काठमाडौं÷मस– काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा शुक्रबार रातिदेखि भदौ १५ गतेसम्म लागि लागू हुनेगरि मानिस भेला हुने लगायतका कार्यक्रममा रोक लगाइएको छ । उपत्यकामा कोरोना संक्रमण नियन्त्रणका लागि १५ दिनसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाएको हो ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रमुखहरूको संयुक्त बैठकले विभिन्न गतिविधिमा रोक लगाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा खुल्ला स्थानमा मानिसको भेला हुनेदेखि पूजा पाठ हुने स्थान र होटेल रेस्टुराँमा मानिसहरु भेला हुन रोक लगाइएको छ ।
प्रशासनका अनुसार खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न र सभा जुलुस गर्नका साथै जात्रा र महोत्सव गर्न रोक लगाइएको छ । त्यस्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्राहलय, चिडियाखाना संचालन गर्न पनि रोक लगाइएको छ ।
फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलनमा पनि प्रशासनले प्रतिबन्ध लगाएको छ । उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरित श्रमिक कामदारको ओसार पसार गर्न नपाइने भएको छ । त्यस्तै टेक वे बाहेक होटल रेस्टुराँ संचालन गर्न नपाइने प्रशासनले जनाएको छ । निषेधाज्ञामा बन्देज गरिएका गतिविधि गरेमा कारबाही गरिने पनि प्रशासनको चेतावनी छ ।
काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । शुक्रबारमात्रै काठमाडौंमा ८३, ललितपुमा ३० र भक्तपुरमा ६ जना गरि एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies