सुमन महतारा/मध्यान्ह
गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकामा जनप्रतिनिधिनै विद्युत चोरीमा संलग्न भएको पाइएको छ । नगरपालिकाको वडा नं १ पौँदीअमराईमा केन्द्रीय प्रशारण लाईनबाटै विद्युत चोरी भएको पाइएको हो । मुसिकोट नगरपालिका वडा नं १ का वडासदस्य गंगा श्रेष्ठले केन्द्रीय लाइनबाटै (डिमाण्ड चुहावट ) गरी मिल सञ्चालन गरेको नेपाल विद्युत प्राधिकरणका कर्मचारीले फेला पारेका हुन् ।
प्राधिकरणका कर्मचारी सोमबहादुर रानाले यस अघि पनि विद्युत चोरी गरेको फेला पार्दा सम्झाएको र पटक पटक सोही कार्य दोर्याएपछि आफूले आवश्यक प्रमाण नेपाल विद्युत प्राधिकरण जिल्ला शाखामा पठाएको जानकारी दिए ।
मिल सञ्चालनका लागि आवश्यक पर्ने १६ एम्पिएरको विद्युत जडान गर्नुपर्ने भएपनि ५ एम्पिएरको मात्रै जडान गरेर सञ्चालन गरेको र आवश्यक विद्युत जडान गर्न सुझाव दिएपनि अटेर गरेको उनले बताए । रानाका अनुसार पटक पटकको ताकेता गर्दा बल्ल १६ एम्पिएरको एमसिबी जडान गरेको भए पनि उक्त विद्युतबाट मिल सञ्चालन नगरी घरायसी प्रयोजनका लागि प्रयोग गरेका थिए ।
उनले मिल भने डिमाण्ड चुवावट गरी सञ्चालन गरेका थिए । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका प्रमुख नारायण अर्यालले डिमाण्ड चुवावट गरेको कुरा कार्यालयमा आएपछि श्रेष्ठलाई कार्यालयमै बोलाएर सोधपुछ गरिएको जानकारी दिए । उनले डिमाण्ड चुहावट बापतको नगद १ हजार ३ सय १३ रुपैयाँ जरिवाना गराएको र आइन्दा नगर्ने गरी सहमतिमा विद्युत पुनः जडान गरिदिएको बताए ।
तरपनि त्यसक्षेत्रका अन्यत्र ठाउँमा पनि विद्युत चुहावट भएको भन्ने जानकारी आएकाले आवश्यक अनुसन्धानका लागि प्राधिकरणको टोली त्यसतर्फ जाने पनि बताए । यसैगरी सो ठाउँमा मिटिर रिडिङ गर्ने रानामाथि पनि अनाधिकृतरुपमा रकम असुल गरेको उजुरी परेकाले त्यस विषयमा पनि छानविन हुने जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies