कोभिड महामारीले विश्वलाई नै थिलथिलो बनाएको छ । नेपालको उत्तरी छिमेक चीनबाट गएको डिसेम्बरमा शुरु भएको महामारीले झण्डै दुई करोड संक्रमित भइसकेका छन् । आइतबार साँझसम्म एक करोड ९८ लाख संक्रमित बनेका छन् भने सात लाख ३० हजार बढीको मृत्यु भइसकेको छ ।
संक्रमण रोकथाममा चीन धेरै हदसम्म सफल देखिएको छ । तर, दक्षिण छिमेक भारतमा संक्रमणको दर उच्च छ । विश्वमा बढी संक्रमित देखिनेमा भारत तेस्रो स्थानमा छ । अमेरिका (५१ लाख) र ब्राजिल (३० लाख) पछाडि भारतमा २१ लखमा संक्रमण देखिएको छ । नेपालमा पनि संक्रमण दर बढेको छ । १२० दिन पछाडि गएको साउन ७ गते लकडाउन खुलेपछि भने संक्रमण झनै बढेर गएको छ । आइतबारसम्म संक्रमित संख्या २३ हजार हाराहारी पुगेको छ भने मृत्यु हुनेको संख्या ७५ जना पुगेको छ ।
तर, महामारीबाट विश्व नै आक्रान्त भइरहेका बेला शक्ति राष्ट्रहरुबीचको टकराब रोकिएको छैन । विशेषगरी चीन र अमेरिका बीचको ब्यापारिक युद्ध झनै चर्किएर गएको छ । यसको प्रमुख कारण भने समकालीन राजनीतिमा शक्तिशाली नेताहरु शासन सत्तामा हुनु पनि देखिन्छ । चीनका राष्ट्रपति सी जिनफिङ चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) कै शक्तिशाली नेता बनेका छन् । रुसमा भ्लादिमिर पुटिन र अमेरिका डोनल्ड ट्रम्प शक्तिशाली देखिएका छन् । दक्षिणी छिमेक भारतमा दोस्रो कार्यकालका लागि नरेन्द्र मोदी अझ शक्तिशाली भएर निस्किएका छन् ।
नेपालमा पनि दुई तिहाइ नजिक जनमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार चलिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई संसारका कुनै पनि मुलुकका भन्दा कम शक्तिशाली प्रधानमन्त्री नठानेका होलान् । यी र यस्ता समीकरणका कारण कुटनैतिक सम्बन्ध भने बिग्रिएर गइरहेको देखिन्छ । विश्व मञ्च र क्षेत्रीय मञ्चहरुमा समेत दरार पैदा भइरहेको छ । यस्तैमा नेपाल र भारत बीचको सम्बन्धमा दीर्घकालीन असर पार्ने गतिविधि पनि भइरहेका छन् ।
गएको नोभेम्बरमा भारतले राजनीतिक नक्सा जारी गर्दै नेपालको भूमि अतिक्रमण गरेको थियो । फेरि त्यही अतिक्रमित नक्सा भएर सडक उद्घाटन भयो । यसपछि नेपाल सरकारले पनि लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी गरेको छ । अहिले फेरि गौतम बुद्ध भारतका हुन् भन्ने र रामको जन्मभूमि नेपालको ठोरीमा हुन् भन्ने दावीले दुई पक्षीय सम्बन्धमा खलल पार्ने संभावना बढेको छ । एकातर्फ विश्व महामारीका कारण थिलथिलो हुने, तर अर्कातिर कुनै पात्र विशेषका कारण कुटनैतिक सम्बन्धमा दीर्घकालीन असर पार्ने गतिविधि हुनु उचित होइन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies