-गोविन्द चापागाईं
पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरसका कारण विश्वको अर्थतन्त्रले गति लिन नसकिरहेको अवस्थामा यसले विकसित मुलुकमा मात्र होइन, समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको देखिन्छ । यसको प्रत्यक्ष प्रभाव हाम्रो मुलुकमा समेत परेको छ । विगत चार महिनादेखिको लामो बन्दाबन्दीले गर्दा मानिसहरूलाई रोगले भन्दा पनि भोकले मरिने पो हो कि भन्ने मानसिकताले गर्दा हाम्रो देशमा पनि केही दिनदेखि सरकारले लकडाउन हटाएको जानकारी दियो । तर, लकडाउन हटे पनि कोरोनाको उच्च जोखिम भने धेरै रहेको मन्त्रालयका अधिकारीहरू नै बताउँछन् ।
मानिसको जनजीवन सामान्य बनाउनका लागि सरकारले खोलेको लकडाउनले सार्वजनिक यातायातमा मानिसहरू झन् संक्रमित हुने पो हुन् कि भन्ने मनसायले गर्दा धेरैभन्दा धेरै मानिसको रुचि अहिले साना सवारी साधनमा देखिएको पाइन्छ । त्यसमाथि पनि अहिले विभिन्न ब्रान्डका सवारी साधनका कम्पनीहरूले कोभिड–१९ ले थला परेको अर्थतन्त्र माथि उकास्न तथा सर्वसाधारणको जीवनस्तरलाई लक्षित गरी विभिन्न स्किममा सवारी साधन खरिद गर्न सकिने समेत बताएका छन् । विभिन्न ब्रान्डका मोटरसाइकल तथा गाडीहरूमा आकर्षक छुटको व्यवस्था गरेका छन् भने सरल किस्ताबन्दीमा फाइनान्सियल व्यवस्थासमेत भएकाले पैसा नहुनेहरूले पनि शून्य प्रतिशत डाउन पेमेन्टमा कम्पनीहरूले सर्वसाधारणका लागि तोकेको मापदण्डअनुसार डकुमेन्ट मिलाएर २४ महिने, ३६ महिने सरल किस्ताबन्दीमा साना सवारी साधन लाने गर्छन् । त्यसैले होला, हिजोआज सर्वसाधारणको चाहना साना सवारी साधन भएको देखिन्छ ।
उदाहरणका लागि, विभिन्न सवारी साधनको ब्रान्डका कम्पनी जस्तै— यामाहा, बजाज, होन्डा, सुजुकी, हिरो, टीभीएसलगायतले केही दिनदेखि आफूले दिने स्किमका विज्ञापन विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा दिइरहेका देखिन्थे भने सर्वसाधारणको घुइँचो पनि मोटरसाइकल शोरुमहरूमा त्यत्तिकै मात्रामा देखिन्थ्यो । राजधानीको ज्ञानेश्वरमा रहेको होन्डा मोटरसाइकलको शोरुममा पनि सर्वसाधारणको भीड लाग्थ्यो । त्यस ठाउँमा कम्पनीले कोभिड—१९ को जोखिमलाई न्यूनीकरण गर्दै सामाजिक दूरी कायम गरेर सेनिटाइजर र साबुन–पानीले हात धुने व्यवस्था गरी सर्वसाधारणसँग डिल गरिरहेका देखिन्थे । त्यस शोरुममा शून्य प्रतिशत डाउन पेमेन्ट र सरल फाइनान्सियल व्यवस्थादेखि रुचिअनुसारको रकम पेमेन्टमा समेत सर्वसाधारणलाई डिल गरिरहेका देखिन्थे । त्यस्तैगरी कान्तिपथको हिरोमा पनि सर्वसाधारणहरू निकै थिए भने बजाज, सुजुकी, यामाहा तथा टीभीएस कम्पनीका मोटरसाइकलहरूमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । रुचि पनि उत्तिकै मात्रामा देखिन्थ्यो ।
हो, अहिलेको विषम परिस्थितिमा लकडाउन खुकुलो भए पनि कोराना भाइरसको जोखिम उत्तिकै रहेकाले धेरैभन्दा धेरै मानिसको रुचि साना सवारी साधनमा रहेको छ । कार्यालय आउजाउ गर्न सार्वजनिक यातायातमा कोराना भाइरसको धेरै जोखिम हुने हँुदा प्रायः मानिसहरू साना सवारी साधनतर्फ आकर्षित भएको विज्ञहरू बताउँछन् । आफ्नो सवारी भएपछि ढुक्कसँग जहाँ गए पनि भयो । समयमै गन्तव्यमा पुग्न सकिने र कार्यालय आउजाउमा पनि सहजीकरण हुने भएकाले सर्वसाधारणले बढी साना सवारी साधनमा रुचि राखेको व्यवसायीहरू बताउँछन् ।
मानिसको आयस्रोतका आधारमा शोरुमबाट मात्र नभई सेकेन्ड ह्यान्ड रिकन्डिसन शोरुममा गएर भए पनि आफ्नो गच्छेअनुसारको सवारी साधन लिने गरेका छन् । किनकि त्यस्ता शोरुममा पनि मानिसहरूले आफ्नो केही थोरै रकममा पनि धेरै प्रकारका सवारी साधन सस्तो रूपमा रिकन्डिसन हाउसबाट खरिद गर्ने गर्छन् । यस्ता रिकन्डिसन हाउस राजधानीलगायत मुलुकका धेरै ठाउँमा छरिएर रहेका छन्, जहाँ आममानिसलाई लक्षित गरी आयस्रोतका आधारमा भनेअनुसारको सर्वसाधारणको रुचिअनुसार सस्तोमा सवारी साधन सेकेन्डह्यान्डका रूपमा खरिदबिक्री गर्ने गरेका छन् । यसमा पनि सर्वसाधारणको धेरै रुचि भएको देखिन्छ भने सोहीअनुसार नै मानिसहरूले आफ्नो दैनिक जीवनमा आइपर्ने आर्थिक मागहरू धान्ने गर्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies