काठमाडौं : बुधबार देशभरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ६ जनाको ज्यान गयो । भक्तपुरमा ट्रकको ठक्करबाट भक्तपुर नगरपालिका– ६ बस्ने ३६ वर्षीय मोटरसाइकल चालक श्यामकृष्ण कायस्थको मृत्यु भयो भने तिलोत्तमा नगरपालिका– ३ रुपन्देहीमा ट्रकमा स्कुटर ठोक्किँदा स्कुटर चालक १९ वर्षीय सिद्धार्थ चौधरीको मृत्यु भएको हो ।
सोही ठाउँमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सिद्धार्थ नगरपालिका बस्ने २३ वर्षीय राहुल क्षेत्रीको मृत्यु भएको प्रहरीले जानएको छ । त्यस्तै, मकवानपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ४७ वर्षीय रूपक दियालीको मृत्यु भयो । सोही जिल्लामा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार बारा कोल्हवी नगरपालिका– ५ कवडी बस्ने ३४ वर्षीया सरितादेवी चौधरीको मृत्यु भएको छ भने भरतपुर महानगरपालिका– १ चितवनमा बसको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मानिसलाई अत्यावश्यक ठानिएको सवारी साधन दुर्घटनाबाट मात्र दैनिक औसत ६ देखि ८ जनाको मृत्यु हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार विगत साढे ३ वर्षमा सवारी दुर्घटनाबाट नेपालमा ९ हजार बढीको ज्यान गएको छ ।
चालू आर्थिक वर्ष १ साउनदेखि माघ मसान्तसम्ममा १४ हजार २४४ सवारी साधन दुर्घटना भएका छन् । सो दुर्घटनाबाट १ हजार ४३२ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाइसकेका छन् । त्यसमा पनि काठमाडौं उपत्यका र २ पांग्रे सवारी साधन दुर्घटना अत्यधिक देखिन्छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको आर्थिक वर्ष २०७८/०७९ देखि २०८१ माघसम्म ८५ हजार ३०५ सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा परी ९ हजार ५२ जनाले अकालमा ज्यान गुमाउँदा १ लाख १८ हजार बढी मानिसहरू घाइते भएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा सडक दुर्घटनाबाट देशभर २४ हजार ५३७ सवारी दुर्घटना भएका थिए, जसमा २ हजार ८८३ जनाको मृत्यु भएको थियो भने ३३ हजार घाइते भए ।
त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा २३ हजार ५९७ सवारी दुर्घटना हुँदा २ हजार ३६८ जनाले ज्यान गुमाए भने ३० हजार २२६ जना घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७८०/०८१ मा २२ हजार ९२७ सवारी दुर्घटना हुँदा २ हजार ३६९ जनाको मृत्यु भएको थियो भने ३२ हजार १५६ जना घाइते भएका पाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही भएको जनाएको छ । उपत्यकाबाहिरको दुर्घटनाको कारण सडक र सवारी साधनको अवस्था रहे पनि उपत्यकाभित्र दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही नै भएको ट्रफिकको दाबी छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरी उपत्यकाभित्रको दुर्घटनाको मुख्य कारण चालकको लापरबाही नै भएको बताउँछन् । ‘दुर्घटनाको कारण सडकको अवस्था, तीव्र गति, मादक पदार्थ सेवन, यात्रुको गल्ती, ओभरटेक, यान्त्रिक गडबडी, ओभरलोड, छाडा चौपाया र मौसमलाई समेत लिन सकिन्छ’, उनले मध्यान्हसँग भने, ‘हामीले गरेको सूक्ष्म अध्ययनले अधिकांश दुर्घटना चालककै लापरबाहीका कारण भएको देखिन्छ । अर्थात्, ७०–७५ प्रतिशत दुर्घटना चालकको लापरबाहीकै कारण भएको अनुसन्धानले देखाएको छ ।’
ट्राफिक नियमको पालना नगर्नु, लेन ओभरटेक गर्नु, मापसे गरेर सवारी हाँक्नु, रातो बत्तीलाई बेवास्ता गर्नु शहरको सडक दुर्घटनाको मुख्य कारण भएको गिरीले बताए ।
बाग्मती प्रदेशमा करिब १८ लाख सवारी साधन दर्ता भएकामा करिब १५ लाख २ पांग्रे सवारी साधन रहेका ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकामा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर छन् ।
चालू आर्थिक वर्षमा १२ हजार ८५० मोटरसाइकल स्कुटर दुर्घटना हुँदा ३ हजार ४११ वटा काठमाडौं उपत्यकामा दुर्घटना भएको पाइएको छ । २०७८०/०८१ मा देशभर १९ हजार ९८४ मोटरसाइकल दुर्घटना दुँदा उपत्यकामा ७ हजार ६८४ रहेका थिए । त्यस्तै, २०७९/०८० मा देशभर १९ हजार ५११ वटा मोटरसाइकल दुर्घटना भएकामा उपत्यकाभित्र ८ हजार ३४१ मोटरसाइकल दुर्घटनामा परेका देखिन्छ ।
२०७८/०७९ मा देशभर १९ हजार ९७४ वटा मोटरसाइकल दुर्घटना भएकामा उपत्यकामा ८ हजार ३६४ दुर्घटना भएको प्रहरीको तथ्यांक छ । यसरी हेर्दा २ पांग्रे सवारी साधन दुर्घटनाबाट सबैभन्दा बढी क्षति भएको छ । त्यसमा पनि उपत्यकामा बढी दुर्घटना र क्षति हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनाको अधिकांश कारण चालकको लापरबाही भएको प्रहरीको विश्लेषण छ । यस्ता दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनाका कार्यक्रमहरूसमेत गर्दै आए पनि दुर्घटनामा न्यूनीकरण हुन सकेको छैन ।
ट्राफिक प्रहरीले अहिले पनि काठमाडौं महानगरपालिकाले राखेको बुक फ्री फ्राइडे कार्यक्रमसँगको सहकार्यमा ट्राफिक नियम, दुर्घटनाका कारण तथा परिणामका विषयमा ११ वटा विद्यालयमा ट्राफिक सचेतना गरिरहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
योसँगै चालकसँग २ मिनेट, नियम उल्लंघन गर्ने चालकहरूलाई नियमति कक्षा संचालन, नियमित चेकिङमा सक्रियता बढाएको उनको भनाइ छ ।