२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

अब परिणामको पर्खाइ

Nada
२०८३ असोज ११ गते ०६:१०
Shares
अब परिणामको पर्खाइ

प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्क भ्रमण सकेर स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर फर्किएका शाहको यो भ्रमण सामान्य कूटनीतिक भ्रमणभन्दा केही फरक रह्यो । जेनजी आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका र त्यसैको जनादेशमा प्रधानमन्त्री बनेका शाहलाई नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेरिरहेका छन् । यसलाई समत ख्याल गरेर शाहले महासभामा सम्बोधन गरे । शनिवार प्रधानमन्त्री शाह स्वदेश फर्किएलगत्तै परराष्ट्र मन्त्रालयले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन ग¥यो । परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको निष्कर्ष सुनाए । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा वृद्धि गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख छ । भ्रमणका क्रममा प्रधानमन्त्री साहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग उच्चस्तरीय भेटवार्ता गरे । उक्त भेटमा गुटरेसले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जलवायु संकटविरुद्धको लडाइँमा राष्ट्रसंघ नेपालको साथमा रहेको प्रतिबद्धता जनाए । 

ncell

न्यूयोर्कमा रहँदा शाहले उच्चस्तरीय भेट र महासभामा सम्बोधन गर्दा रसुवा बाढीपछिको नेपालको संकट सुनाए । भोटेकोशी त्रिशुली बाढीलाई नेपालको मात्रै विपत्ति नभनेर हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमको चेतावनीका रूपमा प्रस्तुत गरे । नेपालले विश्वको हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठुलो मूल्य चुकाइरहेको तथ्य राखे । ‘हामीले यो संकट सिर्जना गरेका होइनौँ, तर यसको ठूलो मूल्य तिरिरहेका छौँ’ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिले जलवायु न्यायको मागभन्दा जिम्मेवारी र क्षतिपूर्तिको प्रश्न ज्यादा दर्शाउँछ । शाहको अर्को एउटा अभिव्यक्तिले संसारको ध्यान तानेको छ । त्यो हो, युद्धका लागि हतियार आपूर्ति प्रणाली चुस्त हुने तर खाद्यान्न, मल र इन्धनका लागि कमजोर हुने विश्व व्यवस्थाको विरोधाभासमाथिको प्रश्न । यो विषय नेपालको मात्र नभई दक्षिण एसियाका कमजोर अर्थतन्त्रको साझा समस्या हो । साथै, शाहले ‘हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम’ स्थापना गर्न विश्व मञ्चमा प्रस्ताव गरेका छन् । नेपाल, भारत र चीनबीच हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाउने प्रस्ताव राखेका छन् । हिमालयलाई प्रतिस्पर्धाको भूगोलभन्दा सहकार्यको प्रयोगशाला बनाउने उनको प्रस्ताव अब कूटनीतिक पहलमा परिणत हुनुपर्नेछ ।

समग्रमा प्रधानमन्त्री शाहको न्युयोर्क भ्रमण व्यवहार र अभिव्यक्ति दुवैमा स्मरणीय रह्यो । काठमाडौं छाड्दा परम्परागत जस्तो बिदाइ समारोह, रेड कार्पेट वा सैनिक सम्मान भएन । नियमित कतार एयरवेजको उडानबाट न्यूयोर्क गए । महासभा सम्बोधन गर्दा स्पष्ट एजेन्डा राखे । यी सबै कुराले प्रधानमन्त्रीको भ्रमणलाई स्मरणीय बनाएको छ । तर कूटनीतिक सफलता भाषणको तालीमा होइन, त्यसपछि हुने पहल र परिणाममा मापन हुन्छ । न्यूयोर्कमा शाहले उठाएका प्रश्नहरू नीति, स्रोत, सम्झौता र कार्यान्वयनमा देखियोस् । नेपाल, भारत र चीनसँग प्रस्तावित संयन्त्र बनोस् । भोटेकोशी त्रिशूली पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटोस् । किसानले मल र नागरिकले ग्यास सहज रूपमा पाउन सकून् ।

सम्बन्धित खबर