमति दिने प्रक्रियालाई गति दिने सहमति गरेका थिए ।

२०२३ डिसेम्बर १६ मा नेपाली निजी कम्पनी हिमालयन फूड इन्टरनेसनल र चिनियाँ कम्पनी शांघाई जियान फूडबीच काठमाडौंमा बीटुबी सम्झौता भएको थियो । चीनले यसलाई आफ्नो ‘सफ्ट ट्रेड डिप्लोमेसी’अन्तर्गत अगाडि बढाएको हो । यस परियोजनाअन्तर्गत नेपालबाट वार्षिक २७ अर्ब रुपैयाँको मासु आयात गर्र्नेछ । नेपालले यसलाई ‘गेम चेन्जर’को रूपमा लिएको छ ।

चिनियाँ लगानीबाट २७ अर्ब रुपैयाँको मासु प्रशोधन र पशुपालनसम्बन्धी दुई मुख्य पाटोमा खर्च गरिनेछ । ‘हामीले निर्माण सुरु गरिसक्नुपर्ने हो, तर नेपाल सरकारले पशु रोगमुक्त क्षेत्र घोषणा गर्न ढिलो गरेको छ । चीनले सो घोषणा नभएसम्म रकम स्वीकृति दिएन ।’

सरकारले आवश्यक कागजात डिसेम्बरमा पठाउने योजना गरे पनि जुनमा मात्रै पठाइएको थियो । ‘कागजात पठाएपछि एक हप्तामै चीनले विदेशी लगानी स्वीकृत गरेको छ’ शर्माले बताए ।

सिन्धुलीको मरिण गाउँपालिकामा मासु प्रशोधन कारखाना बनाइनेछ । उदयपुरको बेलका नगरपालिका र चितवनको माडीमा राँगाभैंसी पालन गरिनेछ । यी क्षेत्रहरू अझै रोगमुक्त घोषित भएका छैनन् । त्यसैले पशुहरूलाई सिन्धुली ल्याएर ३ हप्ता क्वारेन्टाइनमा राखेर प्रशोधन गरिनेछ ।

परियोजनाका लागि सुरक्षित गरिएको ५० बिघा जमिनमध्ये अहिलेसम्म १० बिघा स्वीकृति प्राप्त भएको छ । बाँकी जग्गा स्वीकृत गर्न जमिन स्वामित्व सीमासम्बन्धी समस्या समाधान गर्न अनुरोध गरिएको छ ।

शर्माले निर्माण कार्य सेप्टेम्बरमा सुरु गर्ने र आगामी अप्रिलसम्म सम्पन्न गर्ने लक्ष्य राखेको बताए । भैंसीको बाच्छा पालन अक्टोबरदेखि सुरु हुनेछ । पहिलो ४ महिनाभित्र २ लाख बाच्छा स्थानीय किसानहरूबाट खरिद गरेर पालिने योजना छ ।

कोभिड महामारीअघि यस कम्पनीले भियतनामलाई भैंसीको मासु निर्यात गर्दै आएको थियो, जहाँबाट त्यो मासु चीनमा पुनःनिर्यात गरिन्थ्यो ।

चीनमा राँगाभैंसीको मासु निर्यात गर्ने तयारी भएपनि नेपालमा राँगाभैंसीको संख्या आन्तरिक मागसमेत धान्न पर्याप्त नरहेकोमा व्यवसायीहरू सतर्क छन् । देशमा उपभोग हुने करिब ७० प्रतिशत राँगाभैंसीहरू भारतबाट अवैध रूपमा आयात गरिन्छन् । यसले आपूर्ति र मागबीच असन्तुलन निम्त्याएको छ ।

नेपालले बोका र कुखुरामा आत्मनिर्भरता हासिल गरिसकेको भए पनि भैंसीको मासुमा अभाव देखिन्छ । राँगाभैंसी पालन मुख्य रूपमा तराई क्षेत्रमा केन्द्रित छ । मासु उत्पादन योग्य बन्न राँगाभैंसीलाई करिब दुई वर्ष लाग्छ ।

नेपालको कुल मासु उत्पादन २०७६/७७ मा ५ लाख ५२ हजार १५६ टन पुगेको थियो, जसमा कोभिड महामारीका बेला प्रोटिन सेवन बढेपछि वृद्धि भएको हो ।

तर, त्यसपछिका वर्षहरूमा उत्पादन घट्दै गएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ मा ५ लाख २० हजार ७४२ टन, २०७८/७९ मा ५ लाख १२ हजार ७८८ टन र २०७९/८० मा सबैभन्दा धेरै गिरावटसहित ४ लाख ३० हजार ८५ टन थियो ।

नेपालमा राँगामैंसीको मासुको कुल मासु उत्पादनको २७ प्रतिशत हो । राँगाभैंसीको मासुमा प्रति १०० ग्राममा २०.२३ ग्राम प्रोटिन हुन्छ, जुन अन्य मासुभन्दा धेरै हो ।

चीनको बजार 

अमेरिकी सरकारको कृषिसम्बन्धी एउटा निकायको प्रतिवेदनका अनुसार चीन संसारकै सबैभन्दा ठूलो राँगाभैँसीको मासु आयातकर्ता हो । सन् २०१४ मा चीनले विभिन्न देशहरूबाट ३० लाख मेट्रिक टन त्यस्तो मासु र मासुजन्य उत्पादन आयात गरेकोमा सन् २०२३ मा त्यो ९ गुणाले बढेर २ करोड ७८ लाख मेट्रिक टन पुगेको थियो । उक्त अन्तर्राष्ट्रिय व्यापारको आकार लगभग १४.४ अर्ब डलर पुगेको छ ।

प्रतिवेदनमा चीनमा यो दशकको अन्त्यसम्ममा राँगाभैँसीको मासुको आयात ३ करोड ५० लाख मेट्रिक टनसम्म पुग्नसक्ने आकलन गरिएको छ ।

यस्तोमा साँध जोडिएको नेपाललाई चिनियाँ बजारमा राँगाभैँसीको मासुको व्यापारमा अवसर रहेको भएपनि त्यसमा कैयौँ चुनौतीहरू रहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गर्छन् ।

भन्सार विभागको अघिल्लो वर्षको तथ्यांकले नेपालले १०५ मेट्रिक टन भन्दा धेरै राँगाभैँसीको मासु र मासुजन्य पदार्थ संयुक्त राज्य अमेरिका, हङकङ र भियतनाममा निर्यात गरेको थियो । त्यसबापत नेपालले ३ करोड २२ लाख भन्दा बढी आर्जन गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

मासु तथा मासुजन्य पदार्थमा मिसावट रोक्न र त्यसमा गुणस्तर कायम गर्न नेपाल सरकारले २०५५ मा पशु वधशाला तथा मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ल्याएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise